Tuesday, January 8, 2013
सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन गर्नु आवश्यक: प्रधानमन्त्री
प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतमा गिरफ्तार गरिएकोजस्ता घटना भविष्यमा फेरि दोहरिन नदिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन गर्नुपर्ने र यसका लागि दलहरुबीच सहमति हुनु आवश्यक रहेको कुरा बताउनुभएको छ। राष्ट्रपतिसङ्ग सोमबार भएको भेटमा प्रधानमन्त्रीले सो आबश्यकता औल्याउनुभएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन हुन नसकेको खण्डमा शान्ति प्रक्रियामा प्रतिकुल असर पर्ने चेतावनी प्रधानमन्त्रीले दिनुभएको छ।
सरकारले केही महिना अघि स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाएको सत्य निरुपण तथा मेलमिलाप अनि वेपत्ता छानबीन आयोगसम्बन्धी अध्यादेशहरुमा राष्ट्रपति यादवले अझै सही नगरेका कारण ती अध्यादेशहरु हाल राष्ट्रपति कार्यालयमै थन्किएका छन्।
यस वर्षको जाडो शुरु भएदेखियता सप्तरीमा मात्र बीसजनाको मृत्यु
काठमाडौँका बासिन्दाहरुले आज यस वर्षकै सबैभन्दा जाडो विहान व्यतित गरे- शून्यभन्दा एक दसमलब एक डिग्री तलको तापक्रम। निकै जाडो अनुभव भयो, एकाविहानै गमलामा पानी हाल्नलागेको एकैछिनमा हात राता भए, ठिहिर्याए।
तर जाडोले योभन्दा दुखद स्थिति तराईतिर सिर्जना गर्यो, जहाँ शीतलहरका कारण कयौ मानिसले ज्यान गुमाउनुपरेको छ। यस वर्षको जाडो शुरु भएदेखियता सप्तरीमा मात्र बीसजनाले ज्यान गुमाइसकेका छन। रौतहट र सर्लाहीमा अत्यधिक जाडोका कारण आज मात्र छजनाको ज्यान गएको छ।
जाडोका कारण तराईका विद्यालयहरु नराम्ररी प्रभावित भएका छन। बाल-बालिकाहरु बिरामी पर्नथालेपछि बारा, पर्सा र रौतहटका सम्पूर्ण विद्यालयहरु एक हप्ताका लागि बन्द गरिएको छ भने सुनसरीका सबै निजी तथा सरकारी विद्यालयहरु चार दिनका लागि बन्द गरिएका छन।
जाडो अझै एक हप्तासम्म नघट्ने अनुमान मौसमविद्हरुले गरेका छन। तस्विर सौजन्य: इकान्तिपुर
धन्यवाद छ, मिर्मिरे एफएमलाई राष्ट्रिय गीतहरु बजाएकोमा
नेपाली संगीत बजारमा गीत तथा भजनहरुको कमी रहेजस्तो गरी एकाविहानैदेखि हिन्दि भाषाका भजन तथा चलचित्रका गीतहरु बजाउँछन, नेपाली एफएम रेडियोहरु। दुःख लाग्छ, नेपाली एफएम संचालकहरुको मानसिकता देखेर। हुन त नेपालको एकमात्र राष्ट्रिय स्तरको प्रशारण सेवाका रुपमा स्थापित रेडियो नेपालमा समेत प्रजातन्त्रको पुनःस्थापनापछि हिन्दी गीतहरुले अत्यधिक स्थान पाउनेगरेका छन। बिज्ञापन बटुलेर कमाइ खाने निजी क्षेत्रका एफएमहरुले त जताबाट फाइदा हुन्छ, त्यतै लाग्ने हो।
विहान पाँच बजेदेखि छ बजेको बीचमा विभिन्न रेडियो स्टेसनहरु खोलेरहेर्दा अधिकांशमा हिन्दी भाषाका गीत वा भजन मात्र सुन्नुपर्ने बाध्यता सिर्जना भएका बेला मिर्मिरे एफएमले मेरो मनमा सारै ठूलो आनन्दको अनुभूति गरायो, आज, नेपालका राष्ट्रिय गीतहरु बजाएर। यस एफएमले पनि कमाएर खानु त पर्छ नै। तथापि यसले आफ्नो राष्ट्रियता र स्वाधीनतालाई नबिर्सेको जस्तो लाग्यो। धन्यवाद छ, मिर्मिरे एफएमलाई यसका लागि। कमाएर खानका लागि इमान नै बेच्नुपर्छ भन्ने केही छैन। थोरै खाए पनि बाँच्न सकिँदोरहेछ नै।
त्यसबाहेक, रेडियो नेपालले हिन्दी चलचित्रका गीतहरुलाई जसरी जति मात्रामा स्थान दिइरहेको छ, त्यसका सन्दर्भमा नेपाल सरकार, संचार मन्त्रालय र रेडियो नेपालले प्रशाशनको इमान्दारीपूर्बक काम गरेको जस्तो लाग्दैन।
सरकारको नेतृत्व गर्ने राज्नितिज्ञहरुको बुद्धी नपुगे पनि पढे-लेखेर, ज्ञान हासिल गरेर, प्रतियोगिता जितेर सचिव स्तरमा समेत पुगेका व्यक्ति, रेडियो नेपालका संचालकहरु पनि अबुझ होलान भन्न मिल्दैन। यिनले यी रेडियोहरुबाट निरन्तर रुपमा बेरोकटोक बजिरहेका हिन्दी र अंग्रेजी गीतहरुले नेपाली संस्कृतिमा कति आघात पुर्याइरहेका छन् भन्ने बारेमा समयमै सोच्नु र आवश्यक कदम चल्नु आबश्यक छ।
‘एक पाइलटले एक प्रकारको जहाज मात्र उडाउन पाउने' नियम लागू
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले दुईथरी जहाज उडाइरहेका चालकका कारण नेपालमा हवाई दुर्घटना बढेको ठहर गरेपछि अबदेखि एउटा पाइलटले एक प्रकारका जहाज मात्र उडाउन पाउने नियम नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गरेको छ।
अन्य देशका दाँजोमा नेपालमा हवाई दुर्घटना उच्च भएपछि अन्तर्राष्ट्रिय उड्डयन नियामक निकाय आइकाओले ‘एक पाइलटले एक प्रकारको जहाज मात्र उडाउन पाउने' नियम लागू गरेपछि संसारभरिका नागरिक उड्डयन प्राधिकरणहरूको छाता संगठन- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र नेपालले पनि उक्त नियम लागू गरेको हो।
आइकाओले संसारभरिका निजी तथा सरकारी सबै वायु सेवा कम्पनीमा ‘एक पाइलट-एक जहाज' को नियम लागू गर्नुपर्ने बाध्यकारी नियम यसै वर्षदेखि लागू गरेको हो।
यस नियमका कारण अब हवाई दुर्घटनामा कमी आउने आशा नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ।
यस नियमअनुसार, अब एकैजना चालकले टर्बोप्रप र जेट इन्जिन जहाज उडाउन पाउँदैनन, अन्यथा त्यस्ता चालकको उडान अनुमति पत्र रद्द हुन्छ। तस्विर सौजन्य: नागरिकन्युज
Subscribe to:
Posts (Atom)