Saturday, January 12, 2013

प्रधानमन्त्रीद्वारा विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका घटनाहरुको छानविन गर्नुपर्ने कुरा स्पष्ट

प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालमा भएका अमानवीय र गैर-न्यायिक हत्याको छानविन गर्न सरकार प्रतिवद्ध रहेको कुरा दोहर्‍याउनुभएको छ। जनताको घरमा बास बस्ने अभियानअन्तर्गत शुक्रबार साँझ ललितपुरको भट्टेडाँडास्थित रामशरण चैरेलको घरमा बास बस्न पुग्नुभएका प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालिन घटनाहरुलाई  जवर्जस्ती छुट्टाछुट्टै खोतल्नखोजिएको खण्डमा कोही पनि अछुतो नरहने र शान्ति प्रक्रिया पनि भाँडिने चेतावनी दिनुभयो। 

क्रान्तिकारी पत्रकार संघ ललितपुरले आज योजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री भट्टराईले यस्ता घटनाहरु एक-एक गरी छानविन गर्दैजाने हो भने तत्कालिन परिस्थितीका लागि जिम्मेवार माओवादीलगायत कांग्रेस, एमाले कोही पनि बाँकी नरहने विचार व्यक्त गर्नुभयो। उहाँले  अन्तरिम संविधानको अंग समेत बनेको विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर यस्ता घटनाहरुको छानविन गर्नुपर्ने कुरा स्पष्ट पर्नुभयो।
प्रधानमन्त्री भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनपछि मात्रै एकमुष्ट रुपमा त्यस्ता घटनाको छानबिन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विरोधीहरुले आफूलाई अपराधीको संरक्षकका रुपमा चिनाएकोमा आक्रोश व्यक्त गर्दै उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले छानविन गरी दोषी ठहर्‍याएकालाई कारबाही गर्दा आफूले आपत्ति नजनाउने कुरा बताउनुभयो।
हरेक महिनाको अन्तिम शुक्रबार देशका ग्रामीण क्षेत्रमा बास बस्ने अभियान थाल्नुभएका प्रधानमन्त्री भट्टराईको ललितपुर भट्टेडाँडा आठौं बास  हो।


चीनको युन्नान प्रान्तको कावपो गाउँमा पहिरो: मारिने मानिसहरुको संख्या छयालीस


चीनको युन्नान प्रान्तको कावपो गाउँमा हिजो विहान गएको पहिरोमा परी मारिने मानिसहरुको संख्या छयालीस पुगेको छ। 
सो पहिरोमा परी हराइरहेका दुइजनाको शव आज विहान फेला परेको सिन्ह्वा समाचार समितिले जनाएको छ। 
सयौं उद्धारकर्ताहरुले अझै पनि दुर्घटनास्थलमा खोजी कार्य जारी राखेको बताइएको छ। 
दुइजना घाइतेलाई अस्पताल पठाइएकोमा उनीहरुको अवस्था बारे थाहा नभएको संचार माध्यमहरुले जनाएका छन। 
प्रभावित गाउँमा गत अक्टुबर महिनामा गएको पहिरोले एउटा प्राथमिक विद्यालयलाई पुर्दा अठारजना बाल-बालिका र एकजना बयास्काको मृत्यु भएको थियो। तस्विर सौजन्य: बिबिसी 
मृतकहरुको चिर शान्तिको कामना!

अष्ट्रेलियाको नर्दन क्वीन्सल्याण्डबाट पपुवा न्यूगिनीका लागि उडेको बिमानमा एउटा ठूलो सर्प


अष्ट्रेलियाको नर्दन क्वीन्सल्याण्डबाट पपुवा न्यूगिनीका लागि उडेको बिमानका यात्रुहरु त्यस बेला आश्चर्यमा परे, जब उनीहरुले आफूसँगै एउटा ठूलो सर्पले पनि त्यही बिमानमा यात्रा गरिरहेको थाहा पाए। धन्न त्यो सर्प बिमानभित्र मानिसहरु बस्ने ठाउँमा नभएर बिमानको पखेटामा थियो।
बिमान कम्पनी क्वानतासका अनुसार, करिब तीन मिटर लामो एकेथिस्टीन प्रजातिको त्यो सर्पले उत्तरी क्वीन्सल्याण्डबाट पपुवा न्यू गिनीको राजधानी पोर्ट मोर्सबीसम्म करीब एक घण्टा यात्रा गर्‍यो।
विमान कम्पनीका प्रवक्ताका अनुसार, शुरुमा एक महिला यात्रुले बिमानको पखेटामा सर्प रहेको सूचना दिएकी थिइन। त्यसपछि यात्रुहरुले सर्प हेर्न र भिडियो खिच्नथाले।
तीस हजार फिटको उचाइमा त्यो सर्प निरन्तररुपमा आफूलाई खस्नबाट जोगाउन प्रयासरत थियो। शून्यभन्दा बाह्र डिग्रीको न्यून तापक्रम र वायुको तीन सय माइल प्रतिघण्टाको बेगमा आफूलाई बचाउन त्यस सर्पले बारम्बार पखेटाभित्र लुक्ने प्रयास गरिरहेको देखिन्थ्यो।
सो बिमानले पपुवा न्यूगिनी बिमास्थलमा अवतरण गरेपछि त्यति बेलासम्म जिवितै रहेको त्यस सर्पलाई नियन्त्रणमा लिइएको कुरा अष्ट्रेलियाली संचारमाध्यमहरुले जनाएका छन।
बिमान कम्पनीसङ्ग सम्बद्ध एकजना इन्जिनियरले बिमान ह्यांकरमा रहेको बेला त्यो सर्प तातो खोज्दै बिमानको पखेटाभित्र पसेको हुनसक्ने अनुमान गरिएको बताएका छन। साभार: अनलाइन खबर 

डोटीको छतिवन गाविस रुपसकाँडामा भएको बस दुर्घटनामा परी मारिनेहरुको संख्या एकतिस


डोटी र डडेलधुरा जिल्लाको सिमानामा पर्ने छतिवन गाविसको रुपसकाँडामा आज राति भएको बस दुर्घटनामा परी मारिनेहरुको संख्या एकतिस पुगेको छ। अछामको जैगढबाट कैलालीको टिकापुरतर्फ जाँदैगरेको ना ४ ख ३६०३ नम्बरको सो बस राति साढे दुइ बजे दुर्घटनाग्रष्त भएको थियो। 
सडकमा जमेको तुसारोका कारण बस चिप्लीएर भएको भनिएको सो दुर्घटनामा परी मारिनेहरुमा तेइसजना पुरुष, सात महिला र एक बालक रहेको जानकारी प्रहरीले दिएको छ। 
दुर्घटना मारिएकामध्ये नौजनाको सनाखत भएको छ भने अन्यको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
सनाखत हुनेहरुमा दैजी गाविस कञ्चनपुरकी २६ वर्षीया पशुपति ठकुल्ला, शिक्षक युनियन अछामका उपाध्यक्ष पवना शाही, कञ्चनपुर दैजी गाविस ६ की कल्पना ठकुल्ला, अछाम देविस्थान गाविस- ६ का कृष्णबहादुर खडका, धनगढी नगरपालीका वडा नं ५ का गगन थापा, अछाम सिद्धेश्वरका टंकबहादुर थापा, अछाम कालागाउँ गाविस ९ का बहादुर सोराडी, कैलाली भजनीका उजली बुढा र अछाम बरदादेवी गाविस ५ की रोशनी ठकुल्ला रहेका छन।
सो दुर्घटनामा गम्भीर घाइते भएका आठजनाको कोहलपुर मेडीकल कलेजमा  र सामान्य घाइते पाँचजनाको कैलालीको अत्तरीया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरी अधिकारी नरबहादुर ऐरले दिएको कुरा एएफपीले जनाएको छ।

फ्रान्सेली सेनाद्वारा सोमालियाका इस्लामिक अतिवादीहरुको आधार शिबिर आक्रमण: बन्दीसहित दुइजनाको मृत्यु


अफ्रिकी राष्ट्र सोमालियामा बन्दी बनाइएका एकजना फ्रान्सेली नागरिकलाई मुक्त गराउन फ्रान्सेली सेनाले त्यहाँ शुरु गरेको कारबाहीमा परी बन्दी बनाइएका नागरिक र एकजना सिपाही मारिएको जानकारी फ्रान्सेली रक्षा मन्त्रालयले दिएको छ। 

हेलिकप्टरको सहायतामा तिब्र कारबाहीमा तालिमप्राप्त कमान्डोले बुलो मारेर नामका शहरमा रहेको इस्लामिक अतिवादीहरुको आधार शिबिर रातिमा गरेको कारबाहीमा परी ती मानिस मारिएको बताइएको छ। 

फ्रान्सेली गुप्तचर सेवामा कार्यरत डेनिस अलेक्स नामका ती नागरिकलाई सन् दुइ हजार नौको जुलाई महिनामा सोमालियाका बिद्रोही समूहहरुले अपहरण गरेका थिए। 

अलेक्ससँगै अपहरणमा परेका एकजना अर्का नागरिकलाई भने बिद्रोहीहरुले अपहरणको अर्को महिना नै मुक्त गरेका थिए। 
फ्रान्सेली सेनाले पश्चिम अफ्रिकी राष्ट्र मालीमा हस्तक्षेप गरेको केही घन्टामै सोमालियाको सो नगरमा कारबाही गरेको थियो। तस्विर सौजन्य: बिबिसी 

'नेपाली 'कांग्रेसले इगो राखेर वा जिद्दि गरेर हुँदैन, बरु यही सरकारमा गएर फाइदा लिन सक्नुपर्छ' : कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइराला


नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विचार व्यक्त गर्नुभएछ। गोरखा जिल्लाको आरुघाट बजारमा आयोजित प्रथम आरुघाट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले राजनैतिक असहमतिका कारण मुलुक अन्योलमा परेकाले निकासका लागि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो। 
कुरा त राम्रो गर्नुभएको हो नै, नेता देउवाले। देशमा विद्यमान राजनीतिक संकट समाधानका लागि सहमतिको सरकार आवश्यक छ। तर त्यो सरकारको गठन कसरी गर्ने? 'मेरो गोरुको बाह्रै टका' भनेर सहमति हुन्छ र? 'राजनैतिक असहमतिका कारण मुलुक अन्योलमा परेकाले निकासका लागि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने' भनेर उहाँले उद्घोष त गरिदिनुभयो, तर सुशी कोइरालाकै प्रधानमन्त्रीत्वमा मात्र राष्ट्रिय सहमति हुनुपर्ने वा हुनसक्नुपर्ने कारण के भन्ने बारेमा, अथवा अन्तर्राष्ट्रिय मान्यताअनुसार संबिधान सभा बिगठन हुँदा बहाल रहेको हाल कामचलाउ सरकारले संविधान सभाको चुनाब गराउनुपर्ने मान्यता/अभ्यास अनुसार देश किन अघि बढ्न नसक्ने, अथवा कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकारको गठन हुन किन नसक्ने, कांग्रेस र एमालेले बाबुरामको सरकारलाई अछुतो साबित गर्ने प्रयास गरिरहेका बेला यस्तो सहमति सम्भव हुने कि नहुने, भए पनि त्यो कति दीर्घजीवी हुने, एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको यस गठबन्धन सरकारलाई शक्तिकै भरमा हटाएर भए पनि कांग्रेस-एमाले गठबन्धन सरकार बन्यो भने त्यसलाई सत्ता बाहिर रहने एनेकपा माओवादी र मधेसी मोर्चाले अछुतको व्यवहार गर्न पाउने कि न पाउने, एनेकपा माओवादी र मधेसी मोर्चाको गठबन्धन सरकारमा कांग्रेस-एमाले जान नहुने भए तिनीहरु सत्तामा गएपछि एनेकपा माओवादी र मधेसी मोर्चा त्यस सरकारमा किन जाने, वा जानुपर्ने आधार के, नेकपा माओवादी र मधेसी मोर्चाको गठबन्धन सरकारलाई कांग्रेस-एमालेले संयुक्त आन्दोलनको बलमा हटाइहाले भने पनि पछि तिनीहरु सत्तामा भएका बेला नेकपा माओवादी र मधेसी मोर्चाको गठबन्धनले कांग्रेस-एमाले सरकारको विरोधमा त्यस्तै आन्दोलन गर्लान नगर्लान, त्यसपछि अहिलेइ जर्जर भैसकेको नेपालको अवस्था के होला? यी र यावत अन्य प्रश्नहरुको उत्तरमा त देउवा अनुत्तरित रहिदिनुभयो। 
देशका नेताको काम भाषण गर्ने मात्र होइन, देशलाई निकास दिने हो। देउवाले त खालि छँदाखाँदाको घर भत्काएर भत्किने निश्चित भएको अर्को घर बनाउने र देशलाई यसैगरी लथालिङ्ग-भतभुङ्गको अवस्थामा छोडेर आफूहरु साताको खेलमा जुटिराखने/हाँसिराख्ने कुरा मात्र पो गरिदिनुभयो। यसरी त देशले निकास नपाउने पक्का छ। यो भन्दा त बरु 'दलहरुबीच सहमति हुन नसकिरहेको अवस्थामा मुलुकमा विदेशी हस्तक्षेप लज्जाजनक ढंगले बढेको उद्घोष गर्दै राष्ट्रलाई जोगाउनका लागि कांग्रेस पार्टीले कुर्सीको मोह त्याग्नुपर्ने' 'नेपाली 'कांग्रेसले इगो राखेर वा जिद्दि गरेर हुँदैन, बरु यही सरकारमा गएर फाइदा लिन सक्नुपर्छ' भन्ने कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाको विचार अरुको तुलनामा उच्च देखिन्छ कि।