एमाओवादीको सातौं महाधिवेसन उद्घाटन समारोह सुरु हुने समयको प्रतीक्षा थियो । मध्याह्न १२ बजेको चर्को घाममा महाधिवेशनस्थल हुप्रचौरस्थित खेल मैदानमा केन्द्रीय आयोजक समितिका एक सदस्य हामीसँग गफिँदै थिए । पृष्ठभूमिमा गीत बज्यो, 'जनवादी क्रान्ति उचाइमा पुर्याउँछौं ।'
क्रान्ति होला त कमरेड ? एक मित्रको प्रश्नमा उनी फिस्स हाँसे, अनि भने, 'क्रान्ति हुन्छ । खाने क्रान्ति । कमिसन खाने, घूस खाने ।' कुराकानीको सुरुवातदेखि नै उनी पार्टीमा आर्थिक अनियमितता बढेको, भ्रष्टाचार मौलाएकोप्रति चिन्तित देखिन्थे । शिरदेखि पाउसम्म नियाल्दा उनको पहिरन सामान्य थियो, कम्युनिस्टकै
जस्तो । तर उनीजस्ता व्यक्ति एमाओवादीभित्र खोज्न हम्मे पर्न थालेको छ ।
एमाओवादी विभाजन भयो, नेकपा-माओवादी बन्यो । कुन माओवादी भन्ने भ्रम चिर्न गाह्रो परेपछि पछिल्लो माओवादीलाई ड्यास र अघिल्लो माओवादीलाई क्यास भनियो । एक महिनाअघि एमाओवादीबाटै फुटेर बनेको नेकपा-माओवादीको महाधिवेशनमा सहभागी नेता, कार्यकर्ताको पहिरन कम्युनिस्ट पाराकै थियो । तर 'क्यास' भनिएको एमाओवादीको सातौं महाधिवेशनमा उल्टो दृश्य देखियो ।
तपाईंहरू 'क्यास' नै हुनुभयो है ? भन्ने प्रश्न पूरा नहुँदै एमाओवादी मकवानपुर जिल्ला सेक्रेटरी बलराम बलको मोबाइल बज्यो । उनले ग्यालेक्सी एस ३ फोनमा संक्षिप्त कुरा गरे र मिटिङमा छु भन्दै काटे । त्यसपछि भने, 'यो व्यक्ति विशेषमा भर पर्ने कुरा हो । आर्थिक अनुशासन उल्लंघन गर्ने क्रम हाम्रो पार्टीमा बढेको छ, यो गलत प्रवृत्ति हो ।'
महाधिवेशन केन्द्रीय आयोजक समितिका सदस्य रामप्रसाद बन्जाडे त पार्टीभित्र बढ्दो आर्थिकलगायत अनियमितताबाट आजित छन् । भन्छन्, 'नीति, सिद्धान्त, व्यवहार, चरित्र, आनिबानीमा स्खलन आएको छ । आदर्श भत्किएको छ ।' त्यसो त अध्यक्ष पुष्पकमल दाहाल स्वयंको दस्ताबेजमा 'कार्यशैली र अनुशासनको प्रश्न' उपशीर्षकमा भनिएको छ, '...पार्टीभित्र गैरसर्वहारा कार्यशैली र अनुशासनहीनता झांगिन पुगेको छ । सर्वहारा मूल्य मान्यता निकै स्खलित हुन पुगेको छ ।'
कम्युनिस्टहरूको भाषा नै नबुझिने हुन्छ । अध्यक्ष दाहालले महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको दस्तावेजमा समाविष्ट शब्दावलीको आशय हो, 'पार्टी भ्रष्टीकरणको दिशामा उन्मुख छ ।' तर अध्यक्ष दाहालकै जीवनशैली र महल बसाई पार्टीभित्र ठूलो चर्चाको विषय बनेको छ । हेटौंडामा उनी मातहतका कार्यकर्ताको चहलपहल कम थिएन । स्वयंसेवक हुन वा प्रतिनिधि/ पर्यवेक्षक अधिकांशका जुत्तामा 'एडिडास,' 'पुमा' लेखिएको थियो भने पहिरनमा 'जारा,' 'मोन्टेकार्लो' लेखिएको दृश्य सामान्य लाग्थ्यो ।
'क्यास’ शब्द चरितार्थ गर्दै एमाओवादी हेटौंडाको बुद्धचोकबाट तीन किलोमिटर परको बन्दसत्र स्थलसम्म कुनै पनि पोल, रूख वा स्थान तुल झुन्ड्याउन मिल्ने ठाउँ बाँकी थिएन । सबैतिर पार्टीका झन्डा, तुल, ब्यानर टाँगिएका थिए । देश नै कुनै उत्सवमा भएजस्तो दृश्य एउटा पार्टीको महाधिवेशनमा देखियो, त्यो पनि हालसालै फुटेको पार्टीको । फुटको असर कम्तीमा हेटौंडामा देखिएन । बिलासिताको सन्दर्भमा बन्दसत्र स्थलमा पार्टीले व्यवस्था गरेको खानपान र बसोबासमा आधाभन्दा बढी प्रतिनिधिको रुचि देखिएन ।
धेरैजसो प्रतिनिधि बाहिर होटलको खाना र बसोबासमै रमाएका छन् । पूर्वअर्थराज्यमन्त्री हरि खेवा हामी बसेकै होटलमा रहेछन् । उनका लागि पार्टीले खानासहित बसोबासको बन्दोबस्ती गरेको थियो, लामो समयदेखि बन्द रहेको बन्दसत्रस्थल हेटौंडा कपडा उद्योगमा । तर 'साथीहरू' सँग बसेका उनको लगाव त्यसप्रति थिएन । खेवा उदाहरणमात्र हुन्, उनीजस्ता धेरै नेता, कार्यकर्ता प्रायोजकसहित होटलमा रमेका देखिन्थे ।
'निश्चित स्वार्थबस बाहिरियाहरूले लोकल कुखुरा व्यवस्था गरेको छु भनेर बोलाउँछन्, साथीहरू कुदिहाल्छन्,' आयोजक समिति सदस्य बन्जाडे भन्छन्, 'यस्तो प्रवृत्तिले दलालतन्त्र हावी गराउँछ ।' बिस्तारै पार्टी त्यही दिशामा उन्मुख भएकामा चिन्ता गर्ने कार्यकर्ताका लागि यो सुखद विषय होइन । उनीहरूको आशा छ, महाधिवेशनबाट टुंगो लगाउनुपर्ने धेरै विषयमध्ये एउटा विषय आर्थिक अनुशासनको हुनेछ । साभार:इकान्तिपुर