Tuesday, November 27, 2012

नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत् भार सम्प्रेषणमा थप कटौती: अब हप्तामा छपन्न घण्टा अन्धकार


पंचायतकालमा बत्ती निभ्यो भने धीरेन्द्रले मुर्ती चोर्नलाग्यो भनेर मानिसहरु खिल्ली उडाउँथे। अब 'तीस वर्षे कालरात्रि'को अन्त्य भएर देशमा ''उज्यालो रात्रि'' आइसक्यो। तर कुरामा मात्रै। त्यो 'कालरात्री'मा बेलुकि अध्यारो हुनलागेपछि बिजुली दिइनथ्यो, राति बत्ती निभाइन्थ्यो, विहान फेरी बत्ती दिइन्थ्यो, अनि दिउँसो निभाइन्थ्यो। भन्नुको अर्थ, मानिसलाई चाहिने बेलामा बत्ती दिइन्थ्यो, नचाहिने, अर्थात् कम चाहिने बेला दिउँसो र राति बत्ती निभाइन्थ्यो। यी भए कालरात्रिका कुरा। 
नेपालमा ''उज्यालो रात्रि'' आएपछि बत्तीको के आबश्यकता? त्यसै उज्यालो छ, जताततै प्रजातन्त्रको उज्यालो। अनि बत्ती किन चाहियो विहान र बेलुकि? राति र दिउँसो भए भैहाल्यो नि। प्रजातन्त्रको उज्यालो  जताततै छरिएको बेला अब त विद्यार्थीले गृह कार्य पनि गर्नु पर्दैन, कसैले समाचार पनि हेर्नु पर्दैन, रेडियो पनि सुन्नु पर्दैन, कस्तो आनन्द! 
प्रजातन्त्रले उज्यालो छरिदियेकै कारण नेपाल विद्युत प्राधिकरणलाई सजिलो भएको छ। विहान बेलुकि नदिएर दिउँसो घाम लागेका बेला र राति मानिसहरु सुतेका बेला विजुली बत्ती बालिदिए पुग्छ। यसै रणनीतिअनुसार त्येसले अब भोलिदेखि लागू हुनेगरी विहान र बेलुकि बत्ती निभाउने समय बढाएको छ। पहिले छयालीस घण्टा निभाउने गरेकोमा अब छपन्न घण्टा निभाउने अरे। 
नदीहरुमा पानीको जलस्तर घट्न गएको कारण माग र आपूर्तिमा असन्तुलन रहेको हुँदा साविकमा हुँदैआएको विद्युत् भार कटौतीको तालिकमा हेरफेर गर्नुपरेको अरे?! नदीमा पानीको स्तर नाप्न को जाने? साँच्चै हो कि ढाटेको के थाहा? नेपालमा ''उज्यालो रात्रि'' आएपछि नेपाली जनतालाई यही मनासिब छ भने हामीले के भन्ने!

भूतपुर्ब सहसचिव सावित्री राजभण्डारीलाई विशेष अदालतद्वारा भ्रष्टाचारी ठहर


भौतिक योजना तथा निर्माण मन्त्रालयका भूतपुर्ब सहसचिव  सावित्री राजभण्डारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । राजभण्डारीले  दुइ करोड छयालीस लाख उन्नाइस हजार नौ सय बत्तीस रुपियाँ भ्रष्टाचार गरेको ठहर विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यहरु न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले गरेको हो। 
विशेष अदालतले आज मंगलबार गरेको फैसलाअनुसार, भ्रष्टाचार गरे बराबरको रकम जरिवाना हुने र त्यसबाट बढे-बढाएको सम्पत्तिसमेत जफत हुनेछ । साथै, आफ्नो अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेकाले राजभण्डारीलाई एक वर्ष कैद सजाय पनि भोग्नुपर्ने फैसलामाउल्लेख छ ।
२०२२ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी भ्रष्टाचारको कसुरमा दोषी ठहरिएकी नेपालकी प्रथम महिला उच्च प्रशासक हुनुहुन्छ । 

राष्ट्रपतिको कदमप्रति अध्यक्ष दाहालको नरम नीति प्रधानमन्त्रीका लागि चिन्ताको विषय

प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपतिको कदमप्रति नरम भएकोमा सशंकित र चिन्तित देखिनुहुन्छ। सहमतिको सरकारका लागि दलहरुलाई सात दिनको म्याद दिने राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष मन्त्रिपरिषदको बैठकले स्पष्टतया निकालिसकेको र संविधानको धारा किटान गरी प्रधामन्त्री भट्टराईले राष्ट्रपतिलाई उहाँको कदमबाट संविधानको उल्लङ्घन भएको जनाउनुका साथै संविधानको परिधिभित्र रहेर मात्र कदम चाल्न राष्ट्रपतिलाई आग्रह गरिसकेको अवस्थामा पार्टी अध्यक्ष दाहालले आफू अझै स्पष्ट नभएको जस्तो व्यवहार गरिदिंदा प्रधानमन्त्री र पार्टीको धारणा फरक-फरक आउनसक्ने सम्भावना देखिएको अवस्थामा प्रधानमन्त्री भट्टराईले आज मंगलबार विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ ।

दाहाल निवास लाजिम्पाटमा करिव एक घण्टा भएको भेट-वार्तामा प्रधानमन्त्रीले राष्ट्रपतिको कदमका विषयमा पार्टी धारणा एउटै आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।
नेकपा माओबादी पार्टी पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरे पनि अध्यक्ष दाहालले भने नरम नीति अपनाइरहेको अवस्थादेखि सशंकित प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको कदमबारे धारणा स्पष्ट पारिदिन दाहाललाई आग्रह गर्नुभएको छ।
राष्ट्रपतिको कदम विरुद्ध जनवर्गीय संगठनले गर्नेभनिएको विरोधसभामा दाहाल पक्षधर नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिले सहभागिता नजनाएकोमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जाहेर गर्नुभएको बताइएको छ ।

ऋणको बोझले थिचिएको ग्रीसलाई तत्काल राहत दिने सम्बन्धमा सहमति


यूरोप-क्षेत्रका अर्थमन्त्रीहरु र अन्तर्राष्ट्रिय मुद्र कोष ऋणको बोझले थिचिएको ग्रीसलाई तत्काल राहत दिने सम्बन्धमा सहमतिमा पुगेका छन्।
 तिनीहरु ग्रीसको चालिस अर्ब यूरो बराबरको ऋण रकम मिनाहा गर्न सहमत भएका छन, र करिब चवालिस अर्ब यूरो बराबरको थप ऋण दिने बाटो खुला गरेका छन्।  

ग्रीसका प्रधानमन्त्री अन्तोनिस समरासले 'सम्पूर्ण ग्रिकहरुका लागि अब नयाँ दिन शुरु हुने' भन्दै यस निर्णयको स्वागत गर्नुभएको छ। 
यस सहमतिको समाचारपछि एसियाली शेयर बजारमा सुधारको संकेत देखापरेको बिबिसीले जनाएको छ। 

पाकिस्तानको लाहोरमा 'विषाक्त औषधी' खाँदा सोरजनाको मृत्यु

पाकिस्तानको लाहोर नगरमा खोकीको 'विषाक्त औषधी' सेबन गर्दा सोरजनाको मृत्यु भएको छ। त्यस्तो विषाक्त औषधी उत्पादन गर्ने कारखाना बन्द गरिएको छ भने औषधीका वितरकलगायतका तीनजनालाई प्रहरीले गिरफ्तार गरेको छ। 

खोकीको त्यो औषधी अबेरसम्म खुला रहने औषधी पसलबाट बिक्री गरिएको र त्यो औषधी कहिलेकाही दुर्व्यसनीहरुले सेबन गर्नेगरेको कुरा प्रहरीले जनाएको छ। मारिएकामध्य केही त चिहान क्षेत्रमा लडिरहेको पाइएको जानकारी पनि प्रहरीले दिएको छ। 

यसैबीच, पन्जाब प्रान्तका मुख्य मन्त्रीले त्यस घटनाका बारेमा छानबिन गर्न र बहत्तर घन्टाभित्र आफूलाई प्रतिबेदन बुझाउन निर्देशन दिनुभएको कुरा बिबिसीले जनाएको छ।

तस्वीर सौजन्य: बिबिसी