Monday, August 23, 2021

गाईजात्राको ऐतहासिक पृष्ठभूमि: प्रताप मल्लको पत्नी प्रेम

 मल्ल राजा प्रताप मल्लले पुत्र-शोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिनका लागि यस्तो दुखद अवस्थाको सामना सबैले गर्नुपर्छ भन्ने देखाउन (यस वर्ष) मानिस मरेका घर-घरबाट  गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राज-दरबारको प्राङ्गणमा जम्मा गराएर रानीलाई देखाए। 

त्यतिले पनि रानीको मन शान्त हुन नसक्दा शोक-हरणका लागि भनेर हँसाउने कार्यक्रमको आयोजनाका लागि राजाज्ञ जारी गरे। र त्यस बेलादेखि  गाईजात्रा मनाउने चलन चलेको विश्वास गरिन्छ। 

यही परम्पराबाट शुरु भएको  गाईजात्रा पर्वमा हिजो-आज सामाजिक कुरीति एवम प्रशासनिक कमजोरीलाई लक्षित गरी व्यंग्यात्मक शैलीमा संस्थाव्यक्ति र सरकारको आलोचना गर्ने हास्यव्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने परम्पराको विकास भएको छ।  

फाेटाे सौजन्य: गुगल

हिन्दुहरुको परम्परागत साँस्कृतिक पर्व गाईजात्रा हर्षोल्लासका साथ मनाइंदै

 आज हिन्दुहरुको परम्परागत साँस्कृतिक पर्व गाईजात्रा। यो पर्व आज काठमाडौँ उपत्यकालगायत अधिराज्यका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइँदैछ। आजदेखि शुरु भई अष्टमीका दिनसम्म ८ दिन मनाइने यस उत्सवमा एक वर्षभित्र दिवंगत हुनपुगेका आफ्ना परिवारका सदस्यहरुको सम्झनामा प्रतीकात्मक अभिव्यक्तिस्वरूप मानिसलाई गाईका रूपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराइञ्छ। 

यसरी नगर परिक्रमा गर्दा यसै वर्ष मृत्यु भएका व्यक्तिको परिवारका सदस्य तथा श्रद्धालुहरु गाईको पुच्छर समाई वैतरणी नदी पार गरिन्छ भन्ने धार्मिक मान्यताका आधारमा गाईका नाममा फलफूल, दही, च्युरा, आदि दान गर्नेगर्दछन। गाईजात्रामा गाई र जोगीको भेषमा सिंगारिएका मानिसहरुले लाखे नाच प्रदर्शन गर्दछन। 

आजै मृतकका परिवारले मृतकको गुणगान र कीर्तिले भरिपूर्ण जीवन-चरित्रमा आधारित गीति-रचना रामायण गाएर नगर परिक्रमा गर्ने चलन छ। 

यस जात्रालाई काठमाडौँ उपत्यकाका साथै बनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धनकुटा, धरान, बिराटनगर, बिरगंज, हेटौंडा, पोखरा, पाल्पा, डोटी, सुर्खेत आदि स्थानहरुमा पनि साँस्कृतिक पर्वका रूपमा मनाइने चलन छ।     

फाेटाे सौजन्य: गुगल