जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
(हे देवी! तपाई जो मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधाका नामबाट परिचित हुनुहुन्छ, म तपाईहरुको प्रार्थना गर्दछु।)
नेपालीहरुको महान चाड विजया दशमी आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइंदै छ।
दशैं-घरमा प्रतिपदाका दिनदेखि गरिएको पूजा आराधना आज विधिपूर्वक विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जालबाट अभिषेक गरी घर-घरमा ठूलावडा एवम मान्यजनका हातबाट टीका र जमरा लगाइदै छ। आज विजया दशमीको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा जुरेको कुरा राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
मीठो खाने, राम्रो लाउने तथा पारीवारिक भेटघाट गरिने र स्नेह एवम सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा दस दिनसम्म मनाइने यो बडा दशैं पर्वलाई धार्मिक मात्र नभएर सामाजिक-साँस्कृतिक पर्वका रूपमा समेत महत्वपूर्ण मानिन्छ।
असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्री रामले आसुरी शक्तिको प्रतीक मानिएको रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको मिठो स्मरणमा मनाउनेगरिन्छ।
राम्रा-राम्रा पोशाकमा सजिएका, दही र रातो रंगमा मुछिएका अक्षताका राता टीका निधारभरि लगाएर शिरमा जमरा सिउरेका, मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ। स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजका दिन एकत्रित भै सपरिवार विजया दशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। अाज टीकाका लागि शुभ साइत विहान १० बजेर ३५ मिनेटमा जुरेको कुरा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
दशैं पर्वमा धार्मिक-सांस्कृतिक महत्वका साथसाथै उच्च नैतिक मूल्य-मान्यता पनि समाहित
विजया दशमी, अर्थात् दशैं नेपाललगायत भारत र बंगलादेशमा समेत विभिन्न रूपमा मनाइने सबैभन्दा महत्वपूर्ण हिन्दु चाड हो। भगवान विष्णुका सातौं अवतार भगवान रामद्वारा त्रेता युगमा दसवटा टाउका भएको दैत्य-राज रावणको बध गरेको, अर्थात् असत्यमाथि सत्यको विजय भएको खुशियाली/स्मरणमा यो पर्व मनाइन्छ। यसै दिन ब्रह्मा, विष्णु र शिवको संयुक्त शक्तिबाट उत्पत्ति भएकी देवी दुर्गाले भैसीको रूपमा रहेको अति नै शक्तिशाली दानव महिषासुर, जसको नेतृत्वमा राक्षसहरुले धर्तीमा आतंक मच्चाउनुका साथै स्वर्गमाथी कब्जा गर्ने अभियान चलाइरहेका थिए, माथि विजय हासिल गरी त्यसको बध गरिएको घटनाको पनि स्मरण गरिन्छ।
चंद्र/सौर्य-मासमा आधारित हिन्दु पात्रोअनुसार आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वले, यसरी, धार्मिक-सांस्कृतिक महत्वका साथसाथै उच्च नैतिक मूल्य-मान्यता पनि बोकेको छ।
देवनागरी लिपिमा लिपिबद्ध गरिएको हिन्दु धार्मिक महाकाव्य रामायणमा रामले कसरी वनबासका लागि दरबारबाट निस्कनुपर्याे, कसरी रावणले भगवान रामकी अर्धांगिनी सीताको अपहरण गर्याे, अपहरित सीताको मुक्तिका लागि रामले के कस्तो दुःख र सास्ती व्यहोर्नुपर्याे, क-कससङ्ग सम्झौता गर्नुपर्याे आदि सम्पूर्ण कुरा उल्लेख गरिएको छ।
दसवटा टाउका कुनै पनि हालतमा काट्न नसकिने, एउटा टाउको काटेपछि त्यसअघि काटेको अर्को टाउकोमा प्राण आइहाल्ने, त्यस्तो अद्भुत शक्ति भएको रावणलाई मारेर सीतालाई अपहरण-मुक्त पार्नु रामका लागि असम्भव कार्यजस्तै भएको अवस्थामा उहाँले चण्डी-होम गरी माता दुर्गाको आशिर्वादका लागि प्रार्थना गर्नुभयो, जसबाट प्रसन्न हुनुभएकी देवी दुर्गाले रावणको बध गर्ने गोप्य तरिका सिकाउनुभयो। देवी दुर्गाको बरदानको प्रतिफलस्वरूप रामले आश्विन शुक्ल दशमीका दिन सीतालाई भेट्नुभयो र रावणलाई पराजित गर्दै सीतालाई मुक्त गर्नुभयो।
त्यसको राम सीता र लक्ष्मणसहित अयोध्या फर्कनुभयो, जसको खुशियालीमा त्यहाँ लाखौं द्वीप प्रज्वलित गरिए, जस दिनलाई हामी दिपावली अर्थात् लक्ष्मी पूजाका रूपमा मनाउछौ।
यति बेला कतिपय मानिसहरु शान्ति यज्ञका रूपमा आदित्य होम गर्नेगर्दछन, जसको परिणामस्वरूप घरको वरिपरिको वातावरण सफा र स्वस्थ रहन्छ भन्ने मान्यता रहिआएको छ। यस प्रकारका धार्मिक संस्कारहरुको आयोजना गर्नाको मुख्य उद्देश्य रावणका १०वटा टाउकाद्वारा प्रतिनिधित्व गरिने १० वटा खराब गुण (काम वासना, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सरा अर्थात डाढ, स्वार्थ, अन्याय, अमानवियता र अहंकार) बाट घर-परिवारलाई मुक्त राख्नु हो।