कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे
कुशे औँसी त नेपाली जीनशैलीमा धेरै नै महत्व बोकेको चाड हो। एकातर्फ कुश भित्र्याउने चटारो भने बुबाको मुख हेर्ने चटारे अर्कातिर रहन्छ नै। यसै चटारोकाबीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्मजयन्ती पनि हो। माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गरिएकाे हाे।
कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा उनको जन्म भएको थियो।
दरबार हाइस्कूलमा गनिएका राणा खानदानकाबीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम ६ वर्षकै कलिलो उमेरमा सपरिवार बनारसतर्फ लागेका थिए। प्रवास बसाईंको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्ययन गरेको पाइन्छ, जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए। नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ। नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो। साहित्यिक अग्रतामात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः
अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन थर्कोस् थरथर गरी छण घरीमा
यवन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कञ्चन रहि गयो।
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरू सुनेको मोतीरामले त्यस्पश्चात् भानुभक्तका कृतिहरूलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतिकाबारेमा मोतीरामले अध्ययन, उत्खनन् गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामीमाँझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।
नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भीडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला–बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानका साथ गरिरहन्छन् । मित्र देवशमशेर जंगबहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरबारमा मञ्चन समेत गरिएको थियो । त्यसपश्चात् कहीँ–कतै शारदालाई मञ्चन गरिएकोबारे त्यति चर्चा पाइँदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरूका लागि हाम्रो पात्रोमाः
कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ
हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ
यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी
विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई
नेपाली भाषामा गजलको प्रारम्भ यिनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामीप्यता पाइन्छ । श्रृंगार रसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन्र।
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कै पनि उनका श्रृंगार रसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ।
साभारः हाम्राे पात्राे