Sunday, January 27, 2013

भिक्तोरिया अजारेन्कलाई अस्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि


अस्ट्रेलियाली खुला टेनिस प्रतियोगितामा विजय हासिल गरेर बेलारुसकी टेनिस खेलाडी भिक्तोरिया अजारेन्कले आफ्नो अस्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि कायम राखिन। 
यसका साथै उनले विश्व नम्बर एक खेलाडीको उपाधि पनि कायम राखिन। 
प्रतियोगिताको अन्तिम खेलमा अजारेन्कले चीनकी खेलाडी लि नालाई 4-6, 6-4 र 6-3ले पराजित गरेकी हुन।  तस्विर सौजन्य: बिबिसी 

जेठमा निर्वाचन गर्नकै लागि काँग्रेसको नेतृत्व आवश्यक छ:नेकाँ उपसभापति पौडेल


ramchandra poudel

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्वतन्त्र व्यक्तिको नेतृत्वमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनुभएको छ। नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले नेपाली काँग्रेसलाई जिम्मा दिएमा जेठभित्रै निर्वाचन गराई छाड्ने दाबी गरे गर्नुभयो
"जेठमा निर्वाचन गर्नकै लागि काँग्रेसको नेतृत्व आवश्यक छ,"-  भन्नुभयो। चुनाव हुने सर्तमा जसको पनि नेतृत्व स्वीकार गर्नसकिने बताउने एनेकपा (माओवादी) ले काँग्रेसको नेतृत्व स्वीकार गर्नुपर्ने उहाँको भनाइ थियो।
एमाओवादी चुनाव होस् भन्ने पक्षमा नरहेकाले काँग्रेसको नेतृत्व स्वीकार गर्न हिच्किचाइरहेको पौडेलले  रोप लगाउनुभयो
एमाओवादीका नेताहरूले द्वन्द्वका समयमा भएका घटना उठाउँदा काँग्रेस-एमालेका नेताहरू पनि जेल जानुपर्ने कुरा उठाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले आफूहरूले कुनै अपराध नगरेकाले जेल जानु नपर्ने बताउनुभयो
अपराध गर्ने माओवादी नै जेल जानुपर्ने उहाँको भनाइ थियो । 'हामीले मान्छे मारेका छैन' उहाँले भन्नुभयो, 'जसले मान्छे मार्‍यो त्यही जेल जानुपर्छ ।'
मुलुकमा अख्तियार, संसद जस्ता निकाय नभएको समयमा माओवादीले ब्रहृमलुट मच्चाएको पनि उनले आरोप लगाउनुभयोरासस                                                          तस्विर सौजन्य: इकान्तिपुर 

निदरी रातमा सन्ध्या दाहाल, अनिल घिमिरे र सुसन तामांग

द्विपक्षीय पर्यटन प्रवर्धनका लागि नेपालमा चिनियाँ भाषा शिक्षण आबश्यक


नेपाल र चीन दुबै मुलुकले द्विपक्षीय पर्यटन प्रवर्धनका लागि नेपालमा चिनियाँ भाषा शिक्षणको आबश्यकतामा जोड दिएका छन। नेपाल-चीन भाषा तथा संस्कृति आदान-प्रदान एकेडेमी र चिनियाँ अन्तर्राष्ट्रिय रडियो कन्फुसस कक्षा, नेपालको संयुक्त तत्वाबधानमा काठमाडौँमा आयोजित छलफल कार्यक्रममा दुवै पक्षले दुइ छिमेकी बीच विद्यमान भाषागत दूरीलाई कम गर्दैलाने कुरामा एकमत जाहेर गरे। 

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यांग हौलानले नेपाल र चीन बीचको मित्रताका लागि पर्यटन उद्योग महत्वपूर्ण मंच भएको र दुइ छिमेकी बीच संचारको सेतुका रूपमा भाषाले सेवा गर्ने कुरा बताउनुभयो। एक-अर्काको भाषा बुझेमा पर्यटन-यात्रा झन प्रभावकारी हुने विचार व्यक्त गर्दै राजदूत यांगले नेपालमा चिनियाँ भाषा सिकाउनमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र अन्य संस्थाहरुको भूमिका प्रसंसनीय रहेको कुरा बताउनुभयो।

नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले नेपालले चीनबाट धेरै कुरा सिक्नसक्छ, र फस्टाउँदो चिनियाँ अर्थतन्त्रका बारेमा जानकारी हासिल गर्नका लागि भाषाले महत्वपूर्ण भूमिका निर्बाह गर्दछ भन्नुभयो। उदाउँदो चीन ले नेपालको अर्थतन्त्रमा उत्तोलकको भूमिका खेल्नसक्ने भएकाले चिनियाँ भाषा सिकाइ नेपालको राष्ट्रिय आर्थिक विकासको प्रेरक माध्यम बन्नेसक्ने कुरा मुख्य सचिव पौडेलले बताउनुभयो। नेपालले चीनको भावनालाई बुझी उन्नत भविष्यको मार्गमा अघि बढ्नुपर्ने कुरा पनि पौडेलले बताउनुभयो।  

उ चुन थाई नेपालका लागि नयाँ चिनियाँ राजदूत


जन-गणतन्त्र चीन सरकारले उ चुन थाईलाई नेपालका लागि नयाँ चिनियाँ राजदूतमा नियुक्त गरेको छ। श्री उ हाल चिनियाँ विदेश मन्त्रालयमा वाह्य सुरक्षा मामिला विभागका उप-महाप्रबन्धक हुनुहुन्छ। 

चीन सरकारले यसै हप्ता नेपालका लागि आफ्ना राजदूत यांग होलानलाई उहाँको तीन वर्षे कार्यावधि सकिनुअगावै फिर्ता बोलाएको थियो। 

जन-गणतन्त्र चीनको राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको पछिल्लो निर्णयपछि उहाँलाई समय अगावै बोलाइएको थाहा भएको छ। 

सुरक्षा विशेषज्ञका रुपमा परिचित होलान सन् दुइ हजार एघारको जुनमा नेपालका लागि चिनियाँ राजदूतका हैसियतमा नेपाल आउनुभएको थियो। 

चीन सरकारले यस अघिका चिनियाँ राजदूत छ्यु कुओ हुङ्गलाई पनि उहाँको कार्यवधि सकिनुअगावै फिर्ता बोलाएको थियो। 

काठमाडौँको सडक ठूलो हुँदा जनताकै शिर उच्च हुने : सचिव बाँस्कोटा


नेपाल सरकारले काठमाडौँलाई ऐतिहासिक र विश्वकै मन जित्ने राजधानी बनाउने अवधारणा अघि सारेर त्यसको गुरु योजना तयार गर्नका लागि काठमाडौँ उपत्यका प्राधिकरण गठन गरिसकेको छ। त्यसका लागि काठमाडौँ उपत्यकाका सडक विस्तार सँगसँगै हरियाली काठमाडौँको समेत अवधारणा अघि सारिएको छ। विस्तार गर्न लागिएका कतिपय सडकहरू साइकल लेनसहित अपाङ्गमैत्री हुने छन्।

तथापि केही कूटनीतिक नियोगले समयमा आवश्यक निर्णय गर्न ढिलाइ गरेका कारण काठमाडौँ उपत्यकाका केही ठाउँमा सडक विस्तारको काम प्रभावित भएको देखिएको छ। स्विस् राजदूतावासले भने आफ्नो जमिन छोडदिएर जहाँ जति सरकारको नीति हो, त्योअनुसार आफ्नो पर्खाल सारिसके तापनि अमेरिकन, रसियन, चिनियाँ र इटालियन दूतावासका कारण केही समस्या देखिएको सरकारी अधिकारीले स्वीकारेका छन।

सडक विस्तारको क्रममा सम्बन्धित दूतावासलाई पर्खाललगायतका संरचना सार्न ध्यानाकर्षण गरिसकेको भए पनि उनीहरूले हालसम्म सडकको मापदण्डभित्र परेका ती आफ्ना संरचना हटाएका छैनन। समयमा ती दूतावासले संरचना नहटाइ दिँदा त्यस्ता कूटनीतिक नियोग रहेको ठाउँमा सडक विस्तारमा केही हदसम्म समस्या देखिएको छ। अमेरिका, चीन, रसियालगायतका मुलुक नेपालको अत्यन्त घनिष्ट मित्रका रूपमा रहनुका साथै नेपालको विकासका लागि उनीहरूले महत्वपूर्ण योगदान गर्दैआएका छन।
सरकारले ती दूतावाससँग यस विषयमा छलफल र समन्वय गर्न  परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई निर्देशन दिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सचिव कृष्णहरि बाँस्कोटाले दिनुभयो।
बेलायती सहयोग नियोग डिएफआइडीले भने  सरकारले गरेको अनुरोधलाई सकारात्मक ढङ्गले लिएर आफ्नो पुरानो पर्खाल भत्काएर सडकलाई आवश्यक पर्ने मापदण्डबमोजिमको जग्गा छाडिसकेको जानकारी सचिव बाँस्कोटाले दिनुभयो।
काठमाडौँ उपत्यकाको सडक विस्तारको क्रममा परेको जग्गाको कसैलाई पनि मुआब्जा सरकारले दिएको छैन, यो विस्तारको सिद्धान्त मुआब्जा दिएर बाटो विस्तार गर्ने होइन, तर पनि आम नागरिकको अग्रभागको कट्टा भएर सडकमा जाने जग्गा र संरचनालाई पछाडि सार्दा लाग्ने मूल्यको सामान्य क्षतिपूर्तिवापतको खर्च दिइएको छ, पुरै घर-जग्गा सडकमा परेर सुकुम्बासी हुनेलाई केही राहतस्वरूप क्षतिपूर्ति दिइएको, कहीँ कतै भत्केका संरचनामा नयाँ बनाउँदा गर्नुपर्ने नक्सा पासवापतको दस्तुर नलिने र ठूलो पर्खाल बनाउनुपर्ने ठाउँमा सरकार स्वयमले बनाइदिने तर रकम नदिने सरकारको नीति रहेको जानकारी उहाँले दिनुभयो।
भत्काइएका संरचनालाई हटाएर छ महिना, १० महिना र १८ महिनामा सक्ने गरी तीन खाले समय तोकेर सडक निर्माणका लागि सरकारले ठेक्का दिएको छ।
छिटो निर्माण गर्ने ठेकेदार र सरकारी इन्जिनियरलाई पुरस्कार दिने नीति भएकाले निर्माणको कामलाई तीव्रताका साथ गर्न उत्प्रेरित तथा प्रोत्साहित गर्ने काम भइरहेको छ। यस वर्षको अन्त्यसम्ममा काठमाडौँमा विस्तार हुने भनिएका सडकहरू कालोपत्रे भइसक्ने दाबी सचिव बाँस्कोटाले गर्नुभयो।
पुस र माघ महिनामा अत्यधिक चिसो भएकाले कालोपत्रे गर्न नमिल्ने हुँदा काम रोकिएको बताइएको छ। पछिल्लो समय भौतिक योजना तथा निर्माण मन्त्रीलगायत सम्बन्धित निकायका पदाधिकारीले नियमित रूपमा विस्तारको क्रममा रहेको सडकको अनुगमन गर्नाले तोकिएको समयमै निर्माण पूरा हुने अपेक्षा गरिएको छ।
सडक विस्तारको क्रमसँगसँगै नयाँ बानेश्वर चोकमा प्रत्येक दिन एकलाखको हाराहारीमा सडक काट्ने भएकाले त्यहाँ फ्लाइओभर बनाउने कामको लागि अन्तिम चरणमा छलफल भइरहेको बताइएको छ ।
अझै पनि कतिपय स्थानमा टेलिफोनका क्याविनेट, विद्युतको ट्रान्सफरमर, मन्दिर र शालिकले गर्दा सडक विस्तारको काममा अबरोध भैरहेको छ। त्यस्तै केही ठाउँमा तोकिएको सीमाङ्कनको विषयमा समस्या देखिएको पाइएको छ।
कहीँ कतै भने सडक छेउमा व्यक्तिले निर्माण गरेको पर्खाल ठूलो भएर फुटफाथ सानो देखिएको समेत भेटिएको छ। सरकारले फुटफाथ कम्तिमा दुई मिटरको हुनुपर्ने मापदण्ड तोकेको छ।
उपत्यकाको २०० किलोमिटर सडक अहिले विस्तारको क्रममा छ। सोमध्ये कतिपय बाटाहरु कालोपत्रे गरिसकिएको छ भने कतिपय कालोपत्रे गर्ने अन्तिम अवस्थामा छन। केही ठाउँमा फुटपाथ बनेपछि  तुरुन्तै कालोपत्रे गर्नसकिने अवस्थामा छन। केही स्थानमा भने अझै पनि ढलको काम भइरहेकाले सो काम सकिनासाथ पक्की गरिने छ।
काठमाडौँ उपत्यकाभित्रका सडक विस्तार गर्ने सरकारको नीतिअनुसार हालको चक्रपथको स्तरोन्नति गरेर आठ लेन चौडा बनाउने कामको थालनी भइसकेको छ।
चिनियाँ सरकारको सहयोगमा पहिलो चरणमा चक्रपथ विस्तारको काम कोटेश्वरदेखि सातदोबाटो हुँदै कलङ्कीसम्म गरिनेछ।
सडक विस्तारमा भइरहेको काम र  प्रगतिका बारेमा जानकारी लिन सचिव बाँस्कोटाको नेतृत्वमा रहेको टोलीले आज उपत्यकाका विभिन्न सडकको अवलोकन गर्‍यो। टोलीले हालसम्म भएको प्रगतिको समीक्षा गरी सन्तोषजनक ढङ्गले काम भइरहेको प्रतिक्रियासमेत दिएको छ।
सचिव बाँस्कोटाले काठमाडौँबासीलाई सडक विस्तार गर्ने सरकारले लिएको अभियान आमजनताकै अभियान हो, काठमाडौँको सडक ठूलो हुँदा जनताकै शिर उच्च  हुने हो, यसमा कुनै किसिमले मन सानो नगरौँ, सडक ठूलो हुँदा मूल्य पनि बढ्छ, भत्काइएका संरचनापछि नयाँ बनेका घर र ठूला सडकले काठमाडौँ सुन्दर देखिएकाले यसमा सहयोग गर्न आह्वानसमेत गर्नुभयो।
सडक विस्तारमा संलग्न निकायका सरकारी अधिकारीहरू भन्छन्– “जुन बेला घर भत्किएको थियो त्यो बेला चित्त दुखेको भए पनि अहिले बाटो ठूलो भएको, भत्काइसकेपछि घर नयाँ बनाएकाले काठमाडौँ अहिले एकदमै नयाँ, फुटफाथ पनि नयाँ, घरपनि नयाँ, पिच पनि नयाँ, बाटो पनि ठूलो चौडा भएको हुनाले काठमाडौँको मुहार नै परिवर्तन आएको छ।”
उनीहरूको विचारमा आगामी दुई/चार महिनामै काठमाडौं नयाँ रूपमा प्रस्तुत हुनेछ। रासस