Wednesday, October 17, 2012

गिरीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार


काठमाडौ, कार्तिक १ - यस वर्षको 'कान्तिपुर रेडियो पत्रकारिता पुरस्कार' सञ्चारकर्मी प्रवीण गिरीलाई मरणोपरान्त प्रदान गरिएको छ । Prabin-Giriरेडियो कान्तिपुरको वाषिर्कोत्सव अवसरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले स्वर्गीय गिरीकी पत्नी रम्भा गिरीलाई मंगलबार पुरस्कार प्रदान गरेका हुन् । यो नेपाली रेडियो क्षेत्रको सबैभन्दा धेरै राशि ५० हजार रुपैयाँको पुरस्कार हो ।
२०३२ सालमा रेडियो नेपाल प्रवेश गरेका गिरीले ३३ वर्ष रेडियोमा र २३ वर्ष नेपाल टेलिभिजनमा समाचार बाचन गरेका थिए । नेपाल टेलिभिजनमा स्थापनाकालदेखि नै आबद्ध गिरीको विद्युतीय सञ्चारमाध्यममा समाचार बाचन गर्ने बेग्लै शैली थियो । ओजस्वी आवाज भएका गिरी त्यही सुमधुर शैलीका कारण रेडियोमा ३० को दशकदेखि र नेपाल टेलिभिजनमा ४० को दशकपछि २०६५ सम्म श्रोता र दर्शकमाझ लोकप्रिय थिए ।
परिवारजनका अनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनबाट २०६३ सालमा अवकाश पाएपछि पनि उनी विद्युतीय सञ्चारमाध्यमबाट अलग रहन सकेनन् । त्यसपछि उनी निजी टेलिभिजनहरू एभिन्युज र हिमालय टीभीमा करिब ५ वर्ष समाचार सम्पादक रहे । २५ वर्षको उमेरदेखि रेडियोमा काम थालेका गिरी सुरुका दिनमा रेडियो नेपालमा विदेशी समाचार अनुवादको काम गर्थे । तर प्रस्ट र मौलिक स्वर भएकाले अनुवाद छाडी समाचार बाचन थालेका थिए । उनीसँगै काम गरेका सञ्चारकर्मीहरूका अनुसार गिरीमा समाचारलाई जीवन्त बनाएर पढ्ने खुबी थियो । गिरी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका सहप्राध्यापकसमेत थिए । बिहान मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा करिब ३१ वर्ष अध्यापन गरेका उनी दिउँसो रेडियो नेपाल र बेलुकी नेपाल टेलिभिजनमा समाचार बाचन गर्थे । काठमाडौंको क्षेत्रपाटीमा २००७ साल माघ १६ गते जन्मेका उनी कवि पनि थिए । आन्द्राको क्यान्सरबाट पछिल्ला तीन वर्षदेखि बिरामी गिरीको ६२ वर्षको उमेरमा गत साउन १४ गते निधन भएको थियो । उनले पुर्‍याएको योगदानको कदर गर्दै रेडियो कान्तिपुरले मरणोपरान्त पुरस्कृत गरेको हो ।

ओली न्युयोर्कमा अस्पताल भर्ना


न्युयोर्क, कार्तिक १ - एमाले नेता केपी शर्मा ओली सिकिस्त बिरामी भएपछि न्युयोर्कको एक अस्पतालमा भर्ना भएका छन् । स्थानीय सयम अनुसार मंगलबार बिहान ओलीलाई क्वीन्स स्थित फरेस्ट हिल अस्पतालमा भर्ना गरिएको हो ।
KP Oliबुधबार कोलम्बो जाने तालिका रहेका ओलीलाई केही दिन अस्पतालमा राखिने र आवश्यक परे थप उपचारका लागि नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा लैजाने तयारी भएको छ । मेक्सिकोमा आयोजना भएको ल्याटिन र एसियाका राजनीतिक पार्टीहरुको सम्मेलनमा भाग लिएर सोमबार राति न्युयोर्क फर्किएका ओलीलाई लागेको उच्च ज्वरो नघटेपछि अस्पतालमा लगिएको थियो ।
उनको रगतमा हेमोग्लोबिनको कमी भएको जनाईएको छ । एमाले निकट प्रवासी संगठन युएनडीएफका अध्यक्ष सीता खरेलले  दिएको जानकारी अनुसार बिगतमा मृगौला प्रत्यारोपण गरिएका ओलीको अवस्था शुरुमा चिन्ताजनक रहेपनि अहिले केहि सुधार आएको संलग्न चिकित्सकहरुले बताएका छन् । खरेलले भनिन 'मृगौला प्रत्यारोपण गरिएका नेताज्यूको ज्वरो तीन दिन देखि नघटेपछि चिकित्सकहरुले स्थिति सामान्य नरहेको बताए ।' मंगलबार बिहान उनलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अबुदाबी हुदै बिहीबार न्युयोर्क आउनेक्रममै ओली  सामान्य बिरामी भएका थिए ।