नेपाली कांग्रेस र नेकपा एमालेलगायतका विपक्षी दलले सरकारले ल्याउन लागेको बजेट रोक्न माग गर्दै राष्ट्रपति समक्ष बिहीबार साँझ ज्ञापनपत्र बुझाएका छन् । सरकारले ल्याउन लागेको आर्थिक अध्यादेशलाई स्वीकार नगर्न माग गर्दै विपक्षी दलका नेता तथा प्रतिनिधिहरु राष्ट्रपति कार्यालय पुगेका थिए ।
कांग्रेस मुख्यालय सानेपामा भएको बैठकलगत्तै कांग्रेस, एमालेलगायतका विपक्षी दलका नेताहरु राष्ट्रपति कार्यालय पुगेका हुन् ।
यसैबीच, राष्ट्रपतिले 'कु' गर्न खोजेको हल्ला चलाएर सरकारले धम्क्याएको आरोप विपक्षी गठबन्धनमा रहेका १९ दलले लगाएका छन ।
कांग्रेस मुख्यालय सानेपामा बिहीबार बसेको बैठकले अध्यादेशबाट बजेट पारित गराउन राष्ट्रपतिलाई दबाब दिन 'कु'को हल्ला चलाएको ठहर गरेको हो ।
'राष्ट्रपति जस्तो सम्मानित पदलाई लांछित गर्दै कू को निराधार हल्ला चलाएर जसरी पनि अध्यादेशबाट बजेट पारित गराउन अहंकार र धम्कीको भरमा दवाव सिर्जना गर्ने निकृष्ट चाल चलिरहेको निष्कर्ष बैठकले निकालेको छ,' बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, 'यस वर्तमान गम्भीर संवैधानिक र राजनीतिक संकटको घडीमा सरकार सत्ताको दुरुपयोग गर्दै अनुचित दवाव र धम्कीको बलमा एकतर्फी रुपमा बजेट ल्याउने कार्यमा प्रयत्नरत छ ।'
बैठकले राजनीतिक सहमति विपरीत दवाव र धम्की दिएर बजेट अध्यादेश ल्याउने सरकारको तयारी बिफल पार्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
No comments:
Post a Comment