Thursday, December 27, 2012

मन्त्रिपरिषदको आजको बैठकद्वारा विभिन्न निर्णयहरु


मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ। बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा सिताराम अग्रवाललाई नियुक्ति गरेको छ भने  गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीको राजनीनामा स्विकृत गरेको छ । 
मन्त्रिपरिषदको आजेको बैठकले प्रधान सेनापती गौरवशमशेर राणाको यही पुस बाइसदेखि माघ दुइ गतेसम्म हुनलागेको भारत भ्रमणलाई स्वीकृति प्रदान गरेको छ । 
बैठकले नेपाल-भारत पारवाहन सन्धि नविकरणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीलाई अख्तियारी दिने निर्णय गरेको छ।
त्यसैगरी,  बैठकले गाउँ विकास समितिका सचिवलाई मासिक एक हजार पाँच सय रुपियाँ अतिरिक्त भत्ता दिने निर्णय पनि गरेको छ। 
त्यस्तै, विदेशबाट फर्किंदै गर्दा त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबाट लुटिएकी महिलालाई तत्काल एक लाख पचास हजार रुपियाँ राहत प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।

इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सिद्वारा इजिप्टको नयाँ संविधानमा सही


इजिप्टले दुइ वर्ष नपुग्दै नयाँ संविधान बनाएर जारी गरेको सुन्दा कता कता चसक्क हुन्छ, हामी नेपालीहरुको अकर्मण्यता देखेर। हाम्रा नेपाली राजनीतिक दलका नेताहरुले चार-चार वर्षसम्म झगडा गर्दै, तर थप्दै खाँदै गरे, अझसम्म पनि कुर्ची-मोह र निषेधको राजनीतिका नाममा लाज पचाएर अझै लुट्ने प्रपन्च रच्दैछन, देश र जनताका सारा पींडाको बेवास्ता गर्दै। 
इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सिले हिजो इजिप्टका जनताद्वारा बनाइएको संविधानमा सही गरेर त्यो संविधान तत्कालदेखि लागू भएको घोषणा गर्नुभयो। इजिप्टको नयाँ संविधानका सन्दर्भमा गराइएको जनमत संग्रहमा संविधानका पक्षमा करिब त्रिसट्ठी प्रतिसत मत परेको थियो। तथापि प्रतिपक्षिहरुले त्यो संविधान निकै इस्लामिक भएको भन्दै त्यसको विरोध गरेको सन्दर्भमा श्री मोर्सिले उनीहरुलाई वार्ताका लागि आह्वान गर्नुभएको छ। 
राष्ट्रपति होस्नी मुबारकको शासन विरुद्ध आन्दोलन शुरु भएदेखिको अवधिलाई गणना गर्दा पनि दुइ वर्ष नपुग्दै तयार गरेर  लागू गरिएको इजिप्टको नयाँ संविधानको खबरले नेपाली राजनीतिक दलका नेताहरुलाई पनि सत्बुद्धी देवस। यही मेरो कामना र आशा छ।
तस्विर सौजन्य: बिबिसी   

दक्षिण अफ्रिकी भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेला स्वास्थ्य सुधारपछि घर फिर्ता


दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्यमा सुधार भएपछि चिकित्सकहरुले उहाँलाई घर पठाएका छन। 
श्री मण्डेलाको स्वास्थ्यमा पूर्ण सुधार नहोउञ्जेल उहाँलाई जोहानेसबर्गस्थित उहाँकै घरमा उपचार गरिने जानकारी दक्षिण अफ्रिकाली राष्ट्रपति जाकोब जुमाले दिनुभएको छ। 
चौरानब्बे वर्षीय मण्डेला अठाह्र दिनअघि अस्पताल भर्ना हुनुभएको थियो। उहाँलाई फोक्सोमा भएको संक्रमण र मृगौलाको पत्थरीको उपचार गरिएको थियो।
तस्विर सौजन्य: बिबिसी   

अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज एच डव्ल्यु बुश सघन उपचार कक्षमा


ब्रोङ्काइटिसको उपचारका लागि गत नभेम्वर तेइस तारिखमा अस्पताल भर्ना गरिनुभएका अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज एच डव्ल्यु बुशको स्वास्थ्यमा सुधारमा संकेतहरु नदेखिएपछि उहाँलाई सघन उपचार कक्षमा राखिएको छ। 
यसो भए तापनि उहाँले आफ्ना परिवारका सदस्य तथा चिकित्सकहरुसङ्ग कुराकानी गर्न सक्ने अवस्थामा रहेको जानकारी बुशका प्रवक्ता जीम मक्ग्राथले बताउनुभएको बिबिसीले जनाएको छ। 
अठासी वर्षीय बुश अमेरिकाका सबैभन्दा बढी उमेरका जीवित राष्ट्रपति र दोश्रो युद्धमा सहभागी योद्धा हुनुहुन्छ। 
श्री बुश भूतपूर्व राष्ट्रपति रोनाल्ड रेगनको राष्ट्रपतित्व कालमा दुइ पटक उप-राष्ट्रपति बन्नुभएको थियो, र सन् उन्नाइस सय उनानब्बेमा अमेरिकाको एकचालीसौं राष्ट्रपति बन्नुभएको थियो। तर सन् उन्नाइस सय बयानब्बेमा दोश्रो अवधिका लागि उम्मेदवार बनेपछि भने उहाँलाई प्रजातान्त्रिक पार्टीका उम्मेदवार बिल क्लिन्टनले पराजित गर्नुभएको थियो। 
तस्विर सौजन्य: बिबिसी