नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विचार व्यक्त गर्नुभएछ। गोरखा जिल्लाको आरुघाट बजारमा आयोजित प्रथम आरुघाट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले राजनैतिक असहमतिका कारण मुलुक अन्योलमा परेकाले निकासका लागि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो।
कुरा त राम्रो गर्नुभएको हो नै, नेता देउवाले। देशमा विद्यमान राजनीतिक संकट समाधानका लागि सहमतिको सरकार आवश्यक छ। तर त्यो सरकारको गठन कसरी गर्ने? 'मेरो गोरुको बाह्रै टका' भनेर सहमति हुन्छ र? 'राजनैतिक असहमतिका कारण मुलुक अन्योलमा परेकाले निकासका लागि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने' भनेर उहाँले उद्घोष त गरिदिनुभयो, तर सुशी कोइरालाकै प्रधानमन्त्रीत्वमा मात्र राष्ट्रिय सहमति हुनुपर्ने वा हुनसक्नुपर्ने कारण के भन्ने बारेमा, अथवा अन्तर्राष्ट्रिय मान्यताअनुसार संबिधान सभा बिगठन हुँदा बहाल रहेको हाल कामचलाउ सरकारले संविधान सभाको चुनाब गराउनुपर्ने मान्यता/अभ्यास अनुसार देश किन अघि बढ्न नसक्ने, अथवा कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकारको गठन हुन किन नसक्ने, कांग्रेस र एमालेले बाबुरामको सरकारलाई अछुतो साबित गर्ने प्रयास गरिरहेका बेला यस्तो सहमति सम्भव हुने कि नहुने, भए पनि त्यो कति दीर्घजीवी हुने, एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको यस गठबन्धन सरकारलाई शक्तिकै भरमा हटाएर भए पनि कांग्रेस-एमाले गठबन्धन सरकार बन्यो भने त्यसलाई सत्ता बाहिर रहने एनेकपा माओवादी र मधेसी मोर्चाले अछुतको व्यवहार गर्न पाउने कि न पाउने, एनेकपा माओवादी र मधेसी मोर्चाको गठबन्धन सरकारमा कांग्रेस-एमाले जान नहुने भए तिनीहरु सत्तामा गएपछि एनेकपा माओवादी र मधेसी मोर्चा त्यस सरकारमा किन जाने, वा जानुपर्ने आधार के, एनेकपा माओवादी र मधेसी मोर्चाको गठबन्धन सरकारलाई कांग्रेस-एमालेले संयुक्त आन्दोलनको बलमा हटाइहाले भने पनि पछि तिनीहरु सत्तामा भएका बेला एनेकपा माओवादी र मधेसी मोर्चाको गठबन्धनले कांग्रेस-एमाले सरकारको विरोधमा त्यस्तै आन्दोलन गर्लान नगर्लान, त्यसपछि अहिलेइ जर्जर भैसकेको नेपालको अवस्था के होला? यी र यावत अन्य प्रश्नहरुको उत्तरमा त देउवा अनुत्तरित रहिदिनुभयो।
देशका नेताको काम भाषण गर्ने मात्र होइन, देशलाई निकास दिने हो। देउवाले त खालि छँदाखाँदाको घर भत्काएर भत्किने निश्चित भएको अर्को घर बनाउने र देशलाई यसैगरी लथालिङ्ग-भतभुङ्गको अवस्थामा छोडेर आफूहरु साताको खेलमा जुटिराखने/हाँसिराख्ने कुरा मात्र पो गरिदिनुभयो। यसरी त देशले निकास नपाउने पक्का छ। यो भन्दा त बरु 'दलहरुबीच सहमति हुन नसकिरहेको अवस्थामा मुलुकमा विदेशी हस्तक्षेप लज्जाजनक ढंगले बढेको उद्घोष गर्दै राष्ट्रलाई जोगाउनका लागि कांग्रेस पार्टीले कुर्सीको मोह त्याग्नुपर्ने' 'नेपाली 'कांग्रेसले इगो राखेर वा जिद्दि गरेर हुँदैन, बरु यही सरकारमा गएर फाइदा लिन सक्नुपर्छ' भन्ने कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाको विचार अरुको तुलनामा उच्च देखिन्छ कि।
No comments:
Post a Comment