Wednesday, October 21, 2020

१२ सहकारीमा ९ हजार सदस्यको १२ अर्ब बचत डुब्यो।

 २०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन्, १२ लाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ, त्यहाँ जनताको अर्बौँ बचत वर्षौँदेखि डुबेको छ, समस्या समाधानलाई गठित व्यवस्थापन समिति आफैँले थप करोडौँ खर्च गरेको छ, तर एउटा पनि समस्या समाधान भएको छैन

२०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन्, १२ लाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ, त्यहाँ जनताको अर्बौँ बचत वर्षौँदेखि डुबेको छ, समस्या समाधानलाई गठित व्यवस्थापन समिति आफैँले थप करोडौँ खर्च गरेको छ, तर एउटा पनि समस्या समाधान भएकाे छैन।

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमा जनताको १२ अर्बभन्दा बढी बचत डुबेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ती संस्थाका ९ हजार सदस्यले आफ्नो बचत फिर्ता गरिदिन निवेदन दिएका छन् । ओरिएन्टल सहकारीबाट सबैभन्दा बढी ७ हजार ६ सय ४८ सदस्यले ११ अर्ब १० करोड ७७ लाख रुपैयाँ फिर्ता गरिदिन माग गरेको सदस्य सचिव केशव पौडेलले जानकारी दिए ।

 सरकारले पहिलोपटक २० कात्तिक ०७४ मा ओरिएन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि १८ असार ०७५ मा ओरिएन्टलसँग सम्बन्धित अन्य ९ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्‍यो । तिनमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ परेका छन् ।

यी संस्थाहरूले सर्वसाधारणको कति बचत हिनामिना गरेका छन् भन्ने विस्तृत विवरण प्राप्त गर्ने क्रममै रहेको समितिले जनाएको छ । १९ फागुन ०७५ मा सोसाइटल बचत तथा ऋण सहकारी संस्था र १२ साउन ०७६ मा लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थालाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको थियो । 

सहकारी ऐन २०७४ को दफा १०४ ले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सकिने व्यवस्था गरेको छ । सहकारीका २५ जना सदस्यले सहकारी विभागका रजिस्ट्रारलाई निवेदन दिएको अवस्थामा विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सक्छ । अहिले यो अधिकार स्थानीय सरकारलाई दिइएको छ ।

तर, सरकारले तीन वर्षअघि गठन गरेको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले आजसम्म एउटा पनि सहकारीको समस्या समाधान गर्न सकेको छैन । समितिले तलब–भत्तालगायतमा करोडौँ रुपैयाँ खर्च गरे पनि उपलब्धि शून्य देखिएको छ । समिति सञ्चालनका लागि गत आव ०७६/७७ मा २ करोड ६१ लाख खर्च भएको समितिका सदस्य सचिव केशव पौडेलले जानकारी दिए ।

उनका अनुसार त्यसअघिका वर्ष भने मन्त्रालय आफैँले समितिको व्यवस्थापन र सञ्चालन गर्दै आएको थियो । त्यस्तै, चालू आवमा समितिको सञ्चालनका लागि सरकारले चालू आर्थिक वर्ष ०७७/७८ का लागि २ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये कर्जा असुली तालिमका लागि ४ लाख, क्षमता अभिवृद्धि कार्यक्रमका लागि ६ लाख, लिलाम बिक्रीसम्बन्धी कार्यका लागि ७ लाख, अनुगमन तथा मूल्यांकनका लागि ८ लाख र अन्य रकम तलब–भत्ता, पदाधिकारीको सुविधा र कार्यालय सञ्चालनका लागि छुट्याइएको छ । २०७४ पुसमा सरकारले समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन गरी निक्षेपकर्तालाई राहत दिने जिम्मा दिएर समिति गठन गरेको हो ।

०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन् । जसमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १२ वटालाई समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा गरिएका सहकारीमध्ये कुनैको पनि संस्था तथा सञ्चालकका नाममा कति सम्पत्ति छ भन्ने तथ्यांकसमेत समितिसँग छैन ।

समितिले आन्तरिक रूपमा काम गरिरहेकाले सुस्त देखिएको अध्यक्ष कुमारप्रसाद पोखरेलले बताए । ‘म समितिमा नियुक्त भएपछि कोरोना संक्रमण सुरु भयो । कोरोनाले पनि काम गर्न असहज भयो । अघिल्लो समिति ओरिएन्टल सहकारीमा बढी केन्द्रित भयो । त्यसैले काम नदेखिएको हो,’ उनले भने । कोरोना संक्रमणको अवधिमा पनि लुःनिभा र सोसाइटल सहकारीको अध्ययन भइरहेको उनको भनाइ छ । तिहारपछाडि देखिने गरी केही काम गरिने उनले बताए ।  

समस्याग्रस्त घोषणा भएका सहकारीमध्ये चारवटा सहकारीको बैंक खातामा ३ करोड रहेको समितिले जनाएको छ । ओरिएन्टल कोअपरेटिभको २ करोड ६९ लाख, सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको १९ लाख, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाको ९ लाख, प्रभु बचत तथा ऋण सहकारीको ४ लाख रुपैयाँ रहेको समितिको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, समितिले समस्याग्रस्त सहकारीका ६ थान मोटरसाइकल जफत गरी लिलामी गर्ने प्रक्रियामा राखेको छ । सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, कर्मचारी र ऋणीहरूहरूको नाममा रहेको घरजग्गा र संस्थाले बैंक तथा वित्तीय संस्थामा धितो राखेको घरजग्गा र अपार्टमेन्ट रोक्का गरेको जनाएको छ ।  


 सरकारको बेवास्ता
समस्याग्रस्त सहकारीको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिँदा पीडितहरूले निक्षेप फिर्ता पाएका छैनन् । ओरिएन्टल सहकारीको विषयमा सर्वोच्च अदालतको फैसलाले समितिको काममा अवरोध भएको भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताइन् । ‘समितिले काम गरेकै छ । तर, अदालतले नगर्नु भनेपछि काम रोकियो,’ उनले भनिन् । 

समितिले ओरिएन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतसँग सम्बन्धित आयुषा डेभलपर्स, कोहिनुर हिल हाउजिङ, ओरिएन्टल डेभलपर्स एन्ड बिल्डर्स र त्यसअन्तर्गत २२ वटा परियोजनाको मूल्यांकन गरी पीडितलाई निक्षेप फर्काउने प्रयास गरेको थियो । समितिले भेगास अपार्टमेन्टसहित ओरिएन्टलको स्वामित्वमा रहेका जग्गा लिलाम समस्या समाधान गर्ने उद्देश्यले २९ कात्तिकमा लिलामी गर्ने सूचना प्रकाशित गर्‍यो ।

तर, १७ मंसिरमा आएको सर्वोच्च अदालतको अन्तरिम आदेशले लिलामी प्रक्रिया रोकियो । ओरिएन्टल समस्यामा पर्दा सहकारी ऐन २०४८ कार्यान्वयनमा थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति भने सहकारी ऐन २०७४ अन्तर्गत गठन भएको हो । त्यसैले सर्वोच्च अदालतले ०७४ सालअघिको घटनालाई अहिलेको ऐनले समेट्न नमिल्ने बताएपछि मन्त्रालयले कारबाही रोकेको थियो । 

समितिले सुधीर बस्नेत एकल सञ्चालक भएको कोहिनुर हिल हाउजिङको नाममा रहेको इमाडोलको ८२ कित्ता जग्गा, ४० रोपनी जग्गामा अधुरो अवस्थामा रहेको भेगास सिटी अपार्टमेन्ट लिलामी बिक्रीबाट रकम संकलन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

दुईतिहाइको सरकार र समाजवादको हल्ला

 हिजोआज नेपालमा समाजवाद र समृद्धिको मिठो गफ बडो मजाले चलाइएको छ । दुईतिहाइको सरकारले समाजवाद ल्याउँछ भनिएको छ । समाजवादमा के हुन्छ भन्ने स्पष्ट मार्गचित्र नै प्रस्तुत नगरी समाजवादको डंका पिटिएको छ । संविधानमै समाजवादउन्मुख राष्ट्र भन्ने लेख्न कुनै कन्जुस्याइँ गरिएको छैन । लेखेर र भनेर समाजवादउन्मुख हुने वा त्यसका लागि समाजवादी कार्यक्रम बनाई लागू गर्नुपर्ने हो ? गम्भीर बहसको खाँचो छ ।

समाजवाद ल्याउनका लागि शासकको मानसिकता पनि समाजवादी हुनुपर्छ । समाजवादका लागि राज्यका संयन्त्र इमान र नैतिकतामा बाँधिनुपर्छ । तर, राज्यको संयन्त्र पूरै भ्रष्ट र लुट मच्चाउने व्यक्तिवादी अराजक खालको छ । शासक, समाजवादको त कुरै छाडौँ, पुँजीवादी मानसिकताका पनि छैनन् । शासकको चरित्र दलाल पुँजीवादको मतियारझैँ लाग्छ । 

अहिले समाजवादको व्याख्या प्रजातान्त्रिक र कम्युनिस्ट भन्नेहरूका बीच आ–आफ्नै प्रकारको छ । वास्तविक रूपमा आमजनताका लागि समाजवाद प्रजातन्त्रवादीको भन्दा कम्युनिस्टहरूकै उत्तम हुन्छ भन्नेमा कुनै शंका छैन । तर, नेपालमा डेमोक्रेट र लेफ्ट भन्ने दुवै थरीले समाजवादलाई एकै ठाउँमा गोलमटोल पारी जनताका आँखामा छारो हाल्न खोजेको जस्तो देखिन्छ ।

कम्युनिस्टहरूकै बीचमा समाजवादबारे एउटै बुझाइ छैन भने कम्युनिस्ट र प्रजातन्त्रवादीका बीचको खिचडीबाट कसरी र कस्तो समाजवाद आउँछ ? समाजवादी व्यवस्था जनताका लागि उत्तम व्यवस्था हो भन्नेमा कुनै दुईमत राख्न जरुरी छैन । समाजवादको अनिवार्यताप्रति आममानव समुदाय पूर्णतः विश्वस्त हुनुपर्छ ।

नेपालमा मात्रै होइन, दुनियाँमा एकपटक समाजवाद अनिवार्य प्रवेश गर्नेछ भन्नेमा दलाल पुँजीको मातले उन्मत्तबाहेकका ज्ञानी र सचेत मानिस सहमत नै छन् । नेपालमा आज जुन किसिमले समृद्धि र समाजवादको हल्ला गरिएको छ, त्यसरी समाजवादी व्यवस्थामा प्रवेश गर्न सकिँदैन । शासन सत्ताको चरित्र नै समाजवादी छैन । सरकारको चरित्र नै समाजवादी छैन । राज्यको संरचना नै समाजवादी छैन भने यो हल्लाबाहेक केही हुन सक्दैन ।

आजको राजनीतिक परिदृश्यलाई गहिरो गरी नियाल्दा राम्रा संकेत देखिएका छैनन् । पुँजीको सामूहिकीकरण र राष्ट्रियकरणको कुनै गुञ्जायस छैन । व्यक्तिगत पुँजी र निजीकरणले सारा मान्छेको मस्तिष्क दूषित भइसकेको छ । अस्थिर सरकारका कारण देशको समृद्धि र विकास भएन, त्यसैले स्थिर सरकार चाहिन्छ भनियो । स्थिर हुनका लागि दुईतिहाइ बहुमत चाहिन्छ, त्यो मत जनताले दिनुपर्छ भनियो ।

मत आएमा देशको कायापलट हुन्छ भनियो । समाजवादका लागि बहुमत भनियो । तर, आज समृद्धि र समाजवादको प्रचार फगत प्रचारबाजी भएको छ । समाजवाद कसरी आउँछ ? कुनै खाका कोरिएको छैन । विश्वमा वास्तविक समाजवादी मुलुक भनेर कुनैलाई भन्न सकिने अवस्था छैन । सारमा सबै पुँजीवादमा विलिन हुन पुगेका छन् । नेपालमा पनि खासमा संसद्वादी कम्युनिस्टको सरकार छ । आफूलाई कम्युनिस्ट भन्दै व्यक्तिगत सम्पत्ति थुपार्न लालायित हुनेहरूको सरकार छ । 

समग्रमा भन्दा सबै छ, तर समाजवादी सरकार छैन । जनताको सरकार छैन । बेरोजगारहरूको सरकार छैन । बिदेसिएका लाखौँलाख युवाको सरकार छैन । किसान–मजदुरको सरकार छैन । इमानदार र स्वाभिमानीको सरकार छैन । बस्, नेपालमा दुईतिहाइको सरकार छ । दुईतिहाइको सरकार आएपछि समाजवाद आउने हल्ला गरिएको थियो । जबकि दुईतिहाइ र समाजवाद त भिन्न विषय हुन् ।

बेरोजगारको सरकार छैन । बिदेसिएका लाखौँलाख युवाको सरकार छैन । किसान–मजदुरको सरकार छैन । इमानदार र स्वाभिमानीको सरकार छैन । बस्, नेपालमा दुईतिहाइको सरकार छ ।

अहिले नेपालीलाई चाहिएको दुईतिहाइको सरकारभन्दा पनि जनताको सरकार हो, जसले जनताको पक्षमा काम गरोस् । जनताका पीर, मर्का र समस्या बुझी समाधान गरिदेओस् । जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापारको वस्तु बनाइन्छ, त्यो देशमा समाजवाद हल्ला मात्रै हुन्छ । देश स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचारका अनेकौँ काण्ड व्याप्त छन् । यस्तोमा कसरी आउँछ समाजवाद ? र, कसले ल्याउँछ समृद्धि ?

शासकले उद्योगधन्दाको विकास एवं सामूहिक पुँजीको विकासमा ध्यान दिन सक्दैनन् भने कसरी आउँछ समाजवाद ? देशका राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मले जीवनभर कुनै उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको लेबी र चन्दाको भरमा यश, आरामको जीवन व्यतीत गर्नुलाई कसरी समाजवादी भन्न सकिन्छ ।

देशका शासकले शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सेना–प्रहरी र न्यायालयलाई राजनीतिक भागबन्डाका आधारमा जनशक्ति व्यवस्थापन गर्छन्, अनि सरकारी कार्यालयमा विभिन्न दलनिकटका भातृ संगठनका झन्डा झुन्ड्याएर जनताको सेवा होइन ट्रेड  युनियनको नाममा राजनीति गर्न छुट दिन्छन् भने त्यो शासकले के गरी ल्याउँछ समाजवाद ? शासक संसदीय राजनीतिको विकासलाई संस्थागत गर्न तल्लीन हुन्छ भने कुन बाटोबाट आउने हो समाजवाद ?

राज्यको संयन्त्र जबसम्म समाजवादी हुन सक्दैन, समाजवादको अभ्यास गर्न सहज हुनेछैन । राज्य संयन्त्रको काम गर्ने पद्धतिमा आमूल परिवर्तनविना न समृद्धि आउँछ, न समाजवाद नै । समाजवाद कागज र भाषणमा होइन, जनताको जीवनमा चाहिएको छ । सही पद्धतिको विकासविना परिवर्तन असम्भव छ । समाजवादी व्यवस्थामा जाने नै हो भने शिक्षा र स्वास्थ्यलाई पूर्ण सरकारी र गुणस्तरीय बनाउनुपर्छ । संस्थागत र नीतिगत भ्रष्टाचारको अन्त्य गरिनुपर्छ ।

जनता र युवालाई उत्पादनमा जोड्नुपर्छ। समाजवादी क्रान्तिमार्फत समाजवादी नीति र कार्यक्रम बनाई लागू गर्नुपर्छ। सबैको पहुँच पुग्ने अस्पताल देशका विभिन्न स्थानमा स्थापना गरिनुपर्छ। रेमिट्यान्सलाई उद्योगधन्दा र विकासमा लागाउनुपर्छ। सरकारी निकायमा दलको राजनीतिलाई निस्तेज गरिनुपर्छ। 

जायश्वर जैसी
२०७७ कार्तिक ५ बुधबार ०७:००:००
नयाँ पत्रिका

आज नवरात्रिको पाँचौं दिन— भगवती स्कन्धमताको पूजा-आराधना गरी मनाइंदै

आज नवरात्रिको पाँचौं दिनभगवती स्कन्धमताको पूजा-आराधना गरी मनाइंदै छ। भगवती स्कन्धमाता अरु कोही नभैकन देवी पार्वती नै हुनुहुन्छ। देवादिदेव महादेवकी पत्नी भएका कारण उहाँलाई महेश्वरी र गोरो वर्णकि भएकाले गौरी पनि भनिन्छ। उहाँ भगवान स्कन्ध अर्थात कार्तिकेयकी माता भएकाले उहाँलाई स्कन्धमाता भनिएको हो। भगवती पार्वती आफ्ना पुत्रलाई निकै मायाँ गर्नुहुन्छ र आफ्ना पुत्रका नामबाट चिनिदा आफूलाई आनन्दित भएको अनुभव गर्नुहुन्छ। 

 भगवती स्कन्धमाता कमलको फूलमाथि आशिन हुनुहुन्छ। जब-जब दानबहरुको कुकृत्य (राक्षसत्व) बढ्दैजान्छ, तब स्कन्धमाता सिंहमाथि विराजमान हुनुहुन्छ र राक्षसहरुको बध गर्नुहुन्छ।

 भगवती स्कन्धमाताको पूजा गर्ने भक्तजनहरुले भगवान कार्तिकेयको पूजा गरेको फल पनि प्राप्त गर्दछन। पुराणमा व्याख्या गरिएअनुसार, नवरात्रिको पाँचौ दिन भगवती स्कन्धमाताको पूजा गर्नाले भक्तजनहरुले भौतिक सम्पत्तिको मोहबाट मुक्ति पाउने र मोक्षका लागि ध्यान केन्द्रित गर्ने शक्ति हासिल गर्दछन।  भगवती स्कन्धमाताले आफ्ना भक्तजनहरुको आत्माको शुद्धीकरण पनि गर्नुहुन्छ। सौर्य प्रणालीकी प्रमुख देवी भएका कारण स्कन्धमाताले आफ्ना भक्तजनहरुलाई अपार महत्व र विशिष्ट गुण पनि प्रदान गर्नुहुन्छ।  तस्विर सौजन्य: गुगल 

 बुँदागतरूपमा भन्नुपर्दा:

१ स्कन्दमाताको पूजा नवरात्रिको पाँचौ दिन गरिन्छ।

२ उहाँले आफ्ना पुत्र स्कन्द अर्थात् कार्तिकेयलाई आफ्नो काखमा राख्नुभएको छ। 

३ उहाँका तीनवटा आँखा र चारवटा हात छन। 

४ उहाँका दुइवटा हातमा कमलका फूल छन भने अरु दुइवटा हातले प्रतिरक्षा गर्ने र दिने भन्ने अर्थ जनाउने संकेत गरेका छन। 

५ सिंहमाथि विराजमान हुने स्कंदमता ज्ञानका भण्डार हुनुहुन्छ। 

६ योग-शास्त्रमा उहाँ विशुद्ध चक्र र हामबीजा मन्त्रको प्रतिनिधित्व गर्नुहुन्छ। 

७ स्कन्दमाताले मातृत्व, उर्बरशिलता र मात्री-पुत्र सम्बन्धलाईसर्वोच्चता पनि प्रदान पनि गर्नुहुन्छ।