प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालमा भएका अमानवीय र गैर-न्यायिक हत्याको छानविन गर्न सरकार प्रतिवद्ध रहेको कुरा दोहर्याउनुभएको छ। जनताको घरमा बास बस्ने अभियानअन्तर्गत शुक्रबार साँझ ललितपुरको भट्टेडाँडास्थित रामशरण चैरेलको घरमा बास बस्न पुग्नुभएका प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालिन घटनाहरुलाई जवर्जस्ती छुट्टाछुट्टै खोतल्नखोजिएको खण्डमा कोही पनि अछुतो नरहने र शान्ति प्रक्रिया पनि भाँडिने चेतावनी दिनुभयो।
क्रान्तिकारी पत्रकार संघ ललितपुरले आज योजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री भट्टराईले यस्ता घटनाहरु एक-एक गरी छानविन गर्दैजाने हो भने तत्कालिन परिस्थितीका लागि जिम्मेवार माओवादीलगायत कांग्रेस, एमाले कोही पनि बाँकी नरहने विचार व्यक्त गर्नुभयो। उहाँले अन्तरिम संविधानको अंग समेत बनेको विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर यस्ता घटनाहरुको छानविन गर्नुपर्ने कुरा स्पष्ट पर्नुभयो।
प्रधानमन्त्री भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनपछि मात्रै एकमुष्ट रुपमा त्यस्ता घटनाको छानबिन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विरोधीहरुले आफूलाई अपराधीको संरक्षकका रुपमा चिनाएकोमा आक्रोश व्यक्त गर्दै उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले छानविन गरी दोषी ठहर्याएकालाई कारबाही गर्दा आफूले आपत्ति नजनाउने कुरा बताउनुभयो।
हरेक महिनाको अन्तिम शुक्रबार देशका ग्रामीण क्षेत्रमा बास बस्ने अभियान थाल्नुभएका प्रधानमन्त्री भट्टराईको ललितपुर भट्टेडाँडा आठौं बास हो।
No comments:
Post a Comment