Tuesday, October 4, 2022

माता सिद्धिदात्रिको पूजा–आराधना गरी महानवमी पर्व आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदै

 सिद्ध गन्धर्व यज्ञद्यैर सुरैर मरैरपि |

सेव्यमाना सदा भूयात्‌ सिद्धिदा सिद्धि दायिनी || 

आज नवरात्रिको नवौं दिन, अर्थात महानवमी। वडा दशैंको नवौं दिने पर्व आज देवी सिद्धिदात्रिको पूजा–आराधना गरी अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदैछ।  

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाआज गरिन्छ।   

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा तथा सप्तासती पाठ गरी विजया दशमीका दिन विसर्जन गर्ने चलन छर सो कलशको जलले अभिषेक गरी टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ।

आज विहान सबेरैदेखि अधिराज्यभरिका देवी भगवतीका मन्दिर एवम् शक्ति पीठहरुमा असंख्य श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। अहिले काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरु पूजा–आराधना गरिरहेका छन। तलेजु मन्दिर वर्षमा एक पटक आजकै दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। 

आज विहानदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि चढाउनुका साथै जंगी निसानको पूजा तथा कोत–पूजा गर्ने काम भैरहेको छ। जै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ।     

 


Monday, October 3, 2022

आज शक्तिस्वरुपा माता दुर्गाको आठौं रूप महागौरीको पूजा-आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदै

 नेपालीहरुको महान चाड वडा दशैंअन्तर्गत नवरात्रिको आज आठौं दिन, अर्थात् अष्टमी तिथि। महाष्टमीका रूपमा परिचित यस चाडका दिन आज शक्तिस्वरुपा माता दुर्गाको आठौं रूप महागौरीको पूजा-आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदैछ।


आजको यस पूजामा उपयोगी खाद्य सामग्री: अष्टमी तिथिका दिन भगवतीलार्इ नरिवलको भोग लगाउनु पर्छ। अनि नैवेद्यका रूपमा त्यो नरिवल ब्राह्मणलार्इ दिनुपर्छ। यसको परिणामस्वरूप त्यस व्यक्तिका निकट कुनै पनि प्रकारको संताप आउनसक्दैन भन्ने मान्यता रहिआएको छ।


आश्विन शुक्ल प्रतिपदाका दिन पूजा-कोठा, दशैँ-घर अथवा मण्डपमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजाआजा गरिन्छ। आज घर-घरमा राखिएको ज्यावल, कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेवी दुर्गाको हतियारका रूपमा स्थापना गरी पूजा गर्नेगरिन्छ।

आज मध्येरातमा बलिसहित कालरात्रिको पूजा गर्ने चलन छ। मध्यरातको यस पूजाबाट प्रसन्न भएर देवीले शुभ फल दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ।

महागौरीको उपासना गर्ने मंत्र यस प्रकार छः


श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दघान्महादेवप्रमोददा॥

महाअष्टमीका उपलक्ष्यमा आज विहानैदेखि अधिराज्यभरिका शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड लागेको छ।

धार्मिक ग्रन्थअनुसार भगवान शिवलार्इ पाउनका लागि गरिएको कठोर तपस्याका कारण माता पार्वतीको रंग कालो र शरीर क्षीण हुनपुगेको थियो । तपस्याबाट प्रसन्न भएर जब भगवान शिवले माता पार्वतीको शरीर गंगाजलले धुनु भयो तब उहाँको शरीर विद्युत प्रभा समान गौर अर्थात सेतो भयो। यसै कारण मातालार्इ "महागौरी" का नामबाट पूजिन्छ। महागौरीका चार भुजा अर्थात हातहरू छन जसमध्ये दुइवटा अभय मुद्रा र वर मुद्रामा छन अनि अरू दुइवटाले त्रिशूल र डमरू धारण गरेका छन। नव दुर्गाका सबै रूपहरूमध्ये महागौरी दुर्गा माताका सबैभन्दा शान्त रूप हो। अष्टमीका दिन कन्या पूजनको चलन पनि छ।

तस्विर सौजन्य: गुगल

Sunday, October 2, 2022

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदैछ।

 उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।

 परम्परानुसार, गोरखा दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ।  सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित ६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर ल्याउने चलन छ।  

हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो  फूलपाती हनुमानढोकास्थित दशैं-घरमा ल्याउँछ। फूलपाती लिन ब्याण्ड-बाजा, गुरुज्यूको पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली, सांस्कृतिक नाच-गान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन। 

नेपाली सेनाद्वारा टुंडिखेलमा आयोजित बढाइँ  समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपातीलाई हनुमानढोकामा भित्र्याइञ्छ।

 फूलपाती के हो

फूल भनेको बोट-बिरुवामा फल लाग्नुअघि निस्कने मनोहर एबम् सुकोमल अङ्ग-पुष्प हो भने पाती (पत्र) भनेको पात र विरुवा हो।  

नवरात्रिको सातौं दिन अर्थात् सप्तमीको पूजाका साथसाथ दशैं-घरमा नौ प्रकारका फूल-पत्र भित्र्याउने चलन नेपालमा छ। यसैले दशैंको सातौं दिनलाई सप्तमी मात्र नभनिकन फूलपाती पनि भन्ने चलन छ, नेपालमा।  

नौवटा मसला सम्मिलित फूलपातीलाई नवपत्रिका भनिन्छ। नवपत्रिकामा केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, मनवृक्ष  र हलेदो अनि कचुकी पर्दछन।  

केराको बोटले शान्तिदात्री ब्राह्मणीको प्रतिनिधित्व गर्दछ भने दारिमले रक्त-दन्तिका देवीको, जसले आफ्ना भक्तजनलाई सहयोग गर्नुहुन्छ।  त्यसैगरी, धानको बालामा सम्रिद्धिकी देवी लक्ष्मी बास गर्नुहुन्छ भने हलेदोमा देवी दुर्गा रहनुहुन्छ जसले बाधा-अबरोध हटाउनुहुन्छ। दुष्टात्माको अन्त्य गर्ने देवी चामुन्डा मनवृक्षमा विराजमान हुनुहुन्छ, अनि मानव जातिलाई बरदान दिने देवी कालि अदुवामा बास गर्नुहुन्छ। भगवान शिव बेलमा बस्नुन्छ भने देवी शोकरहिता अशोकको वृक्षमा, अनि जयन्तीले भगवती कार्तिकिको प्रतिनिधित्व गर्दछ।  

या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।  

तस्विर सौजन्य: गुगल 

 

नवरात्रिको साताैं दिन आज देवी कालरात्रीको पूजा-आराधना गरिंदै

 या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।  

 

नवरात्रिको साताैं दिन आज अधिराज्यभरि देवी कालरात्रिको पूजा-आराधना गरिदैछ। चारवटा हात भएकी देवी कालरात्री गधामा विराजमान हुनुहुन्छ। उहाँका दाहिने हात अभय र बरदा मुद्रामा छन् भेन देब्रे हातमा खुँडा र फलामको अंकुशे छ। कालरात्रि देवी पार्वतीको सबैभन्दा भयानक रूप भए पनि उहाँ आफ्ना भक्तजनहरुलाई अभय र बरदा मुद्रा प्रदान गर्नुहुन्छ। उहाँको भयानक स्वरूपमा  निहित शुभ र पवित्र मंगलकारी शक्तिका कारण कालरात्रि देवीलाई शुभंकारी देविका रूपमा पनि चिनिन्छ।     

 

माता कालरात्रिको वर्ण रात्रिसमान कालाे छ, तर त्यस्ताे वर्ण भएकी माता कालरात्रि अन्धकारलार्इ नाश गर्नुहुन्छ। दुष्टहरू अथवा राक्षसहरूकाे अन्त गर्ने माता दुर्गाको यो रूप देख्नमा अत्यन्त भयङ्कर भए पनि उहाँले फल भने शुभ दिनुहुन्छ। यसैले उहाँलार्इ माता "शुभंकरी" पनि भनिन्छ। माता कालरात्रिका अाँखा ब्रह्माण्डजस्ता गोलागाेला छन। हरेक श्वासका साथ माताकाे नासिकाबाट अग्निका ज्वालाहरू निस्किरहन्छन। अाफ्ना चारमध्ये एक हातमा खुँडा, अर्काेमा लाैह अस्त्रअंकुशे लिएकी, अनि अन्य दुइ हातमध्ये एक अभय मुद्रा अनि अर्काे वर मुद्रामा व्यस्त रहने माता कालरात्रि अाफ्नाे वाहन गर्दभ अर्थात गदामा सवार हुनुहुन्छ।

 

नवरात्रिकाे साताैं दिन माता कालरात्रिकाे उपासना तलकाे मन्त्रका साथ गरिन्छ-

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

 

माता कालरात्रिकाे पूजाका लागि उपयोगी खाद्य साम्रग्री: सप्तमी तिथिकाे दिन भगवतीकाे पूजामा गुँड़को नैवेद्य अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ। यसाे गर्नाले पुरुष शोकमुक्त हुनसक्दछ भन्ने मान्यता रहिअाएकाे छ।


माता कालरात्रिकाे पूजा गर्नाले मनुष्यले समस्त सिद्धि प्राप्त गर्नसक्छ भन्ने मान्यता विशेषतः रहिअाएकाे छ। माता कालरात्रि पराशक्तिहरूकाे साधना गर्ने मानिसहरूबीच निकै प्रशिद्ध हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। छाेटकरीमा भन्नुपर्दा, माता कालरात्रिकाे भक्तिकाे परिणामस्वरूप दुष्टहरूकाे नाश हुन्छ र ग्रहसम्बन्धी बाधाहरू टर्छन भन्ने मान्यता रहिअाएकाे छ। 

Saturday, October 1, 2022

नवरात्रिको छैटौं दिन आज शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरिंदै

चंद्र हासोज्ज वलकरा शार्दू लवर वाहना।

कात्यायनी शुभं दद्या देवी दानव घातिनि।।

 

नवरात्रिको छैटौं दिन आज शक्ति-स्वरूपा कात्यायनी  देवीको पूजा-आराधना गरिंदै छ। मानव जीवनमा शक्ति-स्वरूपा देवी कात्यायनीको उपस्थिति निम्न बरदानका लागि भएको विश्वास गरिन्छ: 

 

-महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान  
-नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान-सुखको बरदान  
-कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्याख्यान 
-बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
-महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप 
-स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान 
सिद्ध महर्षि कात्यानले कठोर तपस्या गरेर माताबाट अफ्नी पुत्रीका रूपमा जन्म लिने वरदान माग्नुभयो। ऋषिको तपस्याबाट प्रसन्न भएकी माता पराम्बाले ऋषिको यो इच्छा पूरा गरिदिनुभयो र ऋषि कात्यानकी पुत्रीका रूपमा जन्म लिनुभयो । यसरी यी देबीको नाम "देवी कात्यायनी" रहनगयो। चार भुजाधारी माता कात्यायनी सिंहमा सवार हुनुहुन्छ। अफ्नो एउटा हातमा तरवार र अर्को हातमा अफ्ना प्रिय पुष्प कमल लिनुभएको छ। अन्य दुइवटा हात वरमुद्रा र अभयमुद्रामा छन।

 

शक्ति-स्वरूपा कात्यायनी  देवीले मानव जीवनको सुख-समृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिस्ट मिठाइ चढाइन्छ र फूल-पत्रहरुले पूजा-आराधना गरिन्छ। यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्ति-स्वरूपा माताको आह्वान गर्दै पवित्र तन-मनका साथ देवीको मन्त्रोच्चारण बरिन्छ। तस्विर सौजन्य: गुगल 

Friday, September 30, 2022

नवरात्रिको पाँचौं दिन आज भगवती स्कन्धमाताको पूजा-आराधना गरी मनाइंदै

 आज नवरात्रिको पाँचौं दिनभगवती स्कन्धमाताको पूजा-आराधना गरी मनाइंदै छ। भगवती स्कन्धमाता अरु कोही नभैकन देवी पार्वती नै हुनुहुन्छ। देवादिदेव महादेवकी पत्नी भएका कारण उहाँलाई महेश्वरी र गोरो वर्णकी भएकाले गौरी पनि भनिन्छ। उहाँ भगवान स्कन्ध अर्थात कार्तिकेयकी माता भएकाले उहाँलाई स्कन्धमाता भनिएको हो। भगवती पार्वती आफ्ना पुत्रलाई निकै मायाँ गर्नुहुन्छ र आफ्ना पुत्रका नामबाट चिनिंदा आफूलाई आनन्दित भएको अनुभव गर्नुहुन्छ। 

भगवती स्कन्धमाता कमलको फूलमाथि आशिन हुनुहुन्छ। जब-जब दानबहरुको कुकृत्य (राक्षसत्व) बढ्दैजान्छ, तब स्कन्धमाता सिंहमाथि विराजमान हुनुहुन्छ र राक्षसहरुको बध गर्नुहुन्छ।

भगवती स्कन्धमाताको पूजा गर्ने भक्तजनहरुले भगवान कार्तिकेयको पूजा गरेको फल पनि प्राप्त गर्दछन। पुराणमा व्याख्या गरिएअनुसार, नवरात्रिको पाँचौ दिन भगवती स्कन्धमाताको पूजा गर्नाले भक्तजनहरुले भौतिक सम्पत्तिको मोहबाट मुक्ति पाउने र मोक्षका लागि ध्यान केन्द्रित गर्ने शक्ति हासिल गर्दछन।  भगवती स्कन्धमाताले आफ्ना भक्तजनहरुको आत्माको शुद्धीकरण पनि गर्नुहुन्छ। सौर्य प्रणालीकी प्रमुख देवी भएका कारण स्कन्धमाताले आफ्ना भक्तजनहरुलाई अपार महत्व र विशिष्ट गुण पनि प्रदान गर्नुहुन्छ।   

 बुँदागतरूपमा भन्नुपर्दा:

१ स्कन्दमाताको पूजा नवरात्रिको पाँचौ दिन गरिन्छ।

२ उहाँले आफ्ना पुत्र स्कन्द अर्थात् कार्तिकेयलाई आफ्नो काखमा राख्नुभएको छ। 

३ उहाँका तीनवटा आँखा र चारवटा हात छन। 

४ उहाँका दुइवटा हातमा कमलका फूल छन भने अरु दुइवटा हातले प्रतिरक्षा गर्ने र दिने भन्ने अर्थ जनाउने संकेत गरेका छन। 

५ सिंहमाथि विराजमान हुने स्कंदमाता ज्ञानका भण्डार हुनुहुन्छ। 

६ योग-शास्त्रमा उहाँ विशुद्ध चक्र र हामबीजा मन्त्रको प्रतिनिधित्व गर्नुहुन्छ। 

७ स्कन्दमाताले मातृत्व, उर्बरशीलता र मात्री-पुत्र सम्बन्धलाई सर्वोच्चता पनि प्रदान गर्नुहुन्छ। 

 

Thursday, September 29, 2022

नवरत्रिको चौथो दिन आज कूष्माण्डा देवीको पूजा-आराधना गरी मनाइँदै

 नवरत्रिको चौथो दिन आज कूष्माण्डा  देवीको पूजा-आराधना गरिदै छ। सिद्धिदात्रीको रूप लिइसकेपछि भगवती पार्वतीले सूर्यको केन्द्रमा रहन शुरु गर्नुभयो। यसो गर्नुको उद्देश्य सूर्यले विश्व-ब्रह्माण्डमा आफ्नो शक्ति प्रवाहित गर्नसकुन भन्ने थियो। 

त्यति बेलादेखि ती देवीको नाम कूष्माण्डा रहनगएको हो। कूष्माण्डा यस्ती देवी हुनुहुन्छ, जोसङ्ग सूर्यभित्र रहनसक्ने शक्ति र क्षमता छ। कूष्माण्डा देवीको शरिरको तेज र प्रभा सूर्यको जति नै तेजोमय छ। यसरी कूष्माण्डा देवीले सूर्यलाई शक्ति प्रदान गर्नुहुन्छ र दिशानिर्देश गर्नुहुन्छ भन्ने विश्वास गरिन्छ।

 

कूष्माण्डा  देवीको प्रार्थना यस मन्त्रद्वारा गरिन्छ:  

या देवी सर्वभू‍तेषु माँ कूष्माण्डा रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।। 

 

देवी कूष्माण्डाका आठवटा हात छन, जसका कारण यी देवीलाई अष्टभूजा देवी पनि भनिन्छ। कूष्माण्डा देवीको हातमा रहेको जप-मालामा शिद्धी र निधि प्रदान गर्नसक्ने सम्पूर्ण शक्ति छ भन्ने विश्वास गरिन्छ। तस्विर सौजन्य: गुगल