युवा पौडीवाज शिरीष गुरुङ सोमबार पनि उत्कृष्ट प्रदर्शन कायम राख्दै दोस्रो एनएसए कप खुला तथा पौडी प्रतियोगितामा कुल १३ स्वर्णमाथि कब्जा जमाउन सफल रहेका छन् ।
अघिल्ला दुई दिन तीन राष्ट्रिय कीर्तिमान कायम गर्दै ८ स्वर्ण जितेका उनले प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन थप पाँच स्वर्ण थपे । साथै उनले दुई नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाए ।
दोस्रो एनएसए कपमा ५ राष्ट्रिय कीर्तिमान बनाएका उनको नाममा अब ६ राष्ट्रिय कीर्तिमान रह्यो ।
त्यस्तै, महिलातर्फ ओलम्पियन श्रेया धितालले पनि आफ्नो राष्ट्रिय कीर्तिमानको समय सुधार गरिन् ।
तेस्रो दिन केन्द्रीय विद्यालयका शिरीषले खुलातर्फ ४ सय मिटर फ्रिस्टाइलको दूरी ४ मिनेट ४७:३८ सेकेन्डमा पूरा गर्दै नयाँ रेकर्ड राखे । उनले यसअघि काठमाडौंमा सम्पन्न आठौं साफ गेममा श्यामबहादुर गुरुङको नाममा रहेको ४ मिनेट ५८:२५ सेकेन्डको रेकर्ड तोडे । आर्मीका रुद्र कटुवाल दोस्रो तथा विसन क्षेत्री तेस्रो बने । प्रतियोगितामा पाँचौं तथा व्यक्तिगत छैटौं राष्ट्रिय रेकर्ड राख्ने क्रममा उनले २ सय मिटर ब्याकस्ट्रोकतर्फ पुष्पराज शाहीको पुरानो रेकर्ड भंग गरे । उनले २ मिनेट ४३:१० सेकेन्डमा दूरी पूरा गर्दै २ मिनेट ४५:५९ सेकेन्डको रेकर्डलाई पछि पारे । गोल्डेनगेटका मिराज प्रजापति दोस्रो तथा आर्मीका चित्रबहादुर पौडेल तेस्रो स्थानमा रहे । यसअघि प्रतियोगितामा शिरीषले खुला ४ सय मिटर इन्डिभिजुअल मिड्ले, २ सय मिटर बटरफ्लाइ र २ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान राखेका थिए । 'सफलताको श्रेय मेरी आमा र मलाई सहयोग गर्ने सबैलाई दिन चाहन्छु,' शिरीषले भने, 'दसैं रमाइलो हुने भयो । अझ थप राम्रो गर्ने प्रेरणा जागेको छ । अब दक्षिण एसियालीस्तरमा पदक जित्ने प्रयास गर्ने छु ।' श्रेयाले भने उमेर समूहमा आफ्नो पहिलेको कीर्तिमानी प्रदर्शनमा सुधार गरिन् । उनले महिला ५० मिटर बटरफ्लाइमा दूरी ३४:६० सेकेन्डमा पूरा गरिन् । यसअघि उनले ११ औं ग्यालेक्सी पौडीमा ३४:७५ को राष्ट्रिय रेकर्ड राखेकी थिइन् । उनले तेस्रो दिन थप दुई स्वर्ण जित्दै प्रतियोगितामा व्यक्तिगत स्वर्ण संख्या पाँच पुर्याएर उत्कृष्ट महिला खेलाडी पनि बनिन् । उनीसँगै ओसिना भारती र अञ्जली स्याङ्वोले पनि समान ५ स्वर्ण जितेका छन् । श्रेयाले ५० मिटर फ्रिस्टाइलको खुलामा ३२:३८ सेकेन्डमा दूरी पूरा गर्दै अर्को स्वर्ण जितिन् भने ५० मिटर बटरफ्लाइमा पनि ३४:६३ सेकेन्डमा दूरी पूरा गरिन् ।
पुरुषतर्फ उत्कृष्ट बनेका शिरीष प्रतियोगितामा सहभागिता जनाएका १४ मध्ये खुलातर्फ ५० मिटर फ्रिस्टाइलमा भने चौथो स्थानमा रहे । उक्त स्पर्धामा सेनाका दिलीप थापामगर पहिलो बने । उनले खुलातर्फ नौ स्वर्ण आफ्नो पोल्टामा पारेका थिए । आफ्नो र्फममा रहेका शिरीषले खुलाको सय मिटर बटरफ्लाइ तथा उमेर समूहमा १४ वर्षको ५० मिटर ब्याकस्ट्रोक र ब्रेस्टस्ट्रोकमा पनि पहिलो स्थान हासिल गरे । खुलाको ५० मिटर ब्रेस्टस्ट्रोकमा ब्रिटिस स्कुलकी अञ्जली स्याङ्वो तथा पुरुष ५० मिटर ब्याकस्ट्रोकमा गोल्डेनगेटका जयन्तप्रकाश गुरुङले स्वर्ण हात पारे । तीन दिन सञ्चालन भएको प्रतियोगितामा ६० महिलासहित १ सय ८१ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको समापनको अवसरमा ओलम्पिकमा सहभागी र राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।