अर्थात्ः नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुउपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरू ठूलाे महत्व दिनेगर्दछन।
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ। वैज्ञानिक भाषामा poa cynosuroides भनिने कुशले हिन्दू जनमानसमा अभूतपूर्व धार्मिक आस्था प्रवाहित गरेको छ। तिखा र धारिला पात हुने याे वनस्पति नेपालको तराईदेखि पहाडसम्म सहजै पाइन्छ। कुशको जराबाट पखाला, छालासम्बन्धी राेगहरू, मृगाैलासम्बन्धी राेग, कष्टाब्रत (महिलाहरूमा मासिक धर्मका बेला हुने पिंडा), दुग्धबर्धक (बच्चालार्इ दूध चुसाउने बेलाका लागि) अादि विभिन्न प्रकारका औषधी पनि बनाइन्छ। परापूर्वकालमा पाठशालामा अध्ययनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश जम्मा पार्न सक्थ्यो, उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो।
आज औँशी अर्थात चन्द्रविनाको चूक झैँ अध्यारो रात, आजको दिन विहानै कुशलाई घरमा भित्र्याइन्छ। कुशको महिमाकाे वर्णन श्रीमद्भागवत् गीता, गरुड पुराण, यथर्व वेद र विष्णु पुराणमा समेत गरिएको छ। हिन्दू धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन, गीता र वेद नै आविष्कारका जननी हुन। आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अाजकल सनातन संस्कार र व्यावहारिक पक्षलाई घनीभूतरूपमा आत्मसात गर्नथालेकाे देख्नपाइन्छ।एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठी कुशलाई विकीरणमाँझ राख्दा कुशले सम्पूर्ण विकीरण आफूबाट परावर्तित गरेको पाइयो। यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यावहारिक जीवन शैली प्रस्तुत गरेको छ। वैज्ञानिकरुपमै शिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्काे पिंढीले हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ। दाहिने हातको औँलामा कुशलाई आँंैठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकीरणहरू निस्तेज गर्ने विश्वास विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन।
आजका दिन पितृ देवो भव: भन्ने मान्यताअनुरूप आफ्ना बाबुलाई मन पर्ने मिठाई, भोजन आदि खुवाई जन्मदाता पिताको मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा रहिआएको छ।
कुशे औसीका अवसरमा आज बाबु नहुनेहरुले पितृको तृप्ति एबम् कल्याणको कामना गरी काठमाडौँको उत्तर-पूर्वमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई सम्झनास्वरूप श्राद्ध, तर्पण आदि गर्ने चलन छ।
त्यसो गर्न नसक्नेले घरमै ब्राह्मण बोलाएर वा नजिकका मन्दिर आदि पवित्र स्थल पुगी पितृका नाममा ब्राह्मणलाई सिधा दान गर्ने चलन छ।
यस अवसरमा मैले पनि आज विहानै उठेर नुहाई-धुवाई गरेर मेरा पिताको दिवङ्गत आत्माको चिर शान्ति र सन्तुष्टिको कामना गर्दै जल अर्पण गरें। मेरा पिताको आत्माले शान्ति पावस।