Friday, December 14, 2012

दुइजना विद्यार्थीको अपहरण र हत्या गरेको अभियोगमा अठहत्तर वर्ष काराबास सजाय

बाँके जिल्ला अदालतले दुइजना विद्यार्थीको अपहरण गरी फिरौती लीइसकेपछी हत्या गरेको अभियोगमा मेराज अहमद साईलाई सर्वस्व हरणसहित अठहत्तर वर्ष काराबासको सजाय सुनाएको छ । मेराज अहमद साईले दुइजना विद्यार्थी- कपिल द्ववेदी र लिलाधर भट्टको दुई वर्षअघि अपहरण गरी दस लाख रुपियाँ फिरौती लिइसकेपछि हत्या गरेको थियो । 

मेराजलाई दुई बालकको अपहरण र हत्यामा संलग्नत भएको ठहर गर्दै अदालते प्रत्येक बालकबापत ३९-३९ वर्ष काराबास सजाय तोकेको हो । जिल्ला न्यायधिश शेखरप्रसाद पौड्यालको इजालासले अपहरणमा संलग्न अन्य आठ अभियुक्त प्रत्यकलाई उन्नाइस उन्नाइस वर्ष काराबास सजाय तोक्नुका साथै पीडित परिवारलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिलाउने र फिरौती बापत तिरेको दस लाख रुपियाँ फिर्ता गराउने फैसला गरेको छ ।  फिरौती दिन मध्यस्थता गरेको अभियोग लागेका चन्द्रेश्वरप्रसाद सिंहलाई अदालतले सफाइ दिएको छ । त्यस्तै, अपहरण र हत्याका सहयोगी प्रहरी हवल्दार साकिर अलि बेहनालाई बाइस वर्षको काराबास सजाय तोकिएको छ ।
उन्नाइस उन्नाइस वर्ष काराबास सजाय पाउनेहरुमा इब्राईम मनियार, रज्जाब अलि शेख, नाजिर खाँ, राजितराम बर्मा, रामशोभित बर्मा, कैलाश गडरिया रहेका छन। 
ती विद्यार्थीहरु कपिल द्विवेदी र लिलाधर भट्टको अपहरण तथा हत्याका मुख्य योजनाकार रामसुरेश बर्मा भने फरार रहेको बताइएको छ।

सिरियाका सन्दर्भमा रसियाको स्थितिमा कुनै परिवर्तन आएको छैन र कहिलेइ आउने पनि छैन


रसियाको विदेश मन्त्रालयले सिरियाका सन्दर्भमा रसियाको स्थितिमा कुनै परिवर्तन आएको छैन र कहिलेइ आउने पनि छैन भनेको छ। रसियाका उप-विदेश मन्त्री मिखाइल बाग्दानवले सिरियाको गृह-युद्धमा सरकारी सेनाको नियन्त्रण घट्दै गएको र प्रतिद्वन्द्वी विद्रोही सामू राष्ट्रपति बसार अल-असदको सत्ता पराजित हुनसक्ने आशंका व्यक्त गर्नुभएको एक दिनपछि रुसको अधिकारिक प्रतिक्रिया आएको छ। 
रुसी विदेश मन्त्रालयले सिरियाली समस्याको समाधान राजनीतिक तरिकाले मात्र गर्नुपर्ने भन्दै रसियाको स्थिति स्पष्ट परेको छ। 
यसैबीच, अमेरिकाले टर्कीलाई प्याट्रीओट् क्षेप्याश्त्र पठाउनेभएको छ। यस सम्बन्धमा अमेरिकी रक्षा मन्त्री लेओन पनेत्ताले सिरियाका तर्फबाट हुनसक्ने क्षेप्याश्त्र अथवा हवाई आक्रमणबाट टर्कीका नागरिकको सुरक्षाका लागि भन्दै दुइवटा बेटरी र चार सय सैनिक तैनाथ गर्ने अनुमति दिने दस्ताबेजमा सही गर्नुभएको छ।
जर्मनी र नेदर्ल्यान्द्सले पनि दक्षिणी टर्कीमा तैनाथ गर्नका लागि भनेर दुइ दुइवटा बेटरी प्रदान गर्नेभएका छन्।
मेरो विचार: सहयोग गर्नु राम्रो कुरा हो। तर त्यस्तो सहयोगको दुरुपयोग नहोस भन्नेतिर पनि सजग हुनुपर्छ। सिरियामा बसार अल-असदको सरकार वैधानिक सरकार हो र त्यो नै सिरियाली जनताको प्रतिनिधित्व पनि हो। वैधानिक सरकारलाई सहयोग गर्नुको साटो आफुलाई मन नपरेकै कारण त्यसलाई अपदस्त गर्ने हेतु राष्ट्र संघदेखि अनेकौं आन्तरिक विद्रोही सम्मको प्रयोग मात्र नगरी तीनलाई सिरियाली जनताका प्रतिनिधि समेत भन्नेहरुले त्यसो गर्लान भनेर आशा गर्नुको अर्थ छ र?

उत्तर कोरियामा लामो दूरीको रकेटको सफल प्रक्षेपणमा खुशीयाली


उत्तर कोरियामा गत बुधबार गरेको लामो दूरीको रकेटको सफल प्रक्षेपणमा खुशीयाली मनाइएको छ। सो खुशीयाली मनाउन राजधानी प्योंगयांगको मुख्य चोकमा लाखौं मानिस भेला भएका थिए। 
अमेरिका, जापान, दक्षिण कोरिया लगायतका मुलुकहरुले उत्तर कोरियाको त्यस रकेट प्रक्षेपणलाई राष्ट्र संघीय प्रस्ताव विपरितको भन्दै आलोचना गरेका छन्। तर उत्तर कोरियाले भने यो उसको नैसर्गिक अधिकार भएको कुरा जनाएको छ। 
यसैवीच, दक्षिण कोरियाली सेनाले त्यस रकेटको परित्यक्त पहिलो चरणको अवशेष फेला पारेको र त्यसको अध्ययन गर्ने कुरा जनाएको छ।  
नक्सा सौजन्य:बिबिसी 

चीनको हनान प्रान्तको छनफंगमा संचालित प्राथमिक विद्यालयमा छुरा प्रहार: तेइसजना घाइते


चीनको हनान प्रान्तको छनफंगमा संचालित एउटा प्राथमिक विद्यालयमा एकजना पुरुषले गरेको छुरा प्रहारबाट एक बयस्क महिला र बाइसजना  विद्यार्थी घाइते भएका छन् । 
विद्यालयको प्रवेश द्वारमा उभिएको ३६ वर्षीय एकजना स्थानीय पुरुषले विद्यालय प्रवेश गर्नलागेका विद्यार्थिलाई अन्धाधुन्दा छुरा प्रहार गरेका सिन्ह्वा समाचार संस्थाले जनाएको छ।
चिनियाँ सञ्चार माध्यम सिन्ह्वालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार, विद्यार्थीहरुमाथि अन्धाधुन्ध छुरा प्रहार गर्ने त्यस पुरुषलाई प्रहरीले गिरफ्तार गरेको । विद्यालयका सुरक्षाकर्मीहरुले  नसमातेसम्म उसले लगातार विद्यार्थीमाथि छुरा प्रहार गरेको थियो।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेको  दुइजना विद्यार्थीलाई गाउँ बाहिरको सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
नक्सा सौजन्य:बिबिसी 

राजनीतिक दलहरुले समग्रमा सहमति कायम गरी वर्तमान राजनीतिक गतिरोधलाई निकास दिनैपर्ने: प्रधानमन्त्री


प्रधानमन्त्री डा बाबुराम भट्टराईले  दलहरुबीच राष्ट्रिय सहमति कायम गरी संविधान सभाको नयाँ निर्वाचनमा लाग्नु सबैभन्दा उत्तम विकल्प भएको कुरा बताउनुभएको छ। अठारौं महानगर दिवसका अवसरमा आज शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले विद्यमान संवैधानिक एवम् कानूनी समस्याहरुको समाधान सम्बन्धमा राजनीतिक दलहरुले समग्रमा सहमति कायम गरेर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिनैपर्ने कुरा बताउंदै प्रधानमन्त्रीले यसका लागि प्रधानमन्त्रीको हैसियतले त्याग गर्न  आफू तयार रहेको बताउनुभयो।                                                                                  
नयाँ निर्वाचनवाट मात्रै मुलुकमा विद्यमान लम्विदो संक्रमणकालको अन्त्य गरी राजनैतिक गतिरोधलाई निकास दिनसकिने र मुलुकलाई आर्थिक-सामाजिक समृद्धिको नयाँ मार्गमा डोर्‍याउन सकिने कुरा बताउंदै प्रधानमन्त्री भट्टराईले आगामी वैशाखमा गर्नेगरी सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्नुभयो।
स्थानीय निकायमा जन-प्रतिनिधिहरु नभएका कारण ती निकायमा जनताको प्रत्यक्ष नियन्त्रण र निगरानी कमजोर बन्नपुगेको, र यसै कारण पछिल्लो समयमा कतिपय स्थानीय निकायमा चरम आर्थिक अनियमितता देखापरेको स्मरण गराउंदै उहाँले यस्ता आर्थिक उच्छृंखलता र भ्रष्टाचारजन्य कार्यलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। यस्ता क्रियाकलापमा संलग्न कर्मचारी तथा अन्य जो कोहीलाई पनि कानुन वमोजिम कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले कुनै कसर वाँकी नराख्ने प्रतिबद्धता पनि प्रधानमन्त्री भट्टराईले व्यक्त गर्नुभयो। 
फोटो सौजन्य: इकान्तिपुर 

सिरियाको गृह-युद्धमा राष्ट्रपति बसार अल-असदको सत्ता पराजित हुनसक्ने: रुसी आशंका


रसियाका उप-विदेश मन्त्री मिखाइल बाग्दानवले सिरियाको गृह-युद्धमा राष्ट्रपति बसार अल-असदको सत्ता पराजित हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ। मस्कोको क्रेमलिनमा सल्लाहकार निकायको सुनुवाइमा बोल्दै उप-विदेश मन्त्री बाग्दानवले राष्ट्रपति बसार अल-असदको सेनाले आफ्नो नियन्त्रण झन्-झन् बढी गुमाउंदैगएको कुरा बताउनुभयो। 

सिरियाका भरपर्दा र विश्वासिला मित्रमध्येको एक रसियाले त्यहाँबाट आफ्ना हजारौं नागरिकलाई फिर्ता बोलाउने सम्भावनाबारे सोचिरहेको जानकारी पनि श्री बाग्दानवले दिनुभयो।  

सिरियामा विद्रोही विरुद्ध सरकारी पक्षले बढी शक्ति प्रयोग गरेको भन्दै त्यसको आलोचना गर्ने राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्तावमाथि रसिया र चीनले निशेधाज्ञा (भिटो) प्रयोग गरेका थिए। तर 'दुर्भाग्यबश सिरियाली प्रतिपक्षको सम्भावित विजयलाई हामी अस्वीकार गर्नसक्दैनौं', बाग्दानवले भन्नुभयो।

रसियाले दुइ पक्ष बीच वार्ताका लागि पटक पटक आह्वान गर्दैआएको छ। तर अमेरिका लगायत यूरोपका केही मुलुकले सिरियाली बिद्रोही पक्षलाई सिरियाली जनताको वैधानिक प्रतिनिधिका रुपमा मान्यता दिएको घोषणा गरेपछि सिरियाली बिद्रोही पक्षको मनोबल बढेको छ जसको नतिजा: देश र जनता अरु संकटमा पर्ने पक्का छ।
तस्विर सौजन्य: बिबिसी 


वैशाखमा हुने निर्वाचनका लागि आवश्यक तयारी शुरु: निर्वाचन आयोग


सरकारले भनेअनुसार आगामी वैशाखमा हुने निर्वाचनका लागि आवश्यक तयारी शुरु गरिएको जानकारी निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दिनुभएको  छ । यस सम्बन्धमा राजनीतिक दलका प्रतिनिधिहरुलाई चाँडै बोलाएर फेरि जानकारी दिइने कुरा आयुक्त यादवले बताउनुभयो। '
निर्वाचन गराउनका लागि संविधान, ऐन-कानुनमा समयमै संशोधन हुनु आवश्यक भएको कुरा बताउंदै  आयुक्त यादवले राजनीतिक दलहरुबीच छिट्टै सहमति भै यस सम्बन्धी आवश्यक प्रक्रिया अघि बढ्ने आशा प्रकट गर्नुभयो। 
करिब एक महिनामा निर्वाचन आयोग पदाधिकारीविहीन हुने कुरा स्मरण गराउंदै आयुक्त यादवले यसबारेमा सरकार र दलहरूलाई जानकारी छ, यसो हुँदाहुँदै पनि आयोग पदाधिकारीविहीन हुने अवस्था आयो भने कसरी निर्वाचन हुनसक्ला र? भनी प्रश्न तेर्स्याउनुभयो। 
आयोगले यसअघि नै संविधान तथा ऐन कानुनका संशोधन हुनुपर्ने बुँदा किटान गरी सरकारलाई बुझाइसकेको जानकारी पनि दिनुभयो। 
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र आयुक्त यादवको पदावधि आगामी पुस २६ गते सकिंदैछ।
तस्विर सौजन्य: इकान्तिपुर