Monday, December 31, 2012

अस्ट्रेलिया नयाँ वर्षको रमझममा: सिड्नी बन्दरगाहको चमकदार कार्यक्रममा करिब सात टन पटका पट्काइयो


ग्रिगोरियन पात्रोअनुसारको नयाँ वर्ष शुरु भएको छ, न्युजिल्याण्डमा, अनि अस्ट्रेलियामा पनि। यस खुशियाली मनाउन  न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अक्ल्यान्डको तीन सय अट्ठाइस मिटर अग्लो सिटी स्काई टावरमा मद्य रातको घन्टी बज्नासाथ पटकाको उज्यालोले आकास झलाकार बनाएकोथियो। 

त्यस्तै अस्ट्रेलियाको लोकप्रिय सिड्नी बन्दरगाहको चमकदार कार्यक्रम हेर्न बन्दरगाह वरपर लाखौं मानिस भेला भएका थिए। त्यहाँ करिब सात टन पटका पट्काइएको अनुमान गरिएको छ। 

यस वर्ष म्यान्मामा पनि नयाँ वर्षको रमझम हुनेभएको छ। 

भारतको राजधानी नयाँ दिल्लीमा भने सामूहिक बलात्कारका कारण तेइस वर्षीया युवतीको मृत्यु भएपछि सेनाले देशभरिको खुशियाली कार्यक्रम रद्द गरेको छ। 

पंजाव र हरियाणा सरकारले पनि नयाँ वर्षको आगमनको खुशियालीमा आयोजना गरिने सबै कार्यक्रम रद्द गरेको बिबिसीले जनाएको छ। 

अमेरिका र यूरोपमा नयाँ वर्षका कार्यक्रमहरु यथावतरुपमा गरिने छन्।
तस्विर सौजन्य: बिबिसी  

               HAPPY NEW YEAR 2013 TO ALL THE PEOPLES AROUND THE GLOBE!!!
                Wish you all for the Peaceful, Prosperous and Happy ever year 2013!
                                                    Kamal Lamsal from Nepal

तिमी कसको हुनेहोला- अन्जु पन्त र स्वरुप आचार्य

अब प्रधानमन्त्रीको ज्यादती विरुद्ध आन्दोलन थालिने: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल


पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले जर्वजस्ती नहटाउँदासम्म सत्ता छाड्ने स्थिति नदेखिएकाले अब प्रधानमन्त्रीको ज्यादती विरुद्ध आन्दोलन थालिने कुरा स्पष्ट पार्नुभएछ। 
'नाच्न नजान्ने, आँगन टेढो' भनेजस्तै भयो कि, कता। संवैधानिक रिक्तताको स्थिति सिर्जना गरेर कामचलाउले कता हटिदिनु? विरोधी पक्ष- कांग्रेस र एमालेले यदि साँच्चिकै यस देशको हितकै लागि बाबुराम भट्टराईको राजिनामा मागिरहेको हो भने, उनीहरुले बाबुरामलाई धन्यबाद दिनुपर्छ, उहाँले कुर्ची नछोडेर देशलाई अलपत्र हुनबाट जोगाइदिनुभएकोमा। 
सर्वप्रथम, विरोधी पक्षले बुझ्नैपर्ने कुरा हो, कामचलाउले राजिनामा दिदैन। प्रतिपक्षबाट प्रधानमन्त्रीको उम्मेदवारी आएर राष्ट्रपतिकहाँ पुगेपछि शपथ ग्रहण गराएलगत्तै नयाँ वैधानिक प्रधानमन्त्रीले पदभार ग्रहण गर्छ, कामचलाउ स्वतः बाहिरिन्छ। 
यो संसद बहाल रहेको अवस्थाको कुरा भयो। संसद बिघटन भएको अवस्थामा, शायद, बिघटन हुँदा सत्तामा रहेको सरकारले नै कामचलाउको हैसियतमा नयाँ निर्वाचन गराएर संसदले पछि छान्ने प्रधानमन्त्रीले सत्ता सम्हालेपछि कामचलाउ स्वतः बाहिरिन्छ। 
मेरो विचारमा, संसदीय मान्यता भएका मुलुकको परिपाटी यही हो। हाम्रो देशमा त सत्तामा नरहेर चुनाबमा जानुपर्यो भने राज्य संयन्त्रको दुरुपयोग नभए पनि उपयोग गर्न पाइदैन भन्ने चिन्ताले सताएजस्तो छ, विरोधीहरुलाई। त्यसैले बाबुरामलाई हटाएर चुनाबी सरकार आफ्नो नेतृत्वमा गठन गर्नका लागि नेताहरु तल्लो स्तरको गालीगलौजमा उत्रेको देखिन्छ। 
बाबुरामको नेतृत्वमा सहमति गर्न नचाहने, आफ्नो नेतृत्वमा सहमति गर भन्ने। विवेकपूर्ण तरिकाले सोच्दा, चुनाब गराउनका लागि वैधानिक अधिकार पाएको सरकार त बाबुरामकै हो है। यसो भए तापनि, बाबुराम भट्टराईले लचकता अपनाउनु नै भएको छ। पहिलेको विघटित संविधान सभाले सहमति गरेका विषयहरुको स्वामीत्व ग्रहण गरौँ, संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा नियुक्ति गरौँ, चुनाव गराउने निश्चित गरौँ, म सत्ता छोड्न तयार छु भनेर बाबुराम भट्टराईले भन्नुभएकै छ। ती विषयहरुमा सहमति गरेर सत्तामा जान बाबुराम विरोधी दलहरुलाई के बाधा छ? उपरोक्त विषयहरुमा सहमति गरेर सत्तामा गएपछि त तीनको पालना गर्ने पर्छ भन्ने डर हो कि सहमति गर्न नचाहनुको? त्यसो हो भने, कुर्चीकै लागि लडाई गर्ने तपाईहरु सत्तामा पुगेपछि नेपाल र नेपाली जनतालाई के फाइदा हुन्छ, बाबुराम हुँदा के घाटा भएको छ?   तस्विर सौजन्य: इकान्तिपुर    

अमेरिकी कांग्रेसका नेताहरुसङ्ग "वित्तीय पहरो' 'फुटाउन' अझै एक दिन बाँकी


अमेरिकी कांग्रेसका नेताहरुसङ्ग "वित्तीय पहरो' भनिने तिब्र कर बृद्धि र खर्च कटौतीको खतरालाई रोक्नका लागि अझै एक दिन बाँकी छ। यस विषयक विधेयकलाई छलफलका लागि सोमबार संसदमा पठाउनुअघि सहमति जुटाउनका लागि सांसदहरुले वार्ता जारी राख्नेभएका छन। जनवरी एक तारिखसम्म यस विषयमा सहमति जुट्न नसकेको खण्डमा अमेरिका फेरि मन्दीको चपेटामा पर्ने खतरा रहेको बताइएको छ। 
अमेरिकी राष्ट्रपति बराक ओबामाले यस विषयमा विद्यमान गतिरोधका लागि रिपब्लिकनहरुमाथि दोष लगाउँदै सहमतिमा आउन उनीहरुमाथि दबाब सिर्जना गर्दैआउनुभएको छ। 
राष्ट्रपति ओबामाले देश-हितका लागि धनिहरुले अलिकति बढी कर तिर्नुपर्ने कुरामा जोड दिदैआउनुभएको छ भने रिपब्लिकनहरु कर बढाउने पक्षमा देखिएका छैनन।  चित्र सौजन्य: बिबिसी 

अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन बिरामी परेपछि न्यू-योर्कको अस्पतालमा भर्ना


अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन रजतमा गिर्खा देखापरेपछि न्यू-योर्कको अस्पतालमा भर्ना हुनुभएको छ। विदेशमन्त्री क्लिन्टन यस महिनाको शुरुमा बेहोस भएर लड्नुभएको थियो। 
त्यति बेला उहाँको पेटमा किटाणु भएको, तर बिजलनपछि, अर्थात् पेटमा भएको पानी निकालिएपछि, यो समस्या टरेको भनिएको थियो। श्रीमती क्लिन्टनका प्रवक्ता फिलिपे रेइन्सले दिएको जानकारीअनुसार, चिकित्सकहरुले आइतबार गरेको अनुगमन परिक्षणमा उहाँको रगतमा जमेका टुक्रा देखापरेको बताएका छन्। 
श्रीमती क्लिन्टनलाई अहिले रगत पातल्याउने औषधि दिइएको र आगामी अठचालिस घन्टासम्म उहाँलाई चिकित्सकहरुको निगरानीमा राखिएको बताइएको छ। 
श्रीमती क्लिन्टनले आगामी जनवरी महिनामा राष्ट्रपति ओबामाले औपचारिक रुपमा दोश्रो अवधिको कार्यभार सम्हालेपछि विदेशमन्त्री पद छोड्नुपर्ने छ।   चित्र सौजन्य: बिबिसी 

कसैमा अलिकति विवेक त हुनैपर्ने होइन र?!

बाँदरको हातमा नरिवल परेपछि के गर्ने? यता ठोक्ने, उता ठोक्ने, फुट्यो भने खाने, नत्र भने त्यसै छोडेर हिंड्ने, हैन त? लुम्बिनीलाई विश्वस्तरको पर्यटकीय स्थलमा परिणत गरिदिन्छौं, भजाएर खाउ भन्ने दानी आउँदा समेत वास्ता नगर्ने नेपालीमा नेपालमा नचल्ने नोट साँचेर राख्ने बुद्धी कहाँबाट आउंथ्यो! बुद्धी भए त मुद्रा नचल्ने ती देशका नोटहरु पनि जम्मा गरेर व्यवस्थित तरिकाले राखेको भए, तिनै भिक्षुहरुले साटेर परिवर्त्य मुद्रा दिनसक्थे नेपाललाई। तर यो दूरदर्शिता न नेपालका सरकारमा रहनेहरूमा देखियो, न नेपाल राष्ट्र बैंकको व्यवस्थापन पक्षमा, न त लुम्बिनी विकास कोषका कर्मचारीमा नै। 

सबैले जागिर खाने काम मात्र गरेका छन। संस्थाको हीत चिताउने कोही निस्कनसकेन।  नेपाल सरकार र राष्ट्र बैंकको अकर्मण्यताका कारण विभिन्न मुलुकका बौद्धमार्गीहरुले विगत उन्नाइस वर्षदेखि लुम्बिनीमा चढाउँदैआएको करोडौं रुपैयाँ बराबरको रकम कागजको खोस्टासरह भएको छ। लुम्बिनीमा चढाइने विभिन्न मुलुकका पैसामध्ये, विशेष गरी श्रीलंका, बर्मा, कम्बोडिया र भियतनामका बौद्धमार्गीहरुले चढाउँदैआएका ती देशका नोट त्यसै थुपारेर राखिएको र तीमध्ये धेरैजसो सडेर गइसकेको कुरा कोषका कर्मचारीहरु नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भन्दछन।
ती मुलुकका नोट नेपालमा नचल्ने भएकाले कोषले साट्न नपाएका कारण समस्या परेको बताइन्छ। तर साट्न नपाउनुको अर्थ तीनलाई सुरक्षित तरिकाले राख्नुको साटो बेवास्ता गरेर फ्याँकिदिनु हो र? कदापि होइन। कतै काम नलाग्ने भए पनि लुम्बिनीजस्तो पवित्र स्थानमा चढाइएको त्यो पैसा पवित्र प्रसाद भैसकेको अर्थ निकाल्न नसक्ने नालायकहरुको समूहले लुम्बिनिजस्तो पवित्र स्थानलाई घेरिराख्नु दुर्भाग्यपूर्ण कुरा हो। हुन त यस देशले सौभाग्यको अनुभूति कहिले नै गर्नपाएको छ र! झन् प्रजातन्त्र नामको भजन गाउनपाउने अवस्था सिर्जना भएपछि त भजने, झोलेहरुलाई ठाउँ छोडेर योग्यहरू पाखा लाग्ने बाध्य भएका छन। 
लिम्बिनी विकास कोषले दुइ हजार पचास सालदेखि अशोक स्तम्भमा एउटा र मायादेवी मन्दिरमा दुइटा दान-पात्र राखेको छ जसमा माथि उल्लेखित मुलुकका अतिरिक्त अरू देशका नागरिकले समेत मासिक सरदर तीन लाख नेपाली रुपियाँ बराबरको पैसा चढाउँनगरेको, पर्यटकीय मौसममा त झन महिनाको दस लाख रुपियाँ बराबरसम्मको रकम चढाउनेगरेको बताइन्छ। 
सटही दर नतोकिएका मुलुकका नोट चल्दैन भनेर राष्ट्र बैंकले नसाटिदिने गरेका कारण लुम्बिनीमा चढाइएका श्रीलंका, बर्मा, भियतनाम, कम्बोडियालगायत मुलुकका नोट त्यसै थन्क्याएर राख्नुपर्दा नोटहरु कीराले खाएर वा कुहिएर गइरहेको कुरा लुम्बिनी विकाश कोषका कोषाध्यक्ष ओम अर्याल बताउनुहुन्छ।
सत्तामा रहेका राजनीतिक दलहरु खालि आफ्नो सत्ता टिकाउनमै लागिरहनुपर्ने र सत्ता बाहिर रहेका दलहरुले सत्तामा पुग्नकै लागि कसरत गरिराख्नुपर्ने नेपालको राजनीतिक बाध्यता, र हरेक ठाउँमा योग्य-विशेषज्ञको साटो आफ्नै झोले र चाकरीबाजहरु हुल्नुपर्ने गैह्र-राजनीतिक मानशिकताका कारण यस्ता समस्या सिर्जना भएका हुन। तर पनि कसैमा अलिकति विवेक त हुनैपर्ने होइन र?!  तस्विर सौजन्य: इकान्तिपुर