हङकङ, आश्विन २१ - मकाउमा आयोजित चौथो वर्ल्ड जुनिएर उसु च्याम्पिएनसिपमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई त्यहाँ कार्यरत नेपालीहरूले प्रोत्साहन पुरस्कार स्वरुप ३ लाख ४३ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

'प्रवासमा बस्ने नेपालीहरूले देखाउनु भएको सहयोग, सद्भाव र मायाले निकै उत्साहित बनाएको छ', गैर आवासीय नेपाली संघ मकाउको सकृयतामा उक्त पुरस्कार रकम प्राप्त भएको उल्लेख गर्दै प्रशिक्षक गुरुङले भने, 'राज्यबाट उपेक्षित भइरहेका बेला यस्ता सहयोगले खेलाडीहरूलाई राम्रो खेल्न प्रोत्साहित गर्नेछ ।' विश्व जुनियर उसुमा नेपाली खेलाडीले पाएको अहिलेसम्मकै ठूलो उपलब्धि बताउँदै प्रशिक्षक गुरुङले राज्यका तर्फबाट समेत सहयोग हुने अपेक्षा गरेको जनाए ।
नेपाली खेलाडीहरू आर्थिक रुपमा पछि परेको बताउँदै एनआरएन मकाउका अध्यक्ष सुर्दशन थापामगरले खेलाडीहरूको मनोबल बढाउन प्रोत्साहन स्वरुप नगद पुरस्कार उपलब्ध गराएको बताए । 'सबै ठाउँबाट यस्तै सहयोग हुनसके खेलाडीहरूलाई हौंसला बढाउन मद्दत मिल्नेछ', उनले थपे । प्रशिक्षक युवराजले मुलुक बाहिर रहेकाहरूबाट खेलाडीलाई प्राप्त भएको यो रकम अहिलेसम्मकै ठूलो हुनसक्ने बताए ।
'प्रवासमा बस्ने नेपालीले खेलाडीलाई पुरस्कार स्वरुप यति ठूलो रकम उपलब्ध गराएको थाहा छैन्', उनले भने, 'उहाँहरूले दिनुभएको सम्मान र इज्जतले निकै हौसला मिलेको छ ।' कांस्य विजेता लामाको प्रतियोगिताका दौंरान बायाँ पाखुराको हड्डी भाँचिएको थियो । थप उपचारका लागि पुरस्कार रकमले सहयोग पुग्ने समेत प्रशिक्षक गुरुङले बताए ।