Sunday, October 2, 2022

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदैछ।

 उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।

 परम्परानुसार, गोरखा दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ।  सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित ६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर ल्याउने चलन छ।  

हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो  फूलपाती हनुमानढोकास्थित दशैं-घरमा ल्याउँछ। फूलपाती लिन ब्याण्ड-बाजा, गुरुज्यूको पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली, सांस्कृतिक नाच-गान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन। 

नेपाली सेनाद्वारा टुंडिखेलमा आयोजित बढाइँ  समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपातीलाई हनुमानढोकामा भित्र्याइञ्छ।

 फूलपाती के हो

फूल भनेको बोट-बिरुवामा फल लाग्नुअघि निस्कने मनोहर एबम् सुकोमल अङ्ग-पुष्प हो भने पाती (पत्र) भनेको पात र विरुवा हो।  

नवरात्रिको सातौं दिन अर्थात् सप्तमीको पूजाका साथसाथ दशैं-घरमा नौ प्रकारका फूल-पत्र भित्र्याउने चलन नेपालमा छ। यसैले दशैंको सातौं दिनलाई सप्तमी मात्र नभनिकन फूलपाती पनि भन्ने चलन छ, नेपालमा।  

नौवटा मसला सम्मिलित फूलपातीलाई नवपत्रिका भनिन्छ। नवपत्रिकामा केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, मनवृक्ष  र हलेदो अनि कचुकी पर्दछन।  

केराको बोटले शान्तिदात्री ब्राह्मणीको प्रतिनिधित्व गर्दछ भने दारिमले रक्त-दन्तिका देवीको, जसले आफ्ना भक्तजनलाई सहयोग गर्नुहुन्छ।  त्यसैगरी, धानको बालामा सम्रिद्धिकी देवी लक्ष्मी बास गर्नुहुन्छ भने हलेदोमा देवी दुर्गा रहनुहुन्छ जसले बाधा-अबरोध हटाउनुहुन्छ। दुष्टात्माको अन्त्य गर्ने देवी चामुन्डा मनवृक्षमा विराजमान हुनुहुन्छ, अनि मानव जातिलाई बरदान दिने देवी कालि अदुवामा बास गर्नुहुन्छ। भगवान शिव बेलमा बस्नुन्छ भने देवी शोकरहिता अशोकको वृक्षमा, अनि जयन्तीले भगवती कार्तिकिको प्रतिनिधित्व गर्दछ।  

या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।  

तस्विर सौजन्य: गुगल 

 

नवरात्रिको साताैं दिन आज देवी कालरात्रीको पूजा-आराधना गरिंदै

 या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।  

 

नवरात्रिको साताैं दिन आज अधिराज्यभरि देवी कालरात्रिको पूजा-आराधना गरिदैछ। चारवटा हात भएकी देवी कालरात्री गधामा विराजमान हुनुहुन्छ। उहाँका दाहिने हात अभय र बरदा मुद्रामा छन् भेन देब्रे हातमा खुँडा र फलामको अंकुशे छ। कालरात्रि देवी पार्वतीको सबैभन्दा भयानक रूप भए पनि उहाँ आफ्ना भक्तजनहरुलाई अभय र बरदा मुद्रा प्रदान गर्नुहुन्छ। उहाँको भयानक स्वरूपमा  निहित शुभ र पवित्र मंगलकारी शक्तिका कारण कालरात्रि देवीलाई शुभंकारी देविका रूपमा पनि चिनिन्छ।     

 

माता कालरात्रिको वर्ण रात्रिसमान कालाे छ, तर त्यस्ताे वर्ण भएकी माता कालरात्रि अन्धकारलार्इ नाश गर्नुहुन्छ। दुष्टहरू अथवा राक्षसहरूकाे अन्त गर्ने माता दुर्गाको यो रूप देख्नमा अत्यन्त भयङ्कर भए पनि उहाँले फल भने शुभ दिनुहुन्छ। यसैले उहाँलार्इ माता "शुभंकरी" पनि भनिन्छ। माता कालरात्रिका अाँखा ब्रह्माण्डजस्ता गोलागाेला छन। हरेक श्वासका साथ माताकाे नासिकाबाट अग्निका ज्वालाहरू निस्किरहन्छन। अाफ्ना चारमध्ये एक हातमा खुँडा, अर्काेमा लाैह अस्त्रअंकुशे लिएकी, अनि अन्य दुइ हातमध्ये एक अभय मुद्रा अनि अर्काे वर मुद्रामा व्यस्त रहने माता कालरात्रि अाफ्नाे वाहन गर्दभ अर्थात गदामा सवार हुनुहुन्छ।

 

नवरात्रिकाे साताैं दिन माता कालरात्रिकाे उपासना तलकाे मन्त्रका साथ गरिन्छ-

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

 

माता कालरात्रिकाे पूजाका लागि उपयोगी खाद्य साम्रग्री: सप्तमी तिथिकाे दिन भगवतीकाे पूजामा गुँड़को नैवेद्य अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ। यसाे गर्नाले पुरुष शोकमुक्त हुनसक्दछ भन्ने मान्यता रहिअाएकाे छ।


माता कालरात्रिकाे पूजा गर्नाले मनुष्यले समस्त सिद्धि प्राप्त गर्नसक्छ भन्ने मान्यता विशेषतः रहिअाएकाे छ। माता कालरात्रि पराशक्तिहरूकाे साधना गर्ने मानिसहरूबीच निकै प्रशिद्ध हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। छाेटकरीमा भन्नुपर्दा, माता कालरात्रिकाे भक्तिकाे परिणामस्वरूप दुष्टहरूकाे नाश हुन्छ र ग्रहसम्बन्धी बाधाहरू टर्छन भन्ने मान्यता रहिअाएकाे छ।