Sunday, November 11, 2012

राष्ट्रिय एकताको सरकारले मात्र बजेट प्रस्तुत गर्नसक्छ: पौडेल


नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले सहमतिको सरकार छिटै नबनेको खण्डमा संविधान सभाका लागि नयाँ निर्वाचन हुन असम्भव भएको कुरा बताउनुभएको छ। प्रतिपक्षी दलहरुले शनिबार सार्बजनिक गरेको सरकार विरोधी आन्दोलनको व्यावहारिकता सम्बन्धी विषयमा छलफल गर्न कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकपछि संचारकर्मीहरुसङ्ग कुराकानी गर्दै उप-सभापति पौडेलले सो कुरा बताउनुभएको हो। 

वर्तमान सरकारले पेश गर्नलागेको बजेटका सन्दर्भमा बोल्दै उप-सभापति पौडेलले राष्ट्रिय एकताको सरकारले मात्र बजेट प्रस्तुत गर्नसक्ने कुरामा नेपाली कांग्रेस स्पस्ट छ भन्नुभयो।  

बैठकले आन्दोलनका कार्यक्रमलाई व्यापक जन-परिचालनका माध्यमबाट शान्तिपूर्ण ढङ्गले अघि बढाउने निर्णय गरेको छ। कांग्रेस उप-सभापति पौडेलले प्रस्तावित आन्दोलनलाई प्रभावकारी बनाउने र कार्यविभाजन गरेर जानेबारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो। आवश्यक परे पार्टी केन्द्रीय समितिको बैठक बसेर त्यसलाई औपचारिकता दिने समेत निर्णय बैठकले गरेको जानकारी पनि उहाँले दिनुभयो। 

'सहमतिकै आधारमा बजेट ल्याउनुपर्ने पक्षमा उहांहरु हुनुहुन्छ': डा महत

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति समक्ष पेश गर्नलागिएको आर्थिक विधेयक (बजेट)का सन्दर्भमा भूतपूर्व अर्थमन्त्रीहरुसङ्ग छलफल गर्नुभएको छ। दाहाल निवास लाजिम्पाटमा आज आइतबार विहान भएको छलफलमा भूतपूर्व अर्थमन्त्रीहरुले सबै राजनीतिक दलहरुसंग सहमति गरेर मात्र बजेट ल्याउन अध्यक्ष दाहाललाई सल्लाह दिनुभयो। सहमति विनाको बजेट प्रस्ताव असंवैधानिक हुने धारणा पनि भूतपूर्व अर्थमन्त्रीहरुले व्यक्त गरे।

छलफल कार्यक्रमपछि संचारकर्मीहरुसङ्ग कुराकानी गर्दै भूतपूर्व अर्थमन्त्री एबम् नेपाली कांगेसका नेता डा रामशरण महतले राजनीतिक दलहरुबीच सहमति विना बजेट ल्याउने सोचमा सरकार नरहेको कुरा बताउनुभयो। छलफलका क्रममा, यसघि संचार माध्यममा आएजस्तो जसरी भए पनि बजेट ल्याउछु भन्ने सोच प्रधानमन्त्री, एनेकपा माओवादीका अध्यक्ष, अथवा राष्ट्रिय योजना आयोगका अध्यक्ष कसैको पनि नभएको आफूले पाएको  डा महतले बताउनुभयो। 'सहमतिकै आधारमा बजेट ल्याउनुपर्ने पक्षमा उहांहरु हुनुहुन्छ'  डा महतले भन्नुभयो।
भूतपूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता शुरेन्द्र पाण्डेले राजनीतिक सहमति विना ल्याइने बजेट असंवैधानिक हुने विचार व्यक्त गर्दै सहमति विना बजेट नआउने ठोकुवा गर्नुभयो। 
अर्थमन्त्री वर्षमान पुनले पनि शीर्ष नेतृत्वबीच बसेर राजनीतिक निर्देशन भए मात्रै बजेट तयारी गर्न सहज हुने बताउनुभयो । 'बजेटको आकार र बजेट आउनुपर्छ भन्ने कुरामा मतभेद देखिएन,' उहाँले भन्नुभयो। आज बस्ने शीर्ष नेताहरुबीचको बैठकले बजेटको वातावरण बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। 

म्यान्मामा 6.8 रेक्टर स्केलको भूकम्प

म्यान्माको मध्ये भागमा आज विहान भएको शक्तिशाली भूकम्पमा परी ठूलो जान-धनको क्षति भएको समाचार छ । म्यान्माको दोश्रो ठूलो शहर मान्डलेदेखि १ सय २० किमि उत्तरमा केन्द्रविन्दु रहेको सो भूकम्पमा परी कम्तिमा बाह्रजनाको ज्यान गएको आशंका गरिएको छ। कम्पनको मुख्य बिन्दु जमीनको सतहदेखि दस किलोमिटर मात्र गहिराईमा  भएको जानकारी अमेरिकी भूगर्भ सर्भेक्षण विभागले दिएको छ।

म्यान्माका स्थानीय संचार माध्यमहरुले दिएको जानकारीअनुसार, विहान ७ ४२ बजे भएको सो भूकम्पक कारण श्वेबो नगरमा निर्माणाधीन एउटा पुल क्षतिग्रस्त भएको छ । भूकम्पबाट आतंकित स्थानीय बासिन्दाहरु फेरि अरु कम्पन हुने त्रासले हतार-हतार घरबाट बाहिर निस्केका थिए। 

न्यापिदा नगरका एकजना नाम बताउन नचाहने अधिकारीले फ्रान्सेली समाचार संस्थालाई दिएको जानकारीअनुसार,  भूकम्पका कारण दुइजना मरेको, तीनजना घाइते भएको र पांचजना हराइरहेको खबर प्राप्त भएको छ। श्वेबो नगरका प्रहरी अधिकारीले निर्माणाधीन रादाना थिन्गा पुलको बिशाल बिम भाँचिएर नदीमा खस्दा त्यहाँ काम गरिरहेका पांचजना मजदूर हराइरहेको जानकारी दिएका छन्। त्यसैगरी, क्याउक्  म्याउंग नगर नजिकको एउटा घर भत्किंदा एउटी महिलाको मृत्यु भएको र दसजना हराइरहेको जानकारी पनि ती अधिकारीले दिए। 
मेरो जीवनमा मैले आजसम्म सुनेको यो सबैभन्दा ठूलो भूकम्प भएको विचार श्वेबो निवासी बाउन्न वर्षीय सोए सोएले असोसिएटेड प्रेसलाई भने। 
म्यान्मामा गत वर्षको मार्च महिनामा भएको भूकम्पमा परी कम्तिमा पचहत्तरजनाले ज्यान गुमाएका थिए। 

चीनको आर्थिक वृद्धि दरले 7.5 प्रतिसतको रेखा पार गर्ने


चीनको अर्थतन्त्रले पुन गति हासिल गर्दैछ, र विश्वको यस दोश्रो ठूलो अर्थतन्त्रको वृद्धि दरले सन् 2012 मा 7.5 प्रतिसतको रेखा पार गर्नेछ।तथापि, आर्थिक वृद्धि दरमा पुनरावृत्तिका लागि अझै धेरै काम गर्न बाँकी छ, चीनको आर्थिक योजना नियोगका प्रमुखले शनिबार राजधानी बेइजिंगमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो। 
गत अक्टुबर महिनामा चीनको अर्थतन्त्रमा उत्थानका संकेतहरु प्रस्टै देखिन्छन र चीनले यस वर्षका लागि तय गरेको आर्थिक वृद्धिको लक्ष हासिल गर्ने सम्भावना बढी छ, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख (यस पदको हैसियत मन्त्री सरहको हुन्छ) चांग फिंगले भन्नुभयो। सन् 2012 मा चीनको राजश्व आम्दानी लगभग 127 खर्ब चिनियाँ युअन पुग्ने अनुमान गरिएको जानकारी पनि चांगले दिनुभयो। गत बर्ष चीनको वार्षिक राजश्व कग्भाग103 खर्ब चिनियाँ युअन थियो।   
चीनको यस बर्षको तेस्रो चौमासिकको वृद्धि डर 7.4 प्रतिसतमा झरेको थियो जसले विश्वब्यापी आर्थिक मन्दीका कारण सन् 2008 मा देखापरेको आर्थिक अधोगति दोहारिन्छ कि भन्ने चिन्ताको बीऊ चिनियाँ नेतृत्व तहमा रोपेको थियो। तर, चांग फिंगले भन्नुभयो, यस बर्षको आर्थिक अधोगति केही हदसम्म, अर्थात् आंशिकरुपमा, सरकारी हस्तक्षेपका कारण देखापरेको हो। यस वर्षको आर्थिक वृद्धिमा अधोगतिका लागि धेरै पक्षहरु जिम्मेवार छन्, चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं महादिवेशनले आफ्नो कारबाही जारी राखेको अवधिमा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै चांगले भन्नुभयो, जस्तै चिनियाँ अर्थतन्त्रको दिगो विकासलाई मूर्त रुप दिनका लागि यस वर्षको आर्थिक वृद्धि दरलाई 7.5 प्रतिसतमा झर्ने निर्णय चिनियाँ सरकारले लिएकोथियो। यसका अतिरिक्त, यूरोपको आन्तरिक ऋण संकट जस्ता वाह्य कारणहरुले पनि उभ्रँदो अर्थतन्त्रको वृद्धिलाई पछाडि धकल्ने काम गर, चांगले भन्नुभयो। तथापि, आर्थिक वृद्धिका पछिल्ला सूचकांकहरुले यस आर्थिक बर्षको शुरुमा तय गरिएको वृद्धिको लक्ष हासिल गर्न सकिने कुरामा हामीलाई विश्वस्त तुल्याएका छन्। महत्वपूर्ण चुनौती र कठिनाइका बाबजुद हाम्रो आर्थिक वृद्धिले अझै पनि साढे सात प्रतिसत वृद्धिको लक्षलाई उछिन्न सक्छ, चांगले भन्नुभयो। तर पनि, आर्थिक उत्थानका लागि चीनको आधार त्यति सबल भइनसकेको अवस्थामा सरकारी तहबाट निगरानीको स्तरलाई कमजोर पार्नु नहुने र प्रयासलाई निरन्तरता दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।