Showing posts with label बुबाकाे स्मरण. Show all posts
Showing posts with label बुबाकाे स्मरण. Show all posts

Tuesday, September 7, 2021

जन्म दिने बुबालाई एक पटक खुशीसाथ स्मरण गराैं।

कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो। गुरु पूर्णिमाका दिन गुरुको सम्झना गरियो भने कुशे 
औँसी पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हाे । संसारमा हरेक विहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ। विहान उदाएका सूर्य बेलुकि भएपछि अस्ताउने प्रकृतिकाे रीत छ। यिनै दिन र साँझको क्रमसँगै मानव जीवन कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने स्थानमा रूपान्तरित भइरहन्छ।


जुनसुकै धर्म या सम्प्रदायका भए पनि, बुबाको हात समातेर तोती बोली बोल्दै लरबरिएका पाइला चाल्न सिकेकाहरू हामीमध्ये धेरै छौँ। त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बाबु। समाजमा स्थापपित यस मान्यताकाे व्याख्या शब्दले गर्न सकिन्न, यसकाे अनुभूत मात्र गर्न सकिन्छ। तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होल। जे होस् आमा–बुबा नै यस जगतका देख्न सकिने भगवान हुन। आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौं।

यी छोराछोरी बढ्लान, कमाई गर्लान् र अाफूलार्इ माँड देलान भन्ने अास हरेक आमा–बाबुले आफ्ना छोराछोरीबाट गरेका हुन्छन। सानाेमा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आस गर्नु स्वाभाविक पनि हाे।

एउटा सामान्य मानव जीवनकाे आधा भाग राम्रो छोराे अथवा छोरी बन्ने उत्कट चाहना र अर्काे आधा भाग राम्रो बुबा वा आमा बन्ने अभ्यासमै बित्छ। कर्तब्यको यो जीवन स्वरुपमा बुबा–आमाको महत्व धेरै हुन्छ। एउटा बच्चालार्इ सफा र फोहरबारे जानकारी हुन्दैन। लगाएको लुगामै दिशा–पिशाब गरिदिन्छ। ती सबै फोहरहरूलाई सफा गर्दै बुबा–आमाले छोरा–छोरीहरूलाई नुहाई–धुवाई पुनः सफा कपडा लगाइदिन्छन। त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुबा–आमाको ख्याल राख्छ, माया दिन्छ, अनि सम्मान पनि। हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ। माता–पिताप्रतिको हाम्रो जिम्मेवारी उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ।

कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोरा–छोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोरा–छोरीले फोनबाटै पनि कुरा गरेर अाशिस लिने गर्छन् भने भौतिकरूपमा अस्त भइसकेका पिताहरूलाई छोरा–छोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराह क्षेत्र लगायतका विभिन्न पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अाध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन।

हरेक धर्ममा आ–आफ्नै चलन छ। तर चलन जेसुकै भएपनि बुबाप्रतिको आदर, सत्कार र सामीप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छन। हामी आफ्ना बुबा–आमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरूका शिवाय अरु केही पनि हाेइनौं। हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरू हाम्रा माता–पिताबाट धेरै नै नजिक हुन्छन। ती सपना र सम्भावनाका प्रदायक, जीवन श्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुबाहरूलाई स्मृति समर्पण।

बढ्दो आधुनिकतासँगै बुबा–आमाहरूलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को–फर्को मान्ने चलन बढेर गइरहेकाे छ। अनि बुबालाई हेला गर्ने कर्म जगतलाई पक्कै मान्य छैन। हामी पनि एक दिन बुबा या आमा हुन्छौँ। तसर्थ, हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततिबाट पछि प्राप्त गर्दछौं। आउँदा पुस्तामा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पूरा गर्नुपर्ने महत्व र आवश्यकता झन् बढ्दैगएको छ।

बुबाको माया गर्न धर्मले पक्कै बाँधेको छैन। समयले छेकेको छैन। अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन। हिउँको कठांग्रिदो चिसोमा हुनुहुन्छ, हावा–हुरी बतासमा हुनुहुन्छ, मरुभूमिको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरूसँग पाैंठेजोरी खेल्दै हुनुहुन्छ भने पनि जन्म दिने बुबालाई एक पटक खुशीसाथ स्मरण गराैं। सामाजिकीकरण, सभ्यता र संस्कारको वर्तमान यस चक्रमा असल छोरा–छोरी बन्न सकौँं। सबैलाई शुभेच्छा। फाेटाे साभारः मुहार पुस्तिका