Thursday, December 13, 2012

विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिचान गर्न कठीन नहुनुपर्ने


विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिचान गर्न कठीन नहुनुपर्ने हो। तर अमेरिकी अन्तरिक्ष संस्था- नासाले यस्तो गलती गर्यो जसका लागि नासाले माफी माग्यो र आफ्नो वेवसाइटबाट त्यो गलत फोटो तत्कालै हटायो। 
पृथ्वीदेखि तीन सय सत्तरी किलोमिटरको उचाइमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट रुसी अन्तरिक्ष यात्री युरी मालेंचेन्कोले खिच्नुभएको सगरमाथाको भनिएको फोटो सगरमाथाको नभई भारतको कश्मिर क्षेत्रमा पर्ने कराकोरम पर्वत्मलामा रहेको ससेर मुज्ताघ पर्वत थियो जसमा अलि अलि मात्र हिउँ परेको देखिएको छ। 
नेपाल र चीनको सीमा क्षेत्रमा अवस्थित सगरमाथालाई कश्मिरमा कसरी देख्नपुगे ति अन्तरिक्ष यात्री? सगरमाथा र त्यस पर्वतको आकार-प्रकार मिल्दोरहेछ कि कसो? कि यो कसैको चालबाजी हो, सीमा पारि नयाँ लुबिनी निर्माण गर्नलागे जस्तै? 
जे होस्, अमेरिकी संजाल स्पेस डट कम लगायत विश्वभरिका संजाल र संचार माध्यमहरुमा द्रुतगतिमा छाएको त्यस तस्वीरले नेपाली मनमा चस्स  पारयो। 
हिमालय क्षेत्रका जानकार पत्रकार कुन्दा दिक्षितले 'पर्वतमालाहरुको बीचमा देखिने अलिकति छाया परेको त्यो अग्लो पर्वत सगरमाथा होइन' भनेर लेख्नुभयो जसले नासालाई आफ्नो गलती स्वीकार गर्न सजिलो बनायो। 
धन्यवाद, कुन्दा दीक्षितलाई!


यो हो सगरमाथा 

8848 meter high

राष्ट्रपति रामवरण यादवद्वारा राष्ट्रिय सहमतिको सरकारको गठनका लागि फेरि म्याद थप


राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकारको गठनका लागि फेरि म्याद थप गर्नुभएको छ। प्रमुख चार दलका शीर्ष नेताहरुसङ्गको छलफलपछि राष्ट्रपति यादवले चौथो पटक म्याद थप गर्नुभयो, तर पाँच दिनका लागि मात्र। 

 

पहिलो पटक थपिएको म्याद सात दिनका लागि थियो, दोश्रो पटक छ दिनका लागि, र यो तेश्रो पटक थपिएको समयावधि पाँच दिनका लागि छ। 
प्रमुख चार दलका शीर्ष नेताहरु- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाबाट विजय गच्छदासङ्ग बिहीबार विहान शितल निवासमा छलफल गरेपछि म्याद थप्ने निर्णय लिनुभएका राष्ट्रपति यादवले अब थपिएको म्यादलाई अन्तिम बनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ। 
छलफलका क्रममा राष्ट्रपतिले दलहरुबीच भएको वार्ता र सहमतिका प्रयास बारे जिज्ञासा व्यक्त गर्नुभएको थियो। 

सबै विषयमा समग्रमै सहमति जुटाउनुपर्ने सत्तारुढ गठबन्धनको अडान


एकीकृत नेकपा माओवादी र सत्तारूढ मधेसी मोर्चाबीचको बैठकले सबै विषयमा समग्रमै सहमति जुटाउनुपर्ने अडान दोहर्‍याएको छ । देशका जल्दाबल्दा विषयलाई एकातिर पन्छाएर खालि सत्तामा व्यक्ति परिवर्तनका विषयमा मात्र सहमति गर्नुको औचित्य नभएको ठहर प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको संयुक्त बैठकले गरेको हो।
वैशाखभित्रै संविधान सभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूति, निर्वाचनका लागि आवश्यक ऐन कानुनको निर्माण, संवैधानिक निकायमा नियुक्ति, सरकार गठन हुनुअघि एमाओवादी र मधेसी मोर्चाबीचको चार बुँदे सहमति र यसअघि संविधानका विवादित विषयमा भएका सहमतिप्रतिको प्रतिबद्धतापछि मात्र राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्ने निष्कर्षमा बैठक पुगेको जानकारी स्वास्थ्य मन्त्रीसमेत रहनुभएका मोर्चाका नेता राजेन्द्र महतोले दिनुभयो। 
'यी सबै विषयसँगै सहमतिको सरकारको विषय पनि प्याकेजमै टुंग्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो' मन्त्री महतोले भन्नुभयो। उल्लेखित विषयमा  सहमतिसँगै राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ,  जसको नाममा सहमति हुन्छ, उसैले राष्ट्रिय सरकारको नेतृत्व गर्छ, उहाँले भन्नुभयो। 
बैठकमा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई, मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष विजयकुमार गच्छदार, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो।
तस्विर-सौजन्य: इकान्तिपुर 


एउटा हातले एकैचोटि दुइवटा भाषामा लेख्नसक्ने क्षमता


एकै पटकमा दुबै हातले दुइवटा फरक-फरक भाषामा लेख्नसक्नु असामान्य कला र क्षमताको नमुना हो। 

यस्तो नमुना चीनको हपै प्रान्तको हान्तान निवाशी चौबीस वर्षिया छन सयुवानले प्रस्तुत गरेकी छन। 

देब्रे र दाहिने दुवै हात समानरुपले चलाउनसक्ने छनमा एउटा हातले चिनियाँ भाषामा र अर्को हातले अंग्रेजी भाषामा लेख्नसक्ने क्षमता छ। 

दुइवटा हातले एउटा मात्र कुरा लेखेको त देखेकै हो, तर फरक फरक कुरा, शायद, विश्वमा विरलै देखिने घटना होला!

तस्विर सौजन्य: बिबिसी 

मुलुकको विद्यमान राजनीतिक अन्योलको स्थितिबाट निकासका लागि एमालेका नेताहरुको प्रस्ताव


'घिमिफिरी रुम्जाटार' भनेजस्तै गरेछ एमाले बैठकले। जुन दिशातिर फर्केर बोले पनि आँखा भने प्रधानमन्त्रीकै कुर्चितिर! सत्ता विना कुनै सहमति हुँदैन भन्ने यिनीहरुको मनस्थिति घोषितरुपमै अघि आयो। केही गरी सहमति हुनसकेन भने सह-प्रधानमन्त्री खाएर भए पनि सहमति गर्ने अरे। भन्नुको अर्थ सत्तामा जरुर जाने, कुर्ची त चाहियो, चाहियो। 

संविधानका अन्तरवस्तु लगायतका अन्य विषयमा समग्रमा सहमति गरौँ, माओवादी सरकार छोड्न तयार छ, तर खालि प्रधानमन्त्रीको कुर्चीका लागि सहमति गर्नु 'काले जानु, गोरे आउनु' मात्रै हो, यस्तो सहमतिको कुनै तुक छैन भन्ने अडान माओवादीले लिएपछि अब कुर्ची नपाइने भो भनेर अत्तालिएकाहरु प्रतिपक्षीहरु अब बाबुराम भट्टराई बसेको सिंगो कुर्ची नपाय भागबन्डा गर्न पनि तयार भएछन। कही नभएको जात्रा हाँडीगाउँमा। अब दुइवटा प्रधानमन्त्री बनाउने रे! यिनीहरुका लागि पहिलो महत्वको कुरो मुलुकलाई निकास दिनेभन्दा पनि कुर्चिकै रहेछ भन्ने घामजस्तै छर्लंग भयो।

दल्हारु हो! देशलाई लुट्नसम्म लुटिसकेउ, भिम रावलले प्रस्ताव गरेझै दुइ दुइवटा प्रधानमन्त्री खाएर भए पनि अब देशलाई निकास देउ। हामी नेपाली जनताको शरीरमा अब पसिना बनाउनका लागि रगत पनि सकिइसक्यो। 

राम बहादुर थापालाई पहिलेई प्रस्ताब गरेको भए देशले उहिलेई निकास पाइसक्थ्यो कि! यो पनि 'आँखा फेरि कुर्चीमै' भनेझै भए पनि निकासका लागि उचित विकल्प नै हुनसक्छ। तर यसो हेर्दा एमालेका नेता-मित्रहरु बाबुरामको कामदेखि सन्तुष्ट हुनुहुन्न जस्तो लाग्छ। यो विषयमा यसो गरौँ, त्यो विषयमा त्यसो गरौँ, यसरी संविधानका कुरा टुंग्याउने प्रयास गरौँ, यसरि निर्बाचनका कुरा मिलाउन भनी प्रस्तावित गर्नुको साटो बाबुरामकै विकल्पमा सबै कुरो केन्द्रित हुनपुग्छ। 

जे होस्, यो देश तिम्रा बाबुको विर्ता भएको छ, लुट, खाउ, मोज गर, तर भोलिका लागि पनि मोज गर्ने बाटो नमेट। किनकि तिमीहरुलाई खाने बानी परिसकेको छ, नखाई मन मान्दैन।  

यति पनि गर्न मन मान्दैन भने, नेकपा एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईद्वारा प्रस्तुत प्रस्तावको अन्तिम विकल्पको अन्तिम वाक्य 'यदी पार्टीका नेताहरुले यी काम गर्न नसक्ने हो भने मूख्य पार्टीको शिर्ष नेतृत्व टीमले सामूहिक रुपमा नेतृत्ववाट अवकास लिने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने।' भन्ने विकल्प उपयुक्त होला। किनभने जुँगाका लडाईं धेरै भैसके। कोइ पनि न हार्ने, जुँगाको लडाईंमा खालि सर्वसाधारण जनता मात्र पेलिने। प्रजातन्त्रको यो नियम मलाई मान्य भएन।