पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले जर्वजस्ती नहटाउँदासम्म सत्ता छाड्ने स्थिति नदेखिएकाले अब प्रधानमन्त्रीको ज्यादती विरुद्ध आन्दोलन थालिने कुरा स्पष्ट पार्नुभएछ।
'नाच्न नजान्ने, आँगन टेढो' भनेजस्तै भयो कि, कता। संवैधानिक रिक्तताको स्थिति सिर्जना गरेर कामचलाउले कता हटिदिनु? विरोधी पक्ष- कांग्रेस र एमालेले यदि साँच्चिकै यस देशको हितकै लागि बाबुराम भट्टराईको राजिनामा मागिरहेको हो भने, उनीहरुले बाबुरामलाई धन्यबाद दिनुपर्छ, उहाँले कुर्ची नछोडेर देशलाई अलपत्र हुनबाट जोगाइदिनुभएकोमा।
सर्वप्रथम, विरोधी पक्षले बुझ्नैपर्ने कुरा हो, कामचलाउले राजिनामा दिदैन। प्रतिपक्षबाट प्रधानमन्त्रीको उम्मेदवारी आएर राष्ट्रपतिकहाँ पुगेपछि शपथ ग्रहण गराएलगत्तै नयाँ वैधानिक प्रधानमन्त्रीले पदभार ग्रहण गर्छ, कामचलाउ स्वतः बाहिरिन्छ।
यो संसद बहाल रहेको अवस्थाको कुरा भयो। संसद बिघटन भएको अवस्थामा, शायद, बिघटन हुँदा सत्तामा रहेको सरकारले नै कामचलाउको हैसियतमा नयाँ निर्वाचन गराएर संसदले पछि छान्ने प्रधानमन्त्रीले सत्ता सम्हालेपछि कामचलाउ स्वतः बाहिरिन्छ।
मेरो विचारमा, संसदीय मान्यता भएका मुलुकको परिपाटी यही हो। हाम्रो देशमा त सत्तामा नरहेर चुनाबमा जानुपर्यो भने राज्य संयन्त्रको दुरुपयोग नभए पनि उपयोग गर्न पाइदैन भन्ने चिन्ताले सताएजस्तो छ, विरोधीहरुलाई। त्यसैले बाबुरामलाई हटाएर चुनाबी सरकार आफ्नो नेतृत्वमा गठन गर्नका लागि नेताहरु तल्लो स्तरको गालीगलौजमा उत्रेको देखिन्छ।
बाबुरामको नेतृत्वमा सहमति गर्न नचाहने, आफ्नो नेतृत्वमा सहमति गर भन्ने। विवेकपूर्ण तरिकाले सोच्दा, चुनाब गराउनका लागि वैधानिक अधिकार पाएको सरकार त बाबुरामकै हो है। यसो भए तापनि, बाबुराम भट्टराईले लचकता अपनाउनु नै भएको छ। पहिलेको विघटित संविधान सभाले सहमति गरेका विषयहरुको स्वामीत्व ग्रहण गरौँ, संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा नियुक्ति गरौँ, चुनाव गराउने निश्चित गरौँ, म सत्ता छोड्न तयार छु भनेर बाबुराम भट्टराईले भन्नुभएकै छ। ती विषयहरुमा सहमति गरेर सत्तामा जान बाबुराम विरोधी दलहरुलाई के बाधा छ? उपरोक्त विषयहरुमा सहमति गरेर सत्तामा गएपछि त तीनको पालना गर्ने पर्छ भन्ने डर हो कि सहमति गर्न नचाहनुको? त्यसो हो भने, कुर्चीकै लागि लडाई गर्ने तपाईहरु सत्तामा पुगेपछि नेपाल र नेपाली जनतालाई के फाइदा हुन्छ, बाबुराम हुँदा के घाटा भएको छ? तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment