Tuesday, December 4, 2012

मन्त्रिपरिषद्को आजको बैठकद्वारा केही महत्वपूर्ण नियुक्ति

मन्त्रिपरिषद्को आज मंगलबार बसेको बैठकले केही महत्वपूर्ण नियुक्तिहरू गरेको छ।

बैठकले विद्युत प्राधिकरणको अध्यक्षमा मुख्य सचिव लिलामणि पौडेललाई नियुक्त गरेको छ । यसअघि ऊर्जा मन्त्री वा सचिवले विद्युत प्राधिकरण अध्यक्षको जिम्मेवारी सम्हाल्ने परम्परा थियो।
बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा खुल्ला प्रतिस्पर्धाबाट छानिएका रामेश्वर यादवलाई नियुक्ति गरिएको छ भने दुर सञ्चार प्राधिकरणको अध्यक्षमा दीगम्बर झालाई नियुक्त गरेको छ । झा लामो समयदेखि नेपाल आयल निगमका महाप्रबन्धक हुनुहुन्थ्यो।
यसैगरी, लुम्बिनी विकासक कोषको सदस्य-सचिवमा जगतबहादुर तामाङ, सुदूर पश्चिम विकास आयोगको अध्यक्षमा जगदिशबहादुर पाल र कर्णाली विकास आयोगको अध्यक्षमा डा. कुल बहादुर रोकायालाई बैठकले नियुक्त गरेको छ ।

अमेरिकाद्वारा चीनको ह्वासिंग निर्माण कम्पनीलाई तीस लाख डलर जरिमाना

अमेरिकाले चीनको नान्चिंगस्थित ह्वासिंग निर्माण नामक आणविक उद्योगलाई तीस लाख डलर जरिमाना गरेको छ।

सो कम्पनीले अमेरिकाबाट गैह्रकानूनीरुपमा उच्च गुणस्तरको आणविक सामग्री पाकिस्तानको आणविक भट्टीका लागि निर्यात गरेको आरोप अमेरिकाले लगाएको छ।

पाकिस्तानले सन् इन्निस सय अन्ठानब्बेमा आणविक हतियार विस्फोट गराएपछि अमेरिकाले पाकिस्तानलाई आणविक सामग्रीको बिक्रीमाथि प्रतिबन्ध लगाएको छ। 
यस प्रकारको घटनामा चिनियाँ कपानी दोषी ठहरिएको यो पहिलो घटना हो। चीन र पाकिस्तान बीचको आणविक सहयोग सम्झौता मुताविक ह्वासिंगले पाकिस्तानमा आणविक क्षेत्रको निर्माण गरिरहेको थियो। 


राजनीतिक दलहरु बीच सहमति हुने सम्भावना कम: थापा

राष्ट्रिय प्रजातंत्र पार्टि, नेपालका अध्यक्ष कमल थापाले पाँच वर्षदेखि हालसम्म सहमतीको कुरा गर्ने, तर सहमतिका नाममा बैठक मात्र गर्ने नेपालका राजनीतिक दलहरु बीच सहमति हुने सम्भावना नरहेको धारणा व्यक्त गर्नुभएको छ।

नेपाललाई हिन्दु राष्ट्र कायम गराउन दवाब दिने उद्देश्यले जनकपुरबाट शुरु गरिने रथयात्राको तयारीमा जुट्नुभएका थापाले आज मंगलबार सर्लाहीको लालबन्दीमा पत्रकारहरुसँग कुरा गर्दै बाह्य शक्तिको बलमा अचानक नाटकीय परिवर्तन भए मात्र, नत्र भने कुनै पनि हालतमा सहमतीय सरकार नबन्ने दावी गर्नुभयो। 'चारतिर फर्केका दलहरुबीच सहमति हुने कुनै सम्भावना छैन', अध्यक्ष थापाले भन्नुभयो।
पाँच वर्ष अघिको तुलनामा यी चार दलको हैसियत जनतामा कमजोर बन्दैगएको दाबी गर्दै थापाले मधेसवादीसहित चार दलको 'सिन्डिकेट'ले गरेको सहमति आफूलाई मान्य नहुने बताउनुभयो।  
अपार जनधनको क्षतिको परिणामस्वरूप प्राप्त उपलव्धिको रक्षा गर्न नसक्ने यी राजनीतिक दलहरु अपराधबोधले ग्रस्त छन, त्यसैले यिनीहरु जनतामा जान चाहदैनन्न, त्यसैकारण नयाँ निर्वाचनको हल्ला पनि हल्लै मात्र हुनसक्छ, अध्यक्ष थापाले भन्नुभयो। 



आफ्ना नागरिक बिरुद्ध रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम भोग्नुपर्ने

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्ना नागरिक बिरुद्ध रासायनिक हतियार प्रयोग गरेमा सिरियाली राष्ट्रपति बसार अल-असदले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा विश्वविद्यालयमा आणविक अप्रसार सम्बन्धमा बोल्दै ओबामाले 'विश्वले नियालिरहेको छ,  आणविक हतियारको प्रयोग पूर्णरुपमा अस्वीकार्य छ र रहनेछ' भन्नुभयो। 


तर सिरियाली अधिकारीले भने 'त्यस्तो हतियारको प्रयोग 'कहिलेइ पनि र कुनै पनि अवस्थामा नगरिने' बताएका छन्। 

यसैवीच, राष्ट्र संघले अत्यावश्यक बाहेकका सबै विदेशी कर्मचारीलाई सिरियाबाट हटाउने कुरा जनाएको छ। राष्ट्र संघीय समाचार संस्था इरिनले दिएको जानकारीअनुसार, एक सय विदेशी कर्मचारीमध्ये पच्चीसजनाले यसै हप्ता सिरिया छोड्नसक्ने छन् र राजधानी दमास्कस बाहिर संचालित सबै मानवीय सहायता कार्यक्रमहरु केहि समयका लागि स्थगित गरिने छन्।  
तस्विर सौजन्य: बिबिसी