चंद्र/सौर्य-मासमा आधारित हिन्दु पात्रोअनुसार आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वले, यसरी, धार्मिक-सांस्कृतिक महत्वका साथसाथै उच्च नैतिक मूल्य-मान्यता पनि बोकेको छ।
देवनागरी लिपिमा लिपिबद्ध गरिएको हिन्दु धार्मिक महाकाव्य रामायणमा रामले कसरी वनबासका लागि दरबारबाट निस्कनुपर्याे, कसरी रावणले भगवान रामकी अर्धांगिनी सीताको अपहरण गर्याे, अपहरित सीताको मुक्तिका लागि रामले के कस्तो दुःख र सास्ती व्यहोर्नुपर्याे, क-कससङ्ग सम्झौता गर्नुपर्याे आदि सम्पूर्ण कुरा उल्लेख गरिएको छ।
दसवटा टाउका कुनै पनि हालतमा काट्न नसकिने, एउटा टाउको काटेपछि त्यसअघि काटेको अर्को टाउकोमा प्राण आइहाल्ने, त्यस्तो अद्भुत शक्ति भएको रावणलाई मारेर सीतालाई अपहरण-मुक्त पार्नु रामका लागि असम्भव कार्यजस्तै भएको अवस्थामा उहाँले चण्डी-होम गरी माता दुर्गाको आशिर्वादका लागि प्रार्थना गर्नुभयो, जसबाट प्रसन्न हुनुभएकी देवी दुर्गाले रावणको बध गर्ने गोप्य तरिका सिकाउनु भयो। देवी दुर्गाको बरदानको प्रतिफलस्वरूप रामले आश्विन शुक्ल दशमीका दिन सीतालाई भेट्नुभयो र रावणलाई पराजित गर्दै सीतालाई मुक्त गर्नुभयो।
त्यसको राम सीता र लक्ष्मणसहित अयोध्या फर्कनुभयो, जसको खुशियालीमा त्यहाँ लाखौं द्वीप प्रज्वलित गरिए, जस दिनलाई हामी दिपावली अर्थात् लक्ष्मी पूजाका रूपमा मनाउछौ।यति बेला कतिपय मानिसहरु शान्ति यज्ञका रूपमा आदित्य होम गर्नेगर्दछन, जसको परिणामस्वरूप घरको वरिपरिको वातावरण सफा र स्वस्थ रहन्छ भन्ने मान्यता रहिआएको छ। यस प्रकारका धार्मिक संस्कारहरुको आयोजना गर्नाको मुख्य उद्देश्य रावणका १०वटा टाउकाद्वारा प्रतिनिधित्व गरिने १० वटा खराब गुण (काम वासना, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सरा अर्थात डाढ, स्वार्थ, अन्याय, अमानवियता र अहंकार) बाट घर-परिवारलाई मुक्त राख्नु हो। विजया दशमीकाे सबैसबैमा हार्दिक शुभकामना!