संचारकर्मी पत्रकारले संचार गर्नुपर्छ, सूचना प्रवाहित गर्नुपर्छ, जस्ताको तस्तै। उसले समाचार लेख्ने हो, समाचारको सिर्जना गर्ने होइन। हरेक प्राणी चेतनशील भएका हुनाले उसको चेतनाले यो सही, यो गलत भन्नसक्छ। यो एकदम राम्रो कुरा हो। त्यसैले त उ सही कुरा मात्र लेख्छ। यसर्थमा जो सही कुरा लेख्छ, त्यो पत्रकार हो, जो गलत लेख्छ, त्यो राजनीतिज्ञ।
पत्रकारले पत्रकार बन्न सक्नुपर्छ, राजनीतिज्ञ बन्ने प्रयास गर्नु हुँदैन। किन त भन्दा राज्यको चौथो अङ्गको हैसियतमा पत्रकारको ठूलो जिम्मेवारी छ, समाजप्रति। यसैले उसले समाचारको आफूलाई मन नपर्ने पाटोका बारेमा उल्लेखै नगरिकन आफूलाई मनपर्ने पक्षलाई मात्र उल्लेख गर्नसक्छ (यद्धेपि यो पनि अपराध नै हो, कारण सत्यलाई लुकाउने प्रयास गरियो), तर घटनालाई आफूखुशी बंग्याएर समाजलाई दिग्भ्रमित गर्ने काम कदापि गर्नु हुन्दैन। किनकि यो त महापाप हो।
गृहमन्त्री विजयकुमार गच्छदारले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकलाई गोली हान्ने आदेश नदिएकै कारण सरुवा गरिएको भन्ने भनाइ गलत हो भन्दाभन्दै फेरि त्यसै कुरालाई कोट्याइरहनु गलत कुरा हो। 'झुटो कुरा काटे मिल्दैन', 'असत्य धुरिबात कुर्लिन्छ' भन्ने हाम्रा नेपाली उखान त्यसै बनाएका होइनन, यिनीहरु सामाजिक परिपाटीका परिष्कृत उपज हुन। यस वास्तविकतालाई नबुझेर आफ्नो राजनीतिक रंगलाई मात्र अरु चर्का बनाउने प्रयास गर्दा, र अहिलेको संक्रमणकालीन अवस्थालाई चर्काउने गरी घटनालाई धेरै उत्तेजित नपारिदिने गृहमन्त्रीको आग्रहलाई वास्ता नगर्दा प्रजातन्त्र साँच्चिकै बिस्थापित हुनसक्छ। अनि त्यसको जिम्मेवारी इतिहासले कसको टाउकामा हाल्ला, बुझ्नुपर्ने कुरा छ।
नेपालको अहिलेको यो अवस्थाको समाधान जुझेर होइन, मिलेर हुनसक्छ। अहिलेको आबश्यकता अलिकति छोडेर भए पनि संक्रमण कालको अन्त्य गर्ने हो। होइन, कुर्चीकै लागि लडिरहने हो भने तिम्रो निधारमा कलंकको दाग त लाग्छ लाग्छ, त्यसका अतिरिक्त नेपाली जनताले तिमीलाई पाखा लगाउने अधिकार त आफूसँगै राखेको छ।