बाँदरको हातमा नरिवल परेपछि के गर्ने? यता ठोक्ने, उता ठोक्ने, फुट्यो भने खाने, नत्र भने त्यसै छोडेर हिंड्ने, हैन त? लुम्बिनीलाई विश्वस्तरको पर्यटकीय स्थलमा परिणत गरिदिन्छौं, भजाएर खाउ भन्ने दानी आउँदा समेत वास्ता नगर्ने नेपालीमा नेपालमा नचल्ने नोट साँचेर राख्ने बुद्धी कहाँबाट आउंथ्यो! बुद्धी भए त मुद्रा नचल्ने ती देशका नोटहरु पनि जम्मा गरेर व्यवस्थित तरिकाले राखेको भए, तिनै भिक्षुहरुले साटेर परिवर्त्य मुद्रा दिनसक्थे नेपाललाई। तर यो दूरदर्शिता न नेपालका सरकारमा रहनेहरूमा देखियो, न नेपाल राष्ट्र बैंकको व्यवस्थापन पक्षमा, न त लुम्बिनी विकास कोषका कर्मचारीमा नै।
सबैले जागिर खाने काम मात्र गरेका छन। संस्थाको हीत चिताउने कोही निस्कनसकेन। नेपाल सरकार र राष्ट्र बैंकको अकर्मण्यताका कारण विभिन्न मुलुकका बौद्धमार्गीहरुले विगत उन्नाइस वर्षदेखि लुम्बिनीमा चढाउँदैआएको करोडौं रुपैयाँ बराबरको रकम कागजको खोस्टासरह भएको छ। लुम्बिनीमा चढाइने विभिन्न मुलुकका पैसामध्ये, विशेष गरी श्रीलंका, बर्मा, कम्बोडिया र भियतनामका बौद्धमार्गीहरुले चढाउँदैआएका ती देशका नोट त्यसै थुपारेर राखिएको र तीमध्ये धेरैजसो सडेर गइसकेको कुरा कोषका कर्मचारीहरु नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भन्दछन।
ती मुलुकका नोट नेपालमा नचल्ने भएकाले कोषले साट्न नपाएका कारण समस्या परेको बताइन्छ। तर साट्न नपाउनुको अर्थ तीनलाई सुरक्षित तरिकाले राख्नुको साटो बेवास्ता गरेर फ्याँकिदिनु हो र? कदापि होइन। कतै काम नलाग्ने भए पनि लुम्बिनीजस्तो पवित्र स्थानमा चढाइएको त्यो पैसा पवित्र प्रसाद भैसकेको अर्थ निकाल्न नसक्ने नालायकहरुको समूहले लुम्बिनिजस्तो पवित्र स्थानलाई घेरिराख्नु दुर्भाग्यपूर्ण कुरा हो। हुन त यस देशले सौभाग्यको अनुभूति कहिले नै गर्नपाएको छ र! झन् प्रजातन्त्र नामको भजन गाउनपाउने अवस्था सिर्जना भएपछि त भजने, झोलेहरुलाई ठाउँ छोडेर योग्यहरू पाखा लाग्ने बाध्य भएका छन।
लिम्बिनी विकास कोषले दुइ हजार पचास सालदेखि अशोक स्तम्भमा एउटा र मायादेवी मन्दिरमा दुइटा दान-पात्र राखेको छ जसमा माथि उल्लेखित मुलुकका अतिरिक्त अरू देशका नागरिकले समेत मासिक सरदर तीन लाख नेपाली रुपियाँ बराबरको पैसा चढाउँनगरेको, पर्यटकीय मौसममा त झन महिनाको दस लाख रुपियाँ बराबरसम्मको रकम चढाउनेगरेको बताइन्छ।
सटही दर नतोकिएका मुलुकका नोट चल्दैन भनेर राष्ट्र बैंकले नसाटिदिने गरेका कारण लुम्बिनीमा चढाइएका श्रीलंका, बर्मा, भियतनाम, कम्बोडियालगायत मुलुकका नोट त्यसै थन्क्याएर राख्नुपर्दा नोटहरु कीराले खाएर वा कुहिएर गइरहेको कुरा लुम्बिनी विकाश कोषका कोषाध्यक्ष ओम अर्याल बताउनुहुन्छ।
सत्तामा रहेका राजनीतिक दलहरु खालि आफ्नो सत्ता टिकाउनमै लागिरहनुपर्ने र सत्ता बाहिर रहेका दलहरुले सत्तामा पुग्नकै लागि कसरत गरिराख्नुपर्ने नेपालको राजनीतिक बाध्यता, र हरेक ठाउँमा योग्य-विशेषज्ञको साटो आफ्नै झोले र चाकरीबाजहरु हुल्नुपर्ने गैह्र-राजनीतिक मानशिकताका कारण यस्ता समस्या सिर्जना भएका हुन। तर पनि कसैमा अलिकति विवेक त हुनैपर्ने होइन र?! तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment