Tuesday, October 9, 2012

मापसे गर्ने चालकलाई सार्वजनिक मुद्दा


काठमाडौं, आश्विन २३ - मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७ चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । दसैंमा राजधानीबाट बाहिर जाने भाडाका सवारी सुरक्षित गन्तव्यमा पुर्‍याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही सुरु गरेको हो ।

ट्राफिकले गत साताबाट राजधानी बाहिरिने नाकामा थालेको अभियानका क्रममा पश्चिमाञ्चल यातायातको सवारी बढी कारबाहीमा परेका छन् । चेकिङका क्रममा ट्राफिकले पश्चिमाञ्चल यातायातको लु१ख ५८७९ नम्बरको बिहीबार नयाँ बसपार्कबाट भैरहवा जान लागेको बस कलंकीको बाफलमा चेकिङका क्रममा चालक ताराप्रसाद आचार्य र ४२ जना यात्री बोकेर तौलिहवा जान लागेको लु१ख ५२३७ नम्बरको भाडा बसका चालक रूपन्देही मधौलीय १ का राजेश पौडेलले मदिरा सेवन गरेको भेटेपछि कारबाही गरेको ट्राफिकले जनायो ।
काठमाडौंबाट झापाको बुधबारे जान लागेको परेली यातायातको ना४ख ५४८० नम्बरको रात्रिबसका चालक सतासीधामका ३९ वषर्ीय रेवतबहादुर कुँवर र सोमबार पाँच बजे कलंकी खसीबजारनजिक ट्राफिक प्रहरी चेकिङमा काठमाडौंबाट झापाको शनिश्चरे जान लागेको साकिरा यातायातको ना४ख ३८६० नम्बरको रात्रिबसका चालक बद्रीप्रसाद सुवेदीलाई पनि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको ट्राफिकले बतायो ।
बनेपाबाट सर्लाहीको मलंगवा जान लागेको बा३ख ८४६ नम्बरको बसका चालक दिनेश खत्री, धनुषा रघुनाथपुर जाँदै गरेको ना३ख २२५८ नम्बरको यात्रुवाहक बसका चालक तनहुँ चिसापानी-४ का ४४ वर्षीय खुसीराम पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिकले कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
उपत्यका चल्ने माइक्रोबसका चालकले पनि दिउँसै मापसे गरेर सवारी चलाउने गरेको भेटिएको छ । बा१ज ८८३४ नम्बरको बालाजु चल्ने माइक्रोका चालक बारा रतनपुरका २५ वषर्ीय रमेश तामाङलाई नियन्त्रणमा लिइएको छ ।
मापसे कारबाहीमा परेपछि अर्को चालकलाई बोलाएर बसलाई निश्चित गन्तव्यमा पठाउने गरेको महाशाखा प्रमुख डीआईजी गणेशराज राईले बताए । नियन्त्रणमा लिएको चालकको स्वास्थ्य परीक्षण गराई मुद्दा चलाउन प्रहरीलाई जिम्मा लगाउने गरिएको उनले बताए । यात्रुहरूको ज्यान उच्च जोखिममा पारेर लापरबाही ढंगबाट सवारी चलाउने गरेकाले सार्वजनिक मुद्दा चलाउने गरेको राईले बताए । सार्वजनिक मुद्दामा २८ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरको चोक-चोकमा सीमित रहेको मापसे चेकिङ रात्रिकालीन यात्रुवाहक बसलाई लक्षित गरी सुरु गरिएको उनले बताए । ट्राफिकले पूर्व-पश्चिम जाने सवारी थानकोटमा, बनेपा जाने सल्लाघारीमा, हेटौंडातर्फ जाने फर्पिङमा, ककनीतर्फ जाने सवारी मुड्खु नाकामा चेकिङ गर्ने गरेको छ ।