Sunday, December 9, 2012

फिलिपिन्समा हालै आएको समुद्री आँधिका कारण मारिनेहरुको संख्या छ सय बीस

फिलिपिन्समा हालै आएको बोफा नामका समुद्री आँधिका कारण मारिनेहरुको संख्या छ सय बीस पुगेको छ भने बेपत्ता हुनेहरुको संख्या आठ सय नाघेको छ। रहेको आइतबार प्रकाशित सरकारी तथ्याङ्कमा जनाइएको छ । 

नागरिक सुरक्षा प्रमुख बेनिटो रामोसले दिएको   जानकारीअनुसार, समुद्रमा गएका तीन सयजना माझीको कुनै अत्तोपत्ति नलागेपछि मारिनेहरुको संख्या नाटकीय रुपले बढेको हो। 

गत मंगलबार आएको त्यस आँधिले तहसनहस पारेको मिन्डानाओ द्वीपका केही भागमा अझै खोजी कार्य जारी रहेको बताइएको छ। 

आँधि प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी मानिसले सुरक्षित स्थानमा शरण लिइरहेका छन्।

 यसैबीच, आँधि प्रभावित क्षेत्र पुगेको राष्ट्र संघीय सहयोग अनुमान सर्भेक्षण टोलीले मिन्डानाओमा सय प्रतिसत विनाश भएको खबर पठाएको छ। 
तस्वीर-सौजन्य: बिबिसी 

चिनियाँ सुरक्षाकर्मीद्वारा आत्मदाह गर्न उक्साएको आरोपमा एकजना बौद्ध भिक्षु र उनका भतिजालाई गिरफ्तार


चिनियाँ सुरक्षाकर्मीहरुले स्छ्वान प्रान्तमा विरोधस्वरूप आत्मदाह गर्न उक्साएको आरोपमा एकजना बौद्ध भिक्षु र उनका भतिजालाई गिरफ्तार गरेकाछन। 
ती भिक्षुले निर्बासित आध्यात्मिक  नेता दलाई लामाको आदेशअनुसार आफूले प्रदर्शनका लागि उक्साउनुक साथै प्रचार-प्रसार समेत गरेको स्वीकार गरेका जानकारी चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको छ। 
निर्वासित तिब्बतीहरुले भने ती भिक्षुलाई आफूले गरेको भनेर जबर्जस्ती भन्न लगाइएको दाबी गर्दै त्यसमा उनको कुनै संलग्नता नरहेको जिकिर गरेका छन्। 
चीनमा हालै गरिएको कानूनी व्यवस्थामा आत्मदाह गर्ने सघाउनेलाई हत्याको अभियोग लगाउनसकिने प्रावधान छ। 


प्रधामन्त्रीको पद हासिल गर्नकै लागि आफ्ना प्रजातान्त्रिक मूल्य-मान्यताहरु विरुद्ध सम्झौता नगर्ने कांग्रेसको निर्णय


नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले सत्तारुढ गठाबन्धनले प्रस्तुत गरेका शर्तहरु नमान्ने र प्रधामन्त्रीको पद हासिल गर्नकै लागि आफ्ना प्रजातान्त्रिक मूल्य-मान्यताहरु विरुद्ध सम्झौता नगर्ने निर्णय गरेको छ । दलको मुख्यालय सानेपामा बसेको सो बैठकले एकीकृत नेकपा माओवादीले भने जस्तै गरी संविधानका अन्तरवस्तुमा पूर्वसहमति गर्न नसकिने निर्णय समेत गरेको छ ।
सभापति शुशिल कोइरालालाई एमाओवादीसहितको गठबन्धनले प्रधानमन्त्रीका लागि अस्वीकार गरेपछि बसेको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले निर्बाचनअघि यस्तो सहमति गरेमा जनताको सार्वभौम अधिकार कुण्ठित हुनजाने निश्कर्ष पनि निकालेको छ ।

चार वर्षसम्म सहमति जुट्न नसेको संविधान सभाको अन्तर्वस्तुमा चार दिनभित्रै सहमति खोज्ने प्रयास गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको ठहर बैठकले गरेको जानकारी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिनुभयो।
बैठकमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरु-  नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल आदिवासी जनजाति संघको विधानका बारेमा पनि छलफल भएको जानकारी नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीले दिनुभयो। 
बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी., महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, एनपी. साउँद, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी र बद्री पाण्डेले छलफलका क्रममा मन्तब्य व्यक्त गर्नुभएको थियो। 

बीस वर्ष कैद तोकिएका व्यक्ति सेनामा कार्यरत

अदालत ले ज्यान मारेको अभियोगमा २० बर्ष कैद सुनाएको व्यक्ति अदालत को सूचिमा फरार रहे पनि नेपाली सेनामा कार्यरत रहेको रहस्य खुलेको छ ।

तत्कालिन अवस्थामा रामेछापमा रहेको नारायण दल गणबाट सेवा थालेका बिजुलीकोट ७ स्थायी घर भएका तिलक भनिने मिलन लामालाई अदालत ले ज्यान मारेको अभियोगमा २०५९ मा २० वर्ष कैदको फैसला सुनाएको थियो ।
उनी २०६१ सालमा अर्को नाममा नागरिकता बनाएर सेनामा पसेको खुलासा भएको हो । सेनाको नारायण दल गण सिंहदरबारमा कार्यरत लामालाई प्रहरीले ब्यारेकबाट निस्केको अवस्थामा शुक्रबार काठमाडौंको रत्नपार्क नजिकैबाट नियन्त्रणमा लिई शनिबार रामेछाप ल्याएको छ । प्रहरीले आइतबार लामालाई जिल्ला अदालत मा पेश गरी कारागार चलान गरेको छ ।
अदालत बाट दोषी ठहर भएका मध्ये ठूलो  संख्यामा दोषीहरु फरारको सूचीमा रहेको समाचार सार्वजनिक भएपछि फरार अपराधिको खोजीमा प्रहरीले तीन महिनादेखि सक्रियता देखाएकोले यो उपलव्धी हासिल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताए ।
लामालाई नियन्त्रणमा लिन प्रहरीले दुई महिना अघिदेखि सुत्र परिचालन गरेको थियो । काठमाडौंमा रहेका प्रहरी निरीक्षक मानबहादुर राई समेतको टोलीले लामालाई पक्राउ गर्न सफल भएको उनले बताए । यो समेत १२ जना फरार अपराधिलाई पक्राउ गरी कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लामालाई रामेछापको बिजुलीकोट गाविस वडा नं ७ का खड्गबहादुर सुनुवार र धनबहादुर सुनुवारको मिति २०५० साल भदौ १६ गते विजुलीकोटकै खुलु भन्ने स्थानमा हत्या गरी फालेको अभियोगमा दोषि ठहर गरेको हो ।  हत्या गरेको अभियोगमा रामेछाप जिल्ला अदालत ले उनी समेत अन्य २ जनालाई २० बर्षका दरले कैद सजाय सुनाएको थियो ।
उक्त फैसला पछि रामेछाप कारागारमा पुगेका तिलक, लालबहादुर सुनुवार र लोकबहादुर खड्काले पुनरावेदन अदातलमा मुद्दा लडेका थिए । पुनारावेदनअदालत जनकपुरले २०५३ असार ३० गते तिलकलाई २० रुपैंयाँ जरिवाना गरी अन्य २ लाख १० बर्षका दरले जेल सजाय सुनाएको थियो । उक्त फैसलालाई टेकेर तिलक जेलमुक्त भएका थिए ।
तर, जाहेरी वाला उक्त मुद्दा लिएर सर्वोच्च अदालत पुग्दा रामेछाप जिल्लाअदालत को फैसलालाई नै सर्वोच्चको मिति २०५९ जेठ २७ गतेको फैसला सदर गरेपछि तिलक फरार रहेका थिए । तिनै व्यक्ति अदालत बाट फैसला भएको झण्डै तीन बर्ष पछि मिलन लामाको नाममा नागरिकता बनाई नेपाली सेनामा प्रवेश गरेका थिए ।
पुनारावेदन अदालत को फैसला अनुसार रामेछाप कारागारबाट कैद भुक्तान गरी घर फर्केका लोकबहादुर खड्काको मृत्यू भइसकेको छ भने अर्का दोषि लालबहादुर रामेछाप कारागारमा कैद भुक्तान गर्दैआएका छन् ।
साभार-इकान्तिपुर 

अस्वस्थ राजनीतिक वातावरणका कारण महत्वपूर्ण संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति हुन नसक्नु लज्जाको विषय: प्रधानमन्त्री


प्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचार विरुद्ध सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरे पनि देशको राजनीतिक र प्रशासनिक उच्च नेतृत्व तहबाट प्रश्रय पाएकै कारण भ्रष्टाचार रोक्न नसकिएको कुरा बताउनुभएको छ। 
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस-२०१२ का अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै  प्रधानमन्त्री भट्टराईले "उच्च तहबाटै हुने भ्रष्टाचारजन्य गतिविधिलाई रोक्न कठोर कदम नचाली देशलाई भ्रष्टाचारको दलदलबाट मुक्ति दिलाउन सम्भव छैन" भंन्नुयो। प्रधानमन्त्री भट्टराईले उचित कानुनी तथा प्रशासनिक व्यवस्थाका माध्यमबाट जुनसुकै तह र प्रकृतिको भ्रष्टाचारलाई रोकथाम तथा उन्मूलन नगरी समुन्नत र सुसंस्कृत समाजको निर्माण सम्भव छैन भन्नुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्णता दिई भ्रष्टाचार नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन सरकार लागेको जानकारी दिदै उहाँले देशमा विद्यमान राजनीतिक सङ्क्रमण र अस्वस्थ राजनीतिक वातावरणले महत्वपूर्ण संवैधानिक निकायमा नेतृत्वदायी पदाधिकारीको नियुक्ति हुन नसक्नु लज्जाको विषय हो भन्नुभयो।
"संवैधानिक अङ्गहरुमा रिक्त पद पूर्तिका लागि आवश्यक संवैधानिक र कानुनी व्यवधान हटाउन सरकारले झन्डै चार महिनाअघि सिफारिस गरेको आदेश र अध्यादेश अहिलेसम्म जारी हुन नसक्नु ठूलो विडम्बनाको विषय भएको छ", प्रधानमन्त्री भट्टराईले भन्नुभयो।
तस्विर सौजन्य: इकान्तिपुर 

दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति मण्डेला नियमित स्वास्थ्य परिक्षणका लागि अस्पतालमा


दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेला नियमित स्वास्थ्य परिक्षणका लागि राजधानी पेट्रोरियास्थित अस्पतालमा भर्ना हुनुभएको छ।
दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोव जुमाको कार्यालयले जनाएअनुसार, ९४ वर्षीय मण्डेलाको स्वास्थ्य ठीक छ र चिन्ता गर्नुपर्ने कुनै कारण छैन। 
दक्षिण अफ्रिकाको स्वेत अल्पसंख्यक रंगभेदवादी शासनकालमा झन्डै तिन दशक कारागारमा रहनुभएका मण्डेलाले नियमित स्वास्थ्य परिक्षणका लागि समय-समयमा अस्पताल जाने गर्नुभएको छ। 
दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपतिका रुपमा मन्डेलाले 1994 देखि 1999 सम्म सेवा गर्नुभएको छ। उहाँलाई सन् उन्नाइस सय त्रियानब्बेमा नोबेल शान्ति पुरस्कारबाट विभूषित गरिएको छ। 
तस्वीर-सौजन्य: बिबिसी 

पूर्वी अफगानिस्तानमा अपहरण गरिएका अमेरिकी चिकित्सक मुक्त


अफगानी तालिबानद्वारा पूर्वी अफगानिस्तानमा अपहरण गरिएका अमेरिकी चिकित्सकलाई मुक्त गरिएको कुरा अफगानिस्तानमा तैनाथ अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले जनाएको छ। 
दिलिप योसेफ नामका ती चिकित्सकलाई मुक्त गर्ने अभियानमा लागेको अमेरिकी र अफगानी सेनाको संयुक्त टोलीले कारबाहीका क्रममा सातजना अपहरणकर्ताहरुलाई मारेको बताइएको छ। 
अपहरणकारीहरुले ती चिकित्सकलाई मार्ने वा घाइते बनाउनसक्ने गोप्य सूचना प्राप्त भएपछि आफूले कारबाहीका लागि आदेश दिएको कुरा अफगानिस्तानमा अमेरिकी सेनाका उच्च कमान्डर जनरल जोहन अलानले बताउनुभयो। 

भिएतनाममा चीन विरोधी प्रदर्शन तत्कालै रोकियो


क्षेत्रीय समुद्री सीमासम्बन्धी विषयलाई लिएर भिएतनाममा आज आइतबार आयोजना गरिएको चीन विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुलाई प्रहरीले तत्कालै तितरबितर पारेको छ। पेट्रोलिएम पदार्थको खोजीमा लागेको भिएतनामी पानी जहाजको तार चिनियाँ पक्षले काटेको आरोप भिएतनाम सरकारले गत महिना लगाएपछि दुइ पक्ष बीच तनाव बढेको बताइएको छ। 
चिनियाँ नयाँ राहदानीमा दक्षिणी चिनियाँ समुद्रको विवादित जल-क्षेत्रलाई चिनियाँ सीमा-क्षेत्रका रुपमा समावेश गरिएकोमा भिएतनाम असन्तुष्ट भएको बिबिसीले जनाएको छ। यसलाई चिनियाँ अर्घेल्याँइ र विस्तारवाद ठान्ने सयौं मानिसले प्रदर्शनमा भाग लिएका थिए। तर, भिएतनामको सबैभन्दा ठूलो शहर हो चि मिनको प्रदर्शन  पैचालिस मिनेट र राजधानी हनोइको प्रदर्शन आधा घन्टामा रोकिएको थियो। 
भिएतनाम, फिलिपिन्स र ताइवानले चिनियाँ राहदानीमा छापिएको नक्साले आफ्नो सार्बभौमिकताको उल्लङ्घन भएको भन्दै छिन् समक्ष विरोध जनाएको बताइएको छ। 
भिएतनाम र फिलिपिन्सले त नयाँ चिनियाँ राहदानीमा छाप लगाउन अस्वीकार गर्दै छुट्टै कागतमा प्रवेशाज्ञा जारी गर्नेगरेको बिबिसीले जनाएको छ। 
तस्वीर-सौजन्य: बिबिसी