Wednesday, December 12, 2012

भेनेजुएलाका राष्ट्रपति हुगो चावेसको सफल शल्यक्रिया


क्युबाका शल्य-चिकित्सकहरुले भेनेजुएलाका राष्ट्रपति हुगो चावेसको शल्यक्रिया गरेकाछन। सन् 2011 को जुन महिनादेखि यता क्यान्सर सम्बन्धी चौथो शल्यक्रिया गराउनुभएका  चावेसको शरिरबाट चिकित्सकहरुले क्यान्सर लागेको अङ्ग हटाएको जानकारी उपराष्ट्रपति निकोलस मदुरोले दिनुभयो। 

सफल शल्यक्रियापछि बोल्दै चावेसले पहिलो पटक भेनेजुएलाका  सम्भावित भावी राष्ट्रपतिको नाम उच्चारण गर्नुभयो। आफ्ना सहयोगी उपराष्ट्रपति निकोलस मदुरो नया राष्ट्रपति बन्नसक्ने उहाँले बताउनुभयो।

तस्विर सौजन्य: बिबिसी 

सितार बादक रवि शंकरको बयानब्बे वर्षको उमेरमा निधन


भारतका लोकप्रिय सितार बादक रवि शंकरको बयानब्बे वर्षको उमेरमा निधन भएको छ। सान डिएगोस्थित स्क्रिप स्मारक अस्पतालमा भर्ना भएका रविले शल्य क्रियापछि पूर्ण स्वास्थ्य लाभ गर्न नसकेको जानकारी परिवारजनले दिएका छन्।   
संगीत टोली बिटल्ससङ्ग सम्बन्धित भएर रवि शंकरले विश्वभरि मान्यता पाएका थिए। 
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले रवि शंकरलाई भारतका राष्ट्रिय निधि र भारतीय सांस्कृतिक सम्पदाका विश्वब्यापी दूतको रुपमा प्रसंसा गर्नुभएको छ। तस्विर सौजन्य: बिबिसी

महिलालाई दुर्व्यबहारबाट बचाउन कडाईका साथ लाग्ने: सचिव कृष्णहरि बाँस्कोटा


नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री छँदा ब्यापारीहरुका गोदाममा सरकारले छापा मार्ने खबर अघिल्लै दिन प्रसार गराएर भोलिपल्ट कर्मचारी पठाएपछि हिस्स बुढी खिस्स=== भएको थियो। त्यसो भएको झन्डै बाइस वर्षसम्म पनि सरकारमा बस्नेहरुको बुद्धी पलाएको देखिएन। फेरि अग्रिमरुपमा समाचार सार्बजनिक गरियो- 'सरकारले सादा पोशाकका प्रहरी परिचालन गर्नेभएको छ' भनेर। विशेष गरी उपत्यकाका सवारी साधनमा यात्रीहरुको चाप हुने र पुरुष यात्रीले महिला यात्रीप्रति दुर्व्यबहार गरेको उजुरी बढेपछि प्रधानमन्त्री कार्यालयले यात्रुको भेषमा महिला प्रहरी खटाउन लागेको बताइएको छ। यसरी कहिलेसम्म पो सुधारको अवस्था कायम रहला र!
प्रधानमन्त्री कार्यालयकाअनुसार, यस सन्दर्भमा अन्तर-मन्त्रालय स्तरीय बैठकले 'सार्वजनिक यातायात आचार संहिता' बनाएको छ । खचाखच भरिएको बसमा महिला यात्रुलाई नियतबस धकेल्ने, हात चिप्लिए जस्तो गरेर छुने जस्ता क्रियाकलाप हुनेगरेका छन् । यस्ता क्रियाकलापलाई नियन्त्रण गर्नका लागि प्रहरी परिचालनको तयारी भएको कुरा महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआइजी नवराज ढकालले बताउनुभएको छ। लैङगिक हिंसा अन्त्यका लागि शून्य सहनशीलता विषयक गोष्ठीमा बोल्दै उहाँले 'कुनै पनि दुर्व्यबहार रोक्न प्रहरी प्रतिवद्ध छ' भन्नुभयो।
प्रधानमन्त्री कार्यालयका जनसरोकार सचिव कृष्णहरि बाँस्कोटाले महिलाहरुलाई यस्ता दुर्व्यबहारबाट बचाउन आफू कडाईका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दुव्र्यवहार गर्ने व्यक्तिलाई तुरुन्त पक्राउ गरी सार्वजानिक अपराध ऐनबमोजिम मुद्दा चलाइने कुरा सचिव बाँस्कोटाले बताउनुभयो। 
सरकारले तयार गरेको आचार संहितामा उल्लेख भएअनुसार, सवारीका सहयोगी र चालक अनि सहयात्री पुरुषले समेत महिलासँग शिष्ट र सभ्य भाषामा कुरा गर्नुपर्नेछ।  
आचार संहिताअनुसार, सवारी साधनभित्र बसेर धूमपान गर्न पाइनेछैन । त्यसो गरे तुरुन्त ओरालिनेछ । सार्वजानिक सवारी साधनमा अश्लिल, महिला बिरुद्धका उद्धरणहरु लेख्न, लेखाउन पाइनेछैन । अश्लिल चित्र र पोष्टर टाँस्न समेत आचारसंहिताले प्रतिवन्ध लगाएको छ । लैङगिक हिंसालाई प्रोत्साहित गर्ने वा महिला बर्गको अपमान हुने खालको गीत-संगित र भिडियो बजाउन पाइनेछैन।
लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा महानगरीय प्रहरी आयुक्तको कार्यालयले गरेको छलफलमा सहभागीहरुले भाडाका सवारी साधनमा महिलामाथी हिंसा हुनेगरेको गुनासो गर्दै त्यस्ता घटना रोक्न प्रहरीलाई आग्रह गरेका थिए ।
आशा गरौँ, यो अभियान पनि प्रचारमै सिमित नहोस!


आज बाला चतुर्दशी तिथि- आफ्ना दिबंगतआमा-बाबुको स्मृतिमा छोरा-छोरीद्वारा सदमी छर्ने कार्य सम्पन्न


आज बाला चतुर्दशी तिथि- आफ्ना आमा-बाबु दिबंगत भएका छोरा-छोरीले काठमाडौँ पशुपति क्षेत्रको कैलाश र श्लेषमान्तक वनमा गई मृतक आमा-बाबुका नाममा सप्त-धान्ययुक्त सत बीज छरे। 

धान, गहुँ, जौ, मास, मुंग, कागुनु र सामालगायतका सात प्रकारका अनाजका बीऊ मिसाएर बनाइएको सत बीज बाला चतुर्दशीका दिन पितृका नाममा छर्दा पितृले सद्गति प्राप्त गर्दछन् र आफ्ना सन्ततिलाई धनधान्यले सम्पन्न हुने आशिर्वाद दिन्छन भन्ने धार्मिक विश्वास रहिआएको छ। 

सात बीज छर्नुअघि भक्तजनहरु अघिल्लो दिनदेखि नै पशुपति क्षेत्र पुगी रातभरि महाद्वीप बाली भजन-किर्तन गरेर जाग्राम बस्ने र बिहान सबेरै बागमतिमा स्नान गरी सत बीज छर्ने चलन छ।

काठमाडौँका अतिरिक्त उपत्यका बाहिरका शिव मन्दिरहरुमा पनि आज सत बीज छर्ने कार्य सम्पन्न भयो। 


अमेरिकाद्वारा सिरियाली प्रतिपक्षी गठबन्धनलाई मान्यता: ओबामा


अमेरिकाले सिरियाको प्रतिपक्षी विद्रोही गठबन्धनलाई सिरियाली जनताको वैधानिक प्रतिनिधिका रुपमा स्वीकार गर्दै त्यसलाई औपचारिक रुपमा मान्यता दिएको छ। अमेरिकी टेलिविजन एबिसी समाचारमा बोल्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले यस गठबन्धनको समाबेशीकरण, प्रतिबिम्बिकरण र प्रतिनिधित्व अमेरिकालाई यस्तो ठूलो निर्णय लिनका लागि पर्याप्त भएको बताउनुभयो। यस गठबन्धनले सिरियाली जनताको प्रतिनिधित्व गर्ने अधिकार हासिल गरेको कुरा बताउदै ओबामाले सतर्क पनि गराउनुभयो। 

श्री ओबामाले सिरियाको स्थितिका बारेमा छलफल गर्न बुधबार मोरक्कोमा बस्ने विश्वका सत्तरी देशका विदेशमन्त्रीहरुको सम्मेलनलाई आग्रह गर्नुभयो।

बेलायत, फ्रान्स, टर्की र खाडी राष्ट्रहरुले सिरियाली प्रतिपक्षी विद्रोही गठबन्धनलाई सिरियाली जनताको वैधानिक प्रतिनिधिका रुपमा मान्यता दिइसकेको कुरा बिबिसीले जनाएको छ। 

सिरियामा राष्ट्रपति बसर अल-असदको सरकार विरुद्ध करिब अठार महिनाअघि शुरु भएको गृहयुद्धमा करिब चालिस हजार मानिस मारिएको दाबी मानव अधिकारकर्मी संस्थाहरुले गरेका छन्।

मेरो विचार: अमेरिका र यूरोपका यी बलिया राष्ट्रहरुले मिलेर विश्वमा दादागिरी मच्चाइरहेको वास्तविकता यिनीहरु आफै पनि अवश्य स्वीकार गर्दछन। यिनीहरुको राजनीतिक निर्देशन र दिशाबोधलाई स्वीकार नगर्ने विश्वका कुनै पनि राष्ट्रका सन्दर्भमा यस्ता निर्णय गर्दा यिनीहरुले गरे प्रजातन्त्र र मानव अधिकार, अरुले गरे अर्काको आन्तरिक मामिलामा हस्तक्षेप हुनेगर्दछ। सद्दाम हुसेनले आफ्नो मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि छयासी जना सत्ता विरोधी आफ्ना नागरिकलाई मार्दा आम-हत्या भयो, मानव अधिकारको निहुँमा सात समुद्र पारिबाट आएकाहरुले अर्काको देशका लाखौं निर्दोष नागरिकको हत्या गर्दा त्यो प्रजातन्त्र भयो। यस्तै भयो लिबियामा, मोरक्कोमा, इजिप्टमा; यस्तै भैरहेको छ सिरियामा, प्यालेस्टाइनमा, अफगानिस्तानमा...  विश्वको हालको अवस्था यस्तै रहिरहने हो भने केही दशकपछि, सतकपछि विश्वमा एउटा मात्रै धार रहनेछ- अमेरिकी-यूरोपेली धार। र यही धार विश्वमा सर्बश्रेष्ठ प्रजातान्त्रिक धार कहलाउने छ, जसमा एक मात्र तानाशाहले, अथवा तानाशाहहरुको समूहले आदेश दिनेछ, अरु सबैले अनुसरण गर्नेछन, र यसैलाई प्रजातन्त्र र मानव अधिकारको नमूना विश्व व्यवस्था भनिने छ।   
तस्विर सौजन्य: बिबिसी /गुगल 

उत्तर कोरियाले रकेट प्रक्षेपण: पृथ्वीको कक्षामा भू-उपग्रह स्थापित गरेको दावी


उत्तर कोरियाले सफलतापूर्बक रकेट प्रक्षेपण गरेको छ। स्थानीय समयअनुसार विहान नौ बजेर उनन्चास मिनेटमा प्रक्षेपण गरिएको सो रकेटले पृथ्वीको कक्षामा भू-उपग्रह स्थापित गरेको कुरा उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ। 

अन्तर्राष्ट्रिय चेतावनीको बेवास्ता गर्दै गरिएको त्यस प्रक्षेपणको अमेरिका, जापान र दक्षिण कोरियाले विरोध गरेका छन। उत्तर कोरियाको छिमेकी र अमेरिकाले यस प्रक्षेपणलाई लामो दूरीको क्षेप्याश्त्रको विकासका लागि गोप्य कार्यक्रम भनेका छन। जापानले यस घटनाको विरोध गरेको छ भने दक्षिण कोरियाले आकस्मिक बैठक बोलाएको छ। 

यो प्रक्षेपण दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचनको एक हप्ताअघि गरिएको छ, र राष्ट्रपति किम जोम-इलको मृत्युको लगभग एक वर्षपछि।

दक्षिण कोरियाली समाचार संस्था योन्हाप्ले प्रथम चरणमा छुट्टिएको रकेटको तल्लो भाग पीत सागरमा खसेको जनाएको छ। जापानले छुट्टिएको रकेटको अधिकांश भाग फिलिपिन्सको पूर्वी भागमा खसेको जनाएको छ। आफ्ना सेनालाई सतर्क अवस्थामा रहन आदेश दिएको जापानले सो रकेट ओकिनावा प्रान्तको केही भागबाट गएको जनाएको छ।    
तस्विर सौजन्य: बिबिसी