Tuesday, January 1, 2013

अफ्रिकी राष्ट्र आइभोरी कोस्टको अबिजांमा भएको भागदौडमा परी कम्तिमा साठीजनाको मृत्यु


पश्चिम अफ्रिकी राष्ट्र आइभोरी कोस्टको राजधानी अबिजांमा भएको भागदौडमा परी कम्तिमा साठीजना मानिस मारिनुका साथै लगभग दुइ सयजना घाइते भएका छन। 
नयाँ वर्षको रमझममा भाग लिएर फर्कनलागेका मानिसहरु बीच भागदौडमा परी मारिनेहरुमा अधिकांश आठदेखि पन्ध्र वर्ष बीचका केटा-केटी रहेको बताइएको छ।  
भागदौडको कारणबारे थाहा हुन नसकिरहेको अवस्थामा घटनाका बारेमा अनुसन्धान गर्ने प्रतिबद्धता सरकारी पक्षले गरेको छ। नक्सा सौजन्य: बिबिसी 

Aatma Ma.--Kamal Khatri_

अमेरिकी सिनेटद्वारा धनि अमेरिकीहरुका लागि करको परिमाणमा बृद्धी गर्ने र सार्बजनिक खर्च कटौती गर्ने विधेयक पारित


अमेरिकी सिनेटले धनि अमेरिकीहरुका लागि करको परिमाणमा बृद्धी गर्ने र सार्बजनिक खर्च कटौती गर्ने सम्बन्धी विधेयक पारित गरेको छ। 
अमेरिकी उप-राष्ट्रपति र सिनेटमा रिपब्लिकन सांसदहरु बीचको लामो वार्तापछि सो विधेयक संसदमा पेश गर्ने बारे सहमति भएको थियो। 
कानूनको रुप पाउनका लागि संसदका दुवै सदनको स्वीकृति पाउनुपर्ने प्रावधानअनुसर अमेरिकी जना-प्रतिनिधि सभाले यस विधेयकमाथि पछि छलफल गर्ने छ।  तस्विर सौजन्य: गुगल  

जापान सरकारका प्रवक्ताद्वारा पूर्वी चिनियाँ समुद्रमा अवस्थित टापूहरुको स्वामीत्व हासिल गर्न जापान इच्छुक रहेको पुष्टि


सीमा क्षेत्रका सम्बन्धमा चीन र जापान बीच विवाद भैरहेका बेला पूर्वी चिनियाँ समुद्रमा अवस्थित टापूहरुको निजी स्वामीत्व किन्न जापान इच्छुक रहेको कुराको पुष्टि जापान सरकारका उच्च प्रवक्ताले गरेका छन। 
जापानमा सेनखाखु र चीनमा तियाओयु नामले चिनिने ती टापूहरुको स्वामीत्व हासिल गर्न जापान औपचारिक रुपमा सहमत भएको जानकारी जापानी मन्त्रीमण्डलका मुख्य सचिव ओसामु फुजिमोराले दिनुभएको बिबिसीले जनाएको छ। 
मानिसको बसोबास नरहेको, तर प्राकृतिक श्रोतले सम्पन्न ती टापूहरुमाथि जापानले नियन्त्रण गर्दैआए पनि थाईवानले समेत ती टापू आफ्ना भएको दाबी गर्दैआएको छ। 
 तियाओयु टापूहरुमाथिको स्वामीत्व हासिल गर्न जापानको मनसायको विरोध गर्दै चीनले यसबाट चीन र जापान बीचको सम्बन्धमा प्रभाव पर्ने चेतावनी दिएको छ। 
तर जापानी मन्त्रीमण्डलका मुख्य सचिव ओसामु फुजिमोराले भने जापानी भू-भागको एक हिस्साको रुपमा रहेको यस भूमिको स्वामीत्व नीजीबाट सरकारमा आउने मात्र भएकाले यस किन-बेचले कुनै पनि मुलुकलाई कुनै पनि खालको समस्या पार्नुनपर्ने विचार व्यक्त गर्नुभएको छ।  तस्विर सौजन्य: बिबिसी 


उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग-उनद्वारा नयाँ वर्षको पूर्व -सन्ध्यामा राष्ट्रका नाममा पहिलो सम्बोधन


उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग-उनले नयाँ वर्षको पूर्व -सन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको आफ्नो पहिलो सम्बोधनमा आर्थिक सुधारको आबश्यकता, र कोरियाली एकीकरणक सन्दर्भमा उत्तर कोरियाको धारणा स्पष्ट पार्नुभयो। 
राष्ट्रिय टेलिभिजनमार्फत बोल्दै उहाँले बिबादले युद्ध मात्र निम्त्याउने चेतावनी दिनुभयो। दक्षिण कोरियामा अनुदारवादी पार्क गुन-ह्ये मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको केही हप्तामै भएको यस सम्बोधनलाई अर्थपूर्ण हिसाबले हेरिएको छ। 
सन् उन्नाइस सय चौरानब्बेमा किम जोङ्ग-उनका हजुरबा किम इल-सुङ्ग्ले राष्ट्रिय टेलिभिजन र रेडियोमार्फत राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो। किम जोङ्ग-उनका पिता किम जोङ्ग-इलले सार्बजनिक रुपमा विरलै सम्बोधन गर्नुहुन्थ्यो। 
राष्ट्रपति किम जोङ्ग-उनको सम्बोधनलाई उत्तर कोरियाका तीनवटा प्रमुख समाचारपत्रले संयुक्त सम्पादकीय बनाएर प्रकाशित गरेका थिए। तस्विर सौजन्य: बिबिसी 

विगठित संविधान सभाले गरेका कामहरुको स्वामीत्व ग्रहण गरे सरकार परिवर्तनका बारेमा सोच्नसकिने: यादव

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले मुलुकको वर्तमान अन्योलपूर्ण अवस्थाको सहज निकासका सम्बन्धमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको यही पुस १४ र १५ गते बसेको पहिलो केन्दीय कार्य–समितिको बैठकबाट पारित धारणा अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राज किशोर यादवले सार्वजनिक गर्नुभयो। 

संविधान सभाले सम्पन्न गरेका कामहरूको स्वामित्व ग्रहण गरी ती विषयहरूलाई दोस्रो संविधान सभामा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने पार्टीको धारणा रहेको जानकारी अध्यक्ष यादवले दिनुभयो। 

तत्कालीन राज्य पुनःसंरचना तथा शाक्ति बाँडफाँड समितिले प्रस्तुत गरेको १४ प्रदेश, तत्कालीन उच्चस्तरीय राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको १० प्रदेश र त्यसमा अल्पमतको रुपमा आएको छ प्रदेशको प्रस्तावमा सहमति नबनेको तथा उक्त विषय विवादित रहेको सन्दर्भमा विवादितरुपमै ग्रहण गरेर थप छलफल एवं अन्तिम निर्णयका लागि दोस्रो संविधान सभामा प्रस्तुत गर्नुपर्ने पार्टीको धारणा रहेको  जानकारी पनि उहाँले दिनुभयो। 

पार्टीले सहमतिको आधारमा वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई पुनःगठन गरी राष्ट्रिय सहमतिको सरकारको रुपमा रुपान्तरित गर्नसकिने वा संयुक्त लोकतान्त्रिक गठबन्धनभित्रबाटै कुनै अर्को नेताको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नसकिने विकल्प प्रस्तुत गरेको छ।

यसैगरी प्याकेजमा सहमति भएमा चुनावी सरकारको नेतृत्वका अन्य विकल्पमाथि छलफल गर्नसकिने र प्याकेजमा सहमति नभए कांग्रेस-एमालेको नेतृत्व पार्टीलाई नेतृत्व दिन नसकिने कुरा अध्यक्ष यादवले बताउनुभयो। रासस

कठीन अवस्थामा नेतृत्व क्षमता प्रदर्शन गरी सही निर्णयका साथ देशलाई अघि बढाउनसक्नु असल नेताको गुण हो।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वीपी कोइरालाको ३७ औं राष्ट्रिय एकता तथा मेलमिलाप नीति दिवसका अवसरमा सुन्दरीजलमाहिजो सोमबार भएको कार्यक्रममा बोल्दै 'मलाई प्रधानमन्त्रीको पद चाहिँदैन' भन्नुभएछ। कुरा एकदम राम्रो गर्नुभएछ, उहाँले। 

देश संकटमा परिरहेका बेला एकजना विद्वान र बुद्धिमान अनि दूरदर्शी राजनीतिज्ञले गर्नुपर्ने कुरा गर्नुभए जस्तो लाग्छ, उहाँले। नेपाली कांग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले पनि झापा र विदुरमा आयोजित कार्यक्रमहरुमा बैशाखमा चुनाब हुने निश्चित भए नेपाली कांग्रेस प्रधानमन्त्रीको दाबी छोड्न तयार रहेको कुरा बताउनुभएको छ। 

दूरदर्शी नेताले रणनीतिक हिसाबले सोच्नुपर्छ, बोल्नुपर्छ। नजिकको भाग हेरेर प्रधानमन्त्रीको कुर्चीकै लागि लडिरहँदा आफ्नो दललाई उल्टै घाटा पर्ने खतरा रहन्छ। 
संसद नभएको अवस्थामा अहिलेको आबश्यकता भनेको निर्बाचनमा गएर नयाँ संसदका माध्यमबाट प्रजातान्त्रिक अधिकारहरुको उपयोग हो। भन्नुको अर्थ, देश अहिले संविधानविहीन अवस्थामा रहेका बेला, अहिलेको सबैभन्दा जरुरी काम नयाँ संविधान लेखन र घोषणा हो। चार वर्षको समय-लगानी र नौ अर्बको खर्चमा जनताको संविधान लेखनमा हासिल गरिएका उपलव्धिहरुलाई आत्मसात गरी सहमति हुन नसकेका विषयहरुमा कसरी सहमति जुटाउने भन्ने विषयमा घ्यान केन्द्रित गर्नुपर्छ, विवेकशील राजनीतिक दलका नेताहरुले। 
आगामी बैशाखमा निर्बाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगमा आयुक्तहरुको नियुक्ति लगायतका विषयहरुमा ध्यान केन्द्रित गरी सत्ता बाहिरै रहेर पनि विरोधीको नभई सिर्जनशील प्रतिपक्षको भूमिका निर्वाह गर्दा कालान्तरमा नेपाली कांग्रेसलाई नै फाइदा हुन्छ। 
आफ्नै नजिकका, अथवा आफ्नै दलका पनि कतिपय लालची मित्रहरुको दुर्नियतयुक्त सल्लाहका पछाडि विचारै नगरिकन लाग्दा कतिपयको राजनीतिक जीवन नै सखाप भएको इतिहास छ, विश्वमा। सुशील कोइरालालाई अघि लगायो भने आफूले पनि खान पाइन्छ भनेर विश्व परम्परा र संवैधानिक प्रावधानको बेवास्ता गर्नखोज्नेहरुले नै विभिन्न निहुँमा कामचलाउ सरकारको ठाउँमा आफू कामचलाउ बनेर जाने खुड्किलो बनाउनखोजेका पनि हुनसक्छ। यस्तो अवस्थामा नेताहरुले आफ्नो नेतृत्व क्षमताको प्रदर्शन गर्नसक्नुपर्छ, र सही निर्णय लिनसक्नुपर्छ।  तस्विर सौजन्य: इकान्तिपुर