Tuesday, November 20, 2012

सरकारद्वारा प्रस्तुत आर्थिक बिधेयक (बजेट) राष्ट्रपति डा रामवरण यादवद्वारा स्वीकृत


सरकारद्वारा प्रस्तुत आर्थिक बिधेयक (बजेट) राष्ट्रपति डा रामवरण यादवले स्वीकृत गर्नुभएको छ। राष्ट्रपति यादवले बजेट स्वीकृत गरेलगत्तै अर्थमन्त्री बर्षमान पुनले बजेट सार्वजनिक  गर्नुभएको छ।

र्थमन्त्री वर्षमान पुनले अहिले अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरिरहनुभएको छ । 

सरकारद्वारा ३ खर्ब ६४ करोड १० लाख ४० हजार रुपियाँको बजेट स्वीकृतिका लागि राष्ट्रपति समक्ष प्रस्तुत


नेपाल सरकारले यस वर्षको बाँकी आठ महिनाका लागि ३ खर्ब ६४ करोड १० लाख ४० हजार रुपियाँको बजेट स्वीकृतिका लागि राष्ट्रपति रामवरण यादव समक्ष प्रस्तुत गरेको छ ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेट मंगलबार नै राष्ट्रपतिलाई बुझाइएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन र मुख्यसचिव लीलामणि पौड्याल मन्त्री परिषद्को बैठकद्वारा पारित बजेट-अध्यादेश बोकेर स्वीकृतिका लागि मङ्सिर पाँच गते साँझ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो।
मन्त्रिपरिषद् बैठकले दिउँसो बाँकी आठ महिनाका लागि गत वर्षको वास्तविक खर्चका आधारमा चालू खर्च गर्ने अधिकारसहितको बजेट -अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । 
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले कात्तिक मसान्तसम्मको एक तृतीयांश बजेट सकिएकाले दुई तिहाइ बजेट ल्याएको जानकारी दिनुभयो।
प्रतिपक्षी दलहरु- नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको बहिर्गमन नभएसम्म बजेट ल्याउन सहमति नजनाउने अडान लिएपछि मन्त्रिपरिषद्ले तृतीयांश प्रकृतिकै विशेष बजेट राष्ट्रपतिसमक्ष पठाएको हो । सरकारले साउनमा एक तृतीयांश बजेट ल्याएको थियो ।

माओवादी अध्यक्षद्वारा राष्ट्रपतिसँग बजेटलगायतका विषयमा छलफल

 नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज राष्ट्रपति रामबरण यादवलाई भेटी राष्ट्रिय बजेट, सरकारको गठन र नयाँ निर्वाचनलगायतका विषयमा छलफल गर्नुभयो। उहाँहरु बीचको यो वार्ता यस्तो बेलामा भएको छ जति बेला राष्ट्रपति यादवले सरकारले बाँकी नौ महिनाका लागि ल्याउनलागेको पूर्ण बजेटलाई रोकीराख्नु भएको छ, र त्यसको साटो तीन महिनाका लागि मात्र बजेट ल्याउन 'निर्देशन दिने काम' गरिरहनुभएको छ। सरकारले यस अघि ल्याएको तीन महिने बजेट सकिएर अब कर्मचारीलाई तलब खुवाउन अप्ठ्यारो पर्नलागेको अवस्थामा प्रजातान्त्रिक गणतन्त्र नेपालका थपना राष्ट्रपतिले नेपाली कांग्रेस र नेकपा एमालेको दबाबमा कार्यकारी सरकारको बजेट ल्याउने अधिकारमाथि कुठाराघात गरिरहनुभएको विचार प्रगतिशील अर्थशास्त्रीहरुले गरिरहेका छन। 

कार्यकारी सरकारको निर्णयलाई राष्ट्रपतिले उल्ट्याउन नसक्ने  प्रावधान हुँदाहुँदै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रचण्डको सरकार ढालेका यादब माओबादी नेतृत्वको अर्को सरकार पनि ढाल्न प्रयासरत देखिनुहुन्छ। अन्यथा आफैले पत्र लेखेर तिमी कामचलाउ भयेउ भनी पत्र थमाएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजिनामा देउ भन्ने कांग्रेस+एमालेलाई राष्ट्रका पतिका हैसियतले  हकार्नुको साटो, बाबुराम सरकार कामचलाउ हो तपाईहरु नयाँ प्रधानमन्त्रीको नाम ल्याएर आउनुस, नयाँ सरकार गठन गर्नुस, बाबुराम सरकार स्वतः बहिर्गमित हुन्छ भन्नुको साटो उल्टै उनीहरुकै दबाबमा परेर बजेट जस्तो राष्ट्रिय महत्वको विषयलाई राजनीतिक हतियार बनाउनेहरुको पक्ष-पोषण हुने काम उहाँबाट हुदैनथ्यो। 

यस्तो विषम अवस्थामा पनि माओवादी अध्यक्ष प्रचण्डले कहिलेइ कांग्रेस सभापति, त कहिलेइ एमाले अध्यक्ष, कहिलेइ माधव नेपाल, त कहिलेइ राष्ट्रपति यादवको ढोका धाएर सहमतिको प्रयास गरिरहनुभएको छ। साधुवाद छ उहाँको धैर्यतालाई, मेलमिलापका लागि लागिपर्ने बानीलाई। यसै क्रममा आज माओवादी अध्यक्ष दाहालले राष्ट्रपति यादवसंगको भेटमा सरकारले पेश गर्नलागेको बजेट अध्यादेशमा सही गर्न आग्रह गर्नुका साथै यसै विषयका कारण सरकार र राष्ट्रपतिबीचको सम्भावित टकरावलाई टार्ने तरिकाबारे छलफल गर्नुभयो।  

यस सरकारको बहिर्गमन विना कुनै सहमति हुननसक्ने अड्डी लिइरहेका कांग्रेस+एमालेहरु सहमति गर्न कुनै पनि हालतमा तयार नभएपछि, बजेट विना राष्ट्र अघि बढ्न नसक्ने भन्दै बाबुराम भट्टराईको सरकारले बजेट अध्यादेश राष्ट्रपति समक्ष  पेश गर्नलागेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेले बाबुराम सरकार बर्खास्त गर्न र राष्ट्रिय एकताको सरकार गठनको बाटो खुला गर्नका लागि आफ्नो अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई अत्यधिक दवाव दिइरहेका छन। 

आफैले पत्र लेखेर तिमी अब कामचलाउ भयेउ भनी पत्र थमाएका प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई के आधारमा बर्खास्त गर्ने भन्ने ठूलो असमन्जसमा हुनुहुन्छ, विचरा राष्ट्रपति। 

अमेरिकामा पशुपतिनाथको मन्दिर बनाइने


अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने प्रयासस्वरुप क्यालिफोर्नियामा पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपको निर्माण गर्नेभएका छन। यस प्रयोजनका लागि लस एन्जलसस्थित पशुपतिनाथ फाउण्डेशनले क्यालिफोर्नियाको नोर्वाक शहरको केनी मार्गअवस्थित बिक्रीमा रहेको गिर्जाघर खरिद गरेको छ। त्यस गिर्जाघर खरिद गर्नका लागि लाग्ने दश लाख पचास हजार अमेरिकी डलर- करिव नौ करोड रुपियाँ- मध्ये पाँच लाख पचास हजार अमेरिकी डलर खरिद प्रक्रियाका क्रममा फाउण्डेशनले नगद बुझाएको छ भने बाँकी रकम बैंकले लगानी गरेको बताइएको छ । 
क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली समुदायले त्यहाँ पशुपतिनाथको मन्दिर र बौद्ध स्तुप निर्माण गर्नका लागि फाउण्डेशनका नामबाट केही र्षअघिदेखि  अभियान नै सन्चालन गरेका थिए। यस क्रममा उनीहरुले श्रीमद भागवत् पुराणदेखि चन्दा संलकनसम्मका कार्य गरेको बताइएको छ। 
'अथक प्रयासपछि फाउण्डेसनको नाममा स्थायी सम्पत्ति जोडिएको छ, अब पशुपतिनाथको मन्दिर र बौद्व स्तुप बन्ने पक्का भएको छ', फाउन्डेशनका प्रथम उपाध्यक्ष गोकुल पौडेलले भन्नुभयो। अब सकेसम्म छिटो नेपाली सांस्कृतिक एवं धार्मिक परम्पराको धरोहर मानिने आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर र बौद्व स्तुप निर्माण गर्नु आफूहरुको प्रमुख दायित्व भएको कुरा पनि उहाँले बताउनुभयो।  
गिर्जाघर खरिदका क्रममा पूरा गर्नुपर्ने आवश्यक कागजी प्रक्रिया सोमबार नै पूरा गरिएको र त्यसमा फाउन्डेशनका अध्यक्ष भक्त थापा, प्रथम उपाध्यक्ष गोकुल ढकाल, कोषाध्यक्ष पुन्नाखर ऋषि ढकाल, सदस्यद्वय एकराज 'नारायण' पाण्डे र राम लामाले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ।  । 
संस्थाका महासचिब प्रेम गुरागाईंद्वारा जारी विज्ञप्तीअनुसार, खरिद गरिएको सो भवनमा एउटा ठुलो भवन साथमा ६ वटाभन्दा बढी कोठा, पूजास्थल, २५० भन्दा बढी सहभागी अटाउने सभा कक्ष, भान्छा कोठा, बच्चाहरु खेल्ने पर्याप्त ठाउँ र तीनवटा शयन कक्ष, दुइवटा स्नानागार  रहेका छन। त्यस गिर्जाघरले ओगटेको जमीन कति छ भन्ने कुरा भने स्पष्ट छैन।
सात समुद्रपारि नेपाली संस्कृति, रिती रिवाज र परम्परालाई निरन्तरता दिने र त्यसको जर्गेना गर्ने प्रवासी नेपालीहरुको सपना अब पुरा हुने कुरा पनि महासचिव गुरागाँईले विज्ञप्तिमा उल्लेख गर्नुभाएको छ । 
तस्विर सौजन्य: इकान्तिपुर