Thursday, January 10, 2013

प्रधानमन्त्री बाबुराम भट्टराईको सम्पत्ति विवरण


प्रधानमन्त्री बाबुराम भट्टराईको गोरखा जिल्ला खोप्लाङ गाविस वडा नं ४ मा करिब दुई रोपनी पैतृक सम्पत्ति छ। प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही पुस ४ गते पेस गर्नुभएको  र सूचना तथा सञ्चारमार्फत आज राष्ट्रिय समाचर समितिलाई प्राप्त सम्पत्ति विवरणमा सो कुरा उल्लेख गरिएको छ। 

प्रधानमन्त्री भट्टराईको राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखामा खोलिएका दुईवटा खातामा पारिश्रमिक र भत्ताबापत प्राप्त करिब ११ लाख रुपियाँ मौज्दात रहेको जनाइएको छ। उहाँको अरु  सम्पत्तिमा किताब र घरायसी सामान रहेका छन्, जसको मूल्यको हिसाब गरिएको छैन।

प्रधानमन्त्रीले सम्पत्ति विवरणमा पत्नी हिसिला यमि र छोरी मानुषी यमि भट्टराईको नाममा खोलिएका छुट्टाछुट्टै खातामा करिब आफ्नै जति सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ।  रासस

राष्ट्रपति चावेसको अर्को अवधिका लागि पदभार ग्रहणलाई पछि सार्नु वैधानिक: भेनेजुएलाको सर्वोच्च अदालत


भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति ह्युगो चावेसको अर्को अवधिका लागि पदभार ग्रहणलाई पछि सार्नु वैधानिक हुने ठहर गरेको छ। 
यस सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्दै त्यहाँका प्रतिपक्षी नेता हेन्रिके कप्रिलेसले सर्वोच्च अदालतको यो निर्णय बाध्यकारी छ, तर भेनेजुएलाले सामना गर्नुपरिरहेको अनिश्चितताको अन्त्य यस निर्णयले गर्दैन भन्नुभएको छ। 
यसअघि भेनेजुएलाको राष्ट्रिय संसदले क्यूबाको अस्पतालमा क्यान्सरको शल्यक्रिया गराएपछि स्वास्थ्य लाभमा कठीनाइको सामना गरिरहनुभएका राष्ट्रपति चावेसलाई आवश्यक समय दिने पक्षमा मतदान गरेको थियो।  तस्विर सौजन्य: बिबिसी 

अदालतद्वारा आफ्नै छोऱी बेच्ने बाबुलाई एघार वर्षको काराबास सजाए


जिल्ला अदालत सिन्धुपाल्चोकले जिल्लाको दुवाचौर- ६ निवासी लोकबहादुर घलेलाई आफ्नै छोऱी बेचेको अभियोगमा एघार वर्षको काराबास सजाए सुनाएको छ। घलेले आफ्नै अठार वर्षीया विवाहिता छोरीलाई आठ वर्ष अघि असी हजार रुपियाँमा भारतमा बेचेको आरोप प्रमाणित भएपछि जिल्ला न्यायाधिश अनन्तराज डुम्रेको एकल इजालसले सो कार्यमा मतियार भएका सोही गाविसका हर्कबहादुर तामाङलाई पनि दस वर्षको काराबास सजाय सुनाएको छ। 
दुइ हजार बैसट्ठी सालको मंसिर महिनामा आफ्नै बाबुको सहयोगमा बेचिएपछि भारत पुगी यौन व्यवसायमा संलग्न हुन वाध्य घलेकी छोरी दुइ हजार सतसट्ठी सालको माघ महिनामा घर फर्केपछि उनलाई बेच्नमा आफ्नै बाबुको हात रहेको रहष्य खुलेको थियो। बैसट्ठी वर्षीय आफ्नै बाबुलगायत छजना विरुद्ध उन्ले किटानी जाहेरी दिएकोमा अदालतले ईश्वर घले, रामकृष्ण घले र शिक्षक काजीमान तामाङलाई सफाइ दिएको छ। 
ती युवतीका श्रीमानले दोश्रो विवाह गरेपछि माइतिमा बसेको मौका छोपेर बावु लोकवहादुरले राम्रो जागिर पाउने प्रलोभनमा छोरी बेचेका थिए। घटनाका मुख्य दोषी दावा भने फरार रहेको बताइएको छ।

मेरो विचार: जिल्ला न्यायाधिश अनन्तराज डुम्रेको यस निर्णयबाट छोरी बेचेर जस्ताको छानो हाल्ने सपना बोक्ने पिछडिएका नेपाली पहाडी बासिन्दालाई आघात पुगे पनि नेपाली चेलीहरुको अस्मिता जोगाउन र नेपाली महिलाहरुको आत्मसम्मानलाई बचाइराख्न अवश्य नै सहयोग पुग्नेछ।  

दूतावासद्वारा महासेनानी कुमार लामाको रिहाइका सम्बन्धमा बेलायतका सरोकारवाला व्यक्तिहरुसङ्ग वार्ता शुरु


बेलायतका लागि नेपाली दूतावासले नेपाली सेनाका महासेनानी कुमार लामाको गिरफ्तारी र उहाँ विरुद्ध बेलायत सरकारको कदमका सम्बन्धमा सरोकारवाला व्यक्तिहरुसङ्ग कुटनीतिक वार्ता शुरु गरेको छ। बेलायतका लागि नेपाली राजदूत सुरेशराज चालिसेले एसियाली मामिला हेर्ने बेलायती मन्त्री ह्युगो स्वारसँग बेलायतको विदेश मन्त्रालयमा मंगलबार भेटवार्ता गर्नुभयो। भेटमा राजदूत चालिसेले कर्नेल लामालाई विनाशर्त रिहा गरेर सुडान मिसनमा फिर्ता पठाइदिन नेपाल सरकारको आग्रह/सन्देश सुनाउनुभयो।
आश्चर्यको कुरो, चालिस मिनेटसम्म चलेको भेट-वार्तामा बेलायती मन्त्री ह्युगोले नेपाली राजदूतको भनाइ एकोहोरो सुनिरहेको र तत्काल कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। 
कर्नेल लामाको रिहाइका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरू एकमत भएको जानकारी दिदै राजदूत चालिसेले लामाको गिरफ्तारीले नेपालको शान्ति प्रक्रियामा समेत असर पर्नसक्ने भएकाले बेलायत र नेपालबीचको दुई सय वर्ष पुरानो सम्बन्धलाई दृष्टिगत गरेर भए पनि जतिसक्दो चाँडो यस समस्याको समाधान गर्न बेलायती मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो। नेपाल संक्रमणकालीन न्याय र मानवअधिकारका लागि सदैव कटिबद्ध रहेको कुरा पनि राजदूत चालिसेले बताउनुभएको छ। भेटघाटमा राजदूत चालिसे, उपनियोग प्रमुख तेजबहादुर क्षत्री र सैन्य सहचरी विश्वनाथ घिमिरे उपस्थित हुनुहुन्थ्यो भने बेलायत सरकारका तर्फबाट मन्त्री ह्युगोसहित विदेश मन्त्रालयका चार अधिकारी।
नेपालका बारेमा जानकारी राख्ने ब्रिटेन-नेपाल अल पार्टी पार्लियामेन्ट्री ग्रुपका प्रमुख सर जोन स्टयान्लीसँग पनि राजदूतले भेटवार्ता गर्नुभयेको छ। मंगलबार अपराह्न भएको भेटमा राजदूत चालिसेले महासेनानी लामाको पक्राउ विषयमा नेपाल सरकारले लिएको धारणा र विनासर्त रिहाइको अडान दोहर्याउनुभयो। स्टयान्लीले नेपालको यस धारणा ब्रिटेन-नेपाल अल पार्टी पार्लियामेन्ट्री ग्रुपसमक्ष राख्ने जवाफ दिएको जानकारी दूतावासले दिएको छ। हाल लण्डनमा नरहेका बेलायती रक्षामन्त्री र डीएफआईडी मन्त्री आलन डंकनसँग पनि छिट्टै भेट्ने तयारी दूतावासले गरिरहेको बताइएको छ।

नयाँ संविधान बनाएर देशलाई दिशा-निर्देश गर्नका लागि नेपाली जनताले अब दूरगामी महत्वको गम्भीर निर्णय गर्नुपर्छ


शब्दले, वादले आफै जनताको पेट भर्दैन। पेट भर्नाका लागि अर्थ चाहिन्छ, अर्थका लागि दूरदर्शी आर्थिक नीति, जसको सम्भावना त्यो भए कदापि हुँदैन, म सत्तामा गए  समस्याको निमेषभरमै छुमन्तर हुन्छ भन्ने र कुर्चीका लागि मात्र लडाई गर्ने यी राजनीतिक दलहरु रहेसम्म सम्भव छैन। 

हामी नेपाली जनता साह्रै सोझा छौं, यी कुटिल जाली नेताहरुले जे भन्छन त्यतै लाग्छौं। एक माना नूनमा बिक्छौं, एक टुक्रो मासुमा बिक्छौं, हरेकका मीठा आस्वाशनमा टिक्छौ। त्यसैले हरेक पटक जिताउछौ, यीनै जाली नेता र यिनका नेता-कार्यकर्ताहरुलाई, त्यो पनि आधा आधा मत दिएर। 

नेपाली कांग्रेसलाई नेपाली जनताले दुइ तिहाई मत दिएर संसदमा पठाएकै हुन। त्यो मत नेपाली कांग्रेसले निजीकरणका नाममा नेपाल र नेपालीलाई आत्मनिर्भर बनाउन भनेर विदेशी मित्रहरुले अनुदानमा बनाइदिएका उद्योगहरु, कलकारखानाहरु बेच्न र बन्द गर्नमा मात्र उपयोग गर्यो। नेकपा एमालेले पनि अवसर पाएकै हो, मनमोहनको सरकारले गर्नलागेको थियो, तर त्यस सरकारले ल्याएका कार्यक्रमहरुले कांग्रेसलाई पोल्नुपोले जसको रापले मनमोहन अधिकारीको सरकारलाई पल्टाइदियो। माओवादीको सरकारलाई पनि यसले काम गरेर खान्छ, हामी भोकै पर्छौं भन्ने त्रासले नै पल्टाइएको हो, पल्टाउन भरमग्दूर प्रयास गरिंदैछ, यसमा दुइमत हुनै सक्दैन। होइन भने बाबुराम भट्टराईको सरकारलाई अछुतको व्यवहार गर्नुपर्ने, संसद नभएका बेला कामचलाउ सरकारले निर्बाचन गराउने परम्परा हुँदाहुँदै 'तिमी कामचलाउ छोड, म कामचलाउ बस्छु कुर्चीमा' भन्दै उफ्रिनु, र हितैषी व्यक्ति राष्ट्रपति भएको मौकाको फाइदा उठाई उहाँलाई सविधानको धारामा उल्टो फर्किन बाध्य पर्नुपर्ने कुनै कारण नै थिएन। 

हिजो कुनै नेता भन्दैहुनुहुन्थ्यो- 'सुशील कोइरालाको विकल्प छैन' भनेर। संसद भंग हुने बेला जेठ चौध गतेसम्म सत्तामा रहेको बहुमत प्राप्त सरकार, राष्ट्रपतिले जेठ सोह्र गते चिट्ठी लेखेर 'तपाईको सरकार कामचलाउ भयो' भनेर तोकिदिनुभएको सरकारको विकल्प हुनसक्ने, संसद भङ्ग भैसकेको र राजनीतिक दल र तिनका नेता-कार्यकर्ताहरु जनाधिकार विहिन, मजस्ता सामान्य नागरिक, भैसकेका बेला सुशील कोइरालाको विकल्प हुनै नसक्ने? कस्तो बलमिच्याईको राजनीति हो यो? नेपाली राजनीतिक दलहरुले किन यसरी नेपाली जनताको शोषण गरिरहेका? दुइ सय वर्ष लामो राजतन्त्रलाई बढारेर फालिदिने नेपाली जनताले तिमीहरुलाई बढारेर निमिट्यान्न पारिदिन सक्दैनन भन्ठानेको? 
  
यसले राम्रो काम गर्यो भने जनताले मलाई बढारिछाड्छन भन्ने त्रासका कारण सत्ता परिवर्तनको खेलमा मात्र रमिरहेका यी राजनीतिक दलहरुलाई नबढारी अब नेपालमा शान्ति र स्थिरता सम्भव देखिएन। यस्तो अवस्थामा नेपाली जनताले निर्णायक कदम चाल्नुपर्छ: नयाँ संविधान बनाएर देशलाई एउटा दिशा-निर्देश गर्नका लागि कुनै एक दललाई दुइ तिहाई बहुमत दिएर संसदमा पठाउने दूरगामी महत्वको गम्भीर निर्णय गर्नैपर्छ। अन्यथा यिनले यस कुर्चीको लडाईंका क्रममा देशको अस्तित्वलाई नै खतरामा पार्ने पक्का छ।