जन-गणतन्त्र चीनले एउटा यस्तो कानून पारित गरेको छ, जसले छुट्टिएर वा काम विशेषले बाहिर रहेका जवान छोरा-छोरीहरुले नियमितरुपमा आफ्ना बृद्ध आमा-बाबुहरूकहाँ जानैपर्ने स्थिति सिर्जना गरेको छ। छोरा-छोरीहरुले आफ्ना बृद्ध आमा-बाबुहरूकहाँ महिना वा वर्षमा, अथवा हप्तामा कति पटक जानुपर्ने भन्ने कुरा त उल्लेख गरेको छैन, तर आफ्ना बृद्ध आमा-बाबुहरुलाई हेर्न नगएमा कानूनी कारबाही हुने कुरा भने उल्लेख गरेको छ।
अधिकांश परिपक्व चिनियाँहरुले बुढा-बूढी भैसकेका आफ्ना आमा-बाबुहरूलाई एक्लै छोडिदिने वा बेवास्ता गर्ने गरिरहेको परिप्रेक्षमा यस कानूनले बृद्ध अवस्थाका लागि सहारा मानिएका आफ्ना छोरा-छोरीहरुलाई बृद्ध आमा-बाबुहरूकहाँ फिर्ता ल्याउने आशा गरिएको छ।

तिब्र आर्थिक विकासको गतिले चीनमा संयुक्त र ठूलो परिवारको परम्परालाई तहसनहस पारेको छ। प्राप्त तथ्यांकअनुसार, आठमध्ये एकजना चिनियाँ नागरिक साठी वर्षभन्दा बढी उमेरको रहेको, र त़ीमध्ये आधाभन्दा बढीले एक्लै बस्नुपरेको कुरा बिबिसीले जनाएको छ।
चीनको एक शिशु नीति र नाटकीयरुपमा बढेको चीनको औषत आयुका कारण पनि यो समस्या सिर्जना भएको हो।
पढेलेखेका छोरा-छोरीहरु काम गर्नका लागि ठूला औद्योगिक केन्द्रहरुतिर जाने र घरमा बाबु-आमा एक्लै पर्ने घटना सामान्य भएको चीनमा बृद्ध-बृद्धाहरुका लागि पर्याप्त संख्यामा सेवा निवृत्त अर्थात रेखदेख गृहहरुको स्थापना गर्नु आवश्यक देखिएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment