Friday, November 9, 2012

नेपाली अघि बढ, क्रान्तिको झण्डा लिई अघि बढ

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले गीत गाउनुहोला भन्ने कुरा मैले सोचेको पनि थिइन। तर उहाँमा गीत गाउने कला पनि पूर्ण रहेछ। गणेशमान सिंहको ९७ औं जन्मजयन्तीका अवसरमा आज कार्तिक २४ गते शुक्रबार काठमाडौंको वसन्तपुरमा भएको सभामा सभापति कोइरालाले तारिणीप्रसाद कोइरालाको गीत  'नेपाली अघि बढ, नेपाली, क्रान्तिको झण्डा लिई अघि बढ...' गाउनुभयो। 

जिब्रोको क्यान्सरका कारण बोली प्रस्ट नभएका सभापति कोइरालाले लय हालेर गीत गाउँदा कार्यकर्ताले थपडी मारेर सहयोग गरेकोमा मैले पनि थपडी बजाएँ। यो मेरा लागि आनन्दको कुरा थियो। 

सोहि समारोहलाई सम्वोधन गर्दै सभापति कोइरालाले भट्टराई सरकारविरुद्धको आन्दोलन र वार्ता सँगसँगै अघि बढाइने कुरा बताउनुभयो ।  पार्टीका कतिपय साथीहरुले आन्दोलन मात्रै गरौं, वार्ता छाडौं भन्ने सुझाव दिनुभएको जानकारी दिंदै उहाँले आन्दोलनसँगै वार्ताको ढोका पनि खुला राख्ने कुरा बताउनुभयो। हामी 'वार्ता पनि छाड्दैनौं, छाडे माओवादीले नै छाडोस', सभापति कोइरालाले भन्नुभयो।
अब हुने आन्दोलन शान्तिपूर्ण हुने बताउँदै कोइरालाले सरकारलाई हटाउनका लागि आन्दोलन मात्र एउटै विकल्प रहेको बताउनुभयो। अहिले हुने आन्दोलन रिहर्सल मात्रै हुने चेतावनी पनि सभापति कोइरालाले दिनुभयो।
निर्वाचनका सन्दर्भमा बोल्दै कांग्रेस सभापति कोइरालाले वर्तमान राजनीतिक गतिरोधको निकास चुनाव मात्रै भएको विचार व्यक्त गर्नुभयो । 'चुनाव बाहेक अर्को विकल्प पतनको मार्ग हो', उहाँले भन्नुभयो। 

सिरियाली प्रतिपक्षीहरू एकता बार्ताको सफलताप्रति उत्साहित


सिरियामा राष्ट्रपति बसार अल असदका विरोधीहरुले नयाँ नेतृत्वदायी अङ्गको गठनमा केही प्रगति हासिल गरेको कुरा जनाएका छन्। नयाँ नेतृत्वदायी अङ्गको गठनसम्बन्धमा कतारको दोहामा भएको पहिलो वार्ता सन्तोषजनक भएपछि दोश्रो दिनको वार्ताले पूर्ण सफलता हासिल गर्ने आशा उनीहरुले गरेका छन्।

यसैविच, सहयोग-कार्यकर्ताहरुका लागि प्रवेशलाई प्रमुख मुद्दा बनाउदै राष्ट्र संघीय नियोगहरुले सिरियामा सहयोग कार्यक्रमका बारेमा छलफल गर्ने भएका छन्। राष्ट्र संघीय सहयोग नियोगहरु र सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने सो बैठक जेनेभामा हुने कार्यक्रम छ। 
सिरिया सरकारले विदेसी सहयोग निकायहरुको उपस्थितिलाई कडाइका साथ सिमित पारेको छ।सिरियामा राष्ट्रपति असदको सरकार विरुद्ध गत वर्षको मार्च महिनामा शुरु भएको विद्रोह झन् झन् हिंश्रक बन्दैगएको छ। 

मानव अधिकारकर्मीहरुको अनुमान अनुसार, विद्रोह शुरु भएदेखि हालसम्म लगभग 35,000 मानिसहरुले ज्यान गुमाइसकेका छन्। 

राष्ट्र संघको अनुमान अनुसार, करिब बाइस लाख मानिस बिस्थापित भएका छन्, र बीस लाख भन्दा बढी मानिसलाई सहयोगको आबस्यकता छ।  

पूर्वाञ्चल क्षेत्रीय कारागारबाट १२जना कैदी फरार


सुनसरी जिल्लाको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट बिहिबार राति १२ जना कैदी फरार भएका छन् । कारागार भित्रै सुरुङ खनेर उनीहरु फरार भएको सुनसरीका प्रहरी नायव उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो ।


त्यसरी फरार हुनेहरुमा बंगलादेशी नागरिक अली असरफ अन्सारी, भारतीय कुख्यात अपराधी मुखिया भनिने धिरेन्द्र यादबसहित भारतीय अपराधीहरु बमबम भनिने दिनेश यादब, रमेश यादब, बिनायक यादब, सुभाष यादब, सुभाष झा, सरफराज आलम, रमेश सदाय, फारुक मिया, ममताज मिया र जाकिर मिया रहेको जानकारी प्रहरी नायव उपरिक्षक गिरीले दिनुभएको छ ।
फरारमध्ये धिरेन्द्रमाथि कृषी बिकास बैंक राजबिराजका प्रबन्धकको हत्या, राजबिराजकै डाक्टर मुरलीप्रसाद सिंहको अपरहण लगायतका दर्जनौ हत्या र अपहरण तथा नक्कली नागरिकता समबन्धी मुद्दा लागेको छ। भारतको बिहारमा कोसी क्षेत्रको आतंकको उपनाम पाएका धिरेन्द्रले बिहारमा पनि कयौ् उधोगपतिको हत्या गरेका थिए ।
उनलाइ प्रहरीले पाँच वर्ष अघि नाटकीय ढंगवाट सुनसरीको इटहरीवाट पक्राउ गरेको थियो । धिरेन्द्रले सुनसरीको पश्चिम कुसहा र सप्तरीको बभनगामा कटीवाट नेपाली नागरिकता लिएका थिए ।
यस्तै बंगलादेशी नागरिक अली असरफमाथि पनि नक्कली नागरिकतालगायतका मुद्धा थिए भने भागेका अन्य भारतीय अपराधीमाथी हत्याकै अभियोग थियो । आज बिहान कैदी चेकजाचका बेला १२ जना कैदी नदेखिएपछि मात्र प्रहरी र कारागार प्रशासनले कैदी भागेको थाहा पाएका थिए ।
क्षेत्रीय कारागारको सुरक्षा प्रहरी निरिक्षक इश्वर बस्नेतको नेतृत्वमा ४५ जना प्रहरीले गर्देआएक छन  कैदी फरार भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापा सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु कारागार पुगेका छन् । प्रमुख जिल्ला अधिकारी थापाले कैदी भागेको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । प्रहरीले फरार कैदीहरुको खोजी भइरहेको बताए पनि कारागार भएको ठाउँवाट भारतीय सिमाना ३० किलोमिटर मात्र दक्षिणमा रहेकाले उनिहरु राति नै भारतीय क्षेत्रमा प्रवेश गरिसकेको हुनसक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट-वार्ता


काठमाडौँ, कात्तिक २३ - नेपाली कांग्रेस र नेकपा एमालेलगायतका  १९ वटा विपक्षी दलहरूले वर्तमान कामचलाउ सरकारले प्रस्तुत गर्ने आर्थिक विधेयक (बजेट)मा सहमति नजनाउन राष्ट्रपतिलाई आग्रह गरेलगत्तै मुलुकको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा गत  राति राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

भेटमा राष्ट्रपति डा यादवले १९ दलले बजेटका सम्बन्धमा बुझाएको ज्ञापनपत्रबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। सो क्रममा प्रधानमन्त्री भट्टराईले सहमतिमा कात्तिक मसान्तभित्र बजेट ल्याउने प्रतिबद्धता जनाउनुभएको बताइएको छ।
प्रधानमन्त्री भट्टराईले भेटमा बजेटमा सहमतिका लागि दलहरूबीच भइरहेको कुराकान बारे जानकारी गराउनुभएको थियो भने राष्ट्रपतिले विपक्षी दलहरूको सहमतिबिना बजेट ल्याउने व्यवस्था अन्तरिम संविधानमा नभएकाले सहमति जुटाएरै बजेट ल्याउन आग्रह गर्नुभएको थियो।
भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री भट्टराईले बजेट प्रक्रियामा सहमति जुटाउने विषयमा कुराकानी भएको र राष्ट्रपतिले पनि दलहरूको सहमति जुटाएर मात्र बजेट ल्याउन आग्रह गर्नुभएको जानकारी दिनुभयो।
सरकारले केही दिनभित्रै पूर्ण बजेट ल्याउने कसरत सुरु गरेलगत्तै प्रतिपक्षी दलहरू त्यसको विरोधमा उत्रिएका छन्। सहमतिका लागि सत्ता पक्ष र विपक्षी दलका शीर्ष नेताहरूबीच बारम्बार छलफल भए पनि त्यो सहमतिभन्दा असहमतितर्फ बढी उन्मुख भएको देखिन्छ। रासस

अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्यान्माको भ्रमण गर्ने


दोश्रो कार्यकालका लागि  निर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामालेयसै महिना म्यान्माको ऐतिहासिक भ्रमण गर्नुहुने भएको छ। भ्रमणका क्रममा राष्ट्रपति ओबामाले म्याँमकी विपक्षी नेत्री आंग सान  सुकी र राष्ट्रपति थेइन सिनसँग भेट-वार्ता गर्नुहुने कार्यक्रम रहेको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले दिएको छ। 

अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन यस अघि म्यान्मा पुग्ने पहिलो अमेरिकी वरिस्ट अधिकारी हुनुहुन्थ्यो। उहाँले गत वर्षको डिसेम्बरमा म्यान्माको भ्रमण गर्नुभएको थियो। 

यसै नोभेम्बेर महिनाको 17देखि 20 तारिखसम्म हुने दक्षिण-पूर्बी एसिया क्षेत्रका तीनवटा मुलुकको भ्रमणका क्रममा उहाँले थाईल्याण्ड र कम्बोडियाको पनि भ्रमण गर्नुहुने कार्यक्रम छ।
म्यान्मामा रहँदा राष्ट्रपति ओबामाले म्यान्मामा प्रजातान्त्रिक संक्रमणलाई प्रोत्साहित गर्ने उद्देस्यले म्यान्माली सर्बसाधारण नागरिकको भेलालाई सम्बोधन गर्नचाहेको जानकारी व्हाइट हाउसका प्रवक्ता जे कार्निले दिएका छन्।  
म्यान्मामा भैरहेको प्रजातान्त्रिक सुधारको प्रतिक्रिया स्वरूप अमेरिकाले म्यान्माका लागि पूर्ण अधिकारसम्पन्न राजदूतको नियुक्ति  गरेको छ र म्यान्मा विरुद्ध लागू रहेको नाकाबन्दी स्थगित गरेको छ। अब बाँकी रहेको अमेरिकी नाकाबन्दीको महत्वपुर्ण अंश म्यान्माबाट सामानको निर्यातमा लागू रहेको नाकाबन्दीलाई पनि खुकुलो पार्ने योजना अमेरिकाले गरिरहेको बताइएको छ।
यसैवीच, म्यान्माको राजनीतिक परिवर्तनले त्यस क्षेत्रमा चिनियाँ प्रभाव विरुद्ध अमेरिकी प्रतिकारलाई सघाउने अपेक्षा ओबामा सरकारले गरेको तर्क विश्लेषकहरुले गरेका छन् .