Wednesday, November 7, 2012

'छिटो सहमतिमा आउनुहोस': राष्ट्रपति यादव


काठमाडौ, कार्तिक २२ - राष्ट्रपति रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालाबीच बुधबार बिहान बजेट, निर्वाचन र संविधानलगायतका समसामयिक विषयमा छलफल भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटवार्तामा राष्ट्रपति यादवले बजेट, निर्वाचनलगायतका विषयमा छिटो सहमति गरेर राजनीतिक निकास दिन आग्रह गरेका थिए ।
संविधानसभा भङ्ग भएयता बढ्दो राजनीतिक सङ्कटबाट मुलुकलाई निकास दिन राष्ट्रपति   यादवले विभिन्न दलका शीर्ष नेताहरुलाई बेग्लाबेग्लै र सामूहिकरुपमा भेट्दै आएका छन् । ती भेटमा राष्ट्रपति डा यादवले दलका नेताहरुलाई छिटो सहमतिमा पुगेर राजनीतिक निकास खोज्न आग्रह गर्दै आएका छन् ।
राष्ट्रपति डा यादव मुलुकको अवस्थाप्रति झन् चिन्तित भएको पाएको भन्दै सभापति कोइरालाले बजेटको बेला आएकाले छिटो सहमतिमा पुग्नुपर्नेमा जोड दिएका थिए ।
“अध्यादेशबाट बजेट आउनु भनेको प्रजातन्त्रको मान्यताविपरीत भएकाले यसलाई छिटोभन्दा छिटो सहमति गरेर टुङ्ग्याउनुस्,” भेटवार्तामा राष्ट्रपतिसँग भएको भनाइ उद्धृत गर्दै सभापति कोइरालाले भने ।
अहिलेको अवस्थामा सहमति भएन भने कस्तो स्थिति आउने  हो भनेरराष्ट्रपति मा झन् चिन्ता बढेको देखिएको पनि सभापति कोइरालाले बताए ।
राष्ट्रपति यादवले चुनाव र संविधानको बारेमा पनि छिटो टुङ्गो लगाउन सके मुलुकले राहतको सास फेर्न पाउने सुझाव दिएका थिए ।
सभापति कोइरालाले भने बजेट अध्यादेश अस्वीकार गर्नुपर्ने भनेर प्रतिपक्षी दलहरुले भन्दै आएको बताउँदै राजनीतिक सहमति गरेर राष्ट्रिय सहमतिका लागि वर्तमान प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
दलहरुबीच विश्वासको सङ्कट रहेकाले विश्वासको वातावरण बनाउन पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने सभापति कोइरालाको भनाइ थियो ।
मंगलबार अर्थमन्त्रीसँगको भेटमा उनले बजेटसँगै अरु कुरा पनि मिल्छ भनेो तर आफूले उल्टो कुरा नगर्न भनेको उल्लेख गर्दै सभापति कोइरालाले वर्तमान सरकारले मार्ग प्रशस्त गरे विश्वासको वातावरण तयार हुने, त्यसैले बजेटलगायतका अन्य कुरामा पनि सहमतिको वातावरण बन्ने बताए ।

रासस 

निर्वाचन आयोगको कार्यवाहक प्रमुखमा गुरुङ


कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आजदेखि अवकाश पाएपछि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठताका आधारमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले पाएका छन् ।
सेवा अवधि पूरा गर्नुभएका प्रमुख निर्वाचन आयुक्त उपे्रतीले बुधबारदेखि स्वतः अवकाश पाएका हुन् । निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बिहीबारदेखि कार्यालय नआउने सूचना पठाएको बताउँदै वरिष्ठताका आधारमा आयुक्त गुरुङले भोलि बिहीबारदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने बताए । 
प्रवक्ता त्रितालका अनुसार संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक सेवा सर्तका बारेमा व्यवस्था गर्न बनेको ऐन, २०५३ ले वरिष्ठताका आधारमा भनेकाले गुरुङले जिम्मेवारी सम्हाल्ने भएको हो ।
विसं २०६६ जेठमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अवकाश लिएपछि उप्रेती कार्यवाहक प्रमुख बनेका थिए । आयुक्त गुरुङले कार्यवाहकको जिम्मेवारी पुससम्म मात्रै निर्वाह गर्नेछन् ।
संविधानले एक प्रमुख निर्वाचन आयुक्त र चार आयुक्त रहनुपर्ने व्यवस्था गरेपनि नयाँ नियुक्ति हुन सकेको छैन । अब आयोगमा एक कार्यवाहक निर्वाचन आयुक्त र आयुक्त अयोधीप्रसाद यादवमात्र छन् । उनीहरु दुवैजनाको कार्यावधि पुससम्म मात्रै हो ।

३६ किलोमिटरको भाडा ८ सय

 राजपुर-चवराचौतारा ग्रामीण सडकमा गुड्ने सवारी साधन सञ्चालकले मनपरी भाडा असुल्ने गरेका छन् । उनीहरूले ३६ किलोमिटर यात्रा गरेबापत ग्रामीण क्षेत्रका सर्वसाधारणबाट ८ सय रुपैयाँ न्यूनतम असुल्ने गरेका छन् जब कि दिपायलबाट २ सय किलोमिटर टाढा पर्ने धनगढीमा यात्रा गरेको ४ सय ६० रुपैयाँ मात्र भाडा लिने गरिएको छ । 'प्रतिव्यक्ति ८ सय न्यूनतम दर हो,' चवराचौतारा घर भएका सोर्स नेपालका अध्यक्ष मीन बमले भने, 'भारतबाट काम गरी फर्किएकाबाट १ हजारभन्दा माथि भाडा उठाउँछन्, काँधमा बोक्ने झोलाको पनि छुट्टै पैसा माग्छन् ।' सो सडक खण्डमा शैलेश्वरी यातायात व्यवसायी समितिअन्तर्गतका जिप चल्ने गरेका छन् । समितिले उक्त सडक खण्डमा चलानी दिएर जिप चलाउने गरेको भए पनि भाडादर तोकेको छैन । 'भाडा नतोकेर उपभोक्तालाई एकोहोरो रूपमा लुट्ने काममा यातायात व्यवसायीको पनि संलग्नता रहेको छ,' डोटी तिखात्तरका नरबहादुर शाहीले आरोप लगाए । 'मालिकलाई मुनाफा गर्नेतर्फ मात्र समितिको ध्यान गएको छ तर उपभोक्तालाई हुने सास्ती र दुःखबारे न समितिले सुन्छ, न सरकारले नियमन गर्न सक्छ,' उनले भने ।
डोटीमा राजपुर-वराचौतारा सडकमा मात्र नभएर दिपायल-डौड सडकमा पनि यात्रुलाई चर्को भाडा लिएर लुट्ने गरिएको छ । उक्त सडक खण्डमा भारुको दररेट लगाइएको छ । सहर आउँदा एक सय रुपैयाँ नेपाली भाडा लिने सवारीसाधनले गाउँ र्फकंदा भने एक सय भारु लिने गर्छन् । शैलेश्वरी यातायात व्यवसायी समिति काउन्टर प्रमुख भूपेन्द्र शाहले ग्रामीण क्षेत्रमा समितिले निश्चित भाडादर नतोकेको बताए । शाहले भने, 'सवारीसाधनले जोखिममा गाउँका सडकमा सवारीसाधन सञ्चालन गरेकाले भाडा महँगो भएको हुन सक्ने बताए ।' समिति अध्यक्ष हिक्मतसिं चोपडासँग भने सम्पर्क हुन सकेन । डोटीमा सहजपुर-बीपीनगर, पचनाली-मुडभरा, कालागाड-मुडेगाउँ, सानागाउँ-पोखरीलगायत ग्रामीण सडकमा पनि सवारीसाधन चल्ने गरेका छन् । यी सडकमा कानुनी रूपले भाडा उठाउन नपाउने भए पनि जिल्ला तहमा सर्वसाधारणको सेवासुविधाका लागि यातायात सेवा चल्दै आएका छन् ।


दिदीलाई अध्यक्ष बनाउन हिसिलाको दबाब


प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको दबाबमा काठमाडौं उपत्यका खानेपानी विकास समिति (केयूकेएल) का दुईजना सदस्यलाई फिर्ता बोलाइएको छ ।  दिदी तिमिलालाई अध्यक्ष बनाउन असहमति जनाएको भन्दै सदस्य महेश काफ्ले र बाबुराजा महर्जनलाई हटाउन हिसिलाले दबाब दिएकी थिइन् । काफ्ले काठमाडौं महानगरपालिका र महर्जन ललितपुर उप महानगरपालिकाका तर्फबाट सञ्चालक सदस्य छन् ।

प्रधानमन्त्री पत्नीको दबाबपछि महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र ललितपुर उप-महानगरपालिकाका कार्यकारी अधिकृत नरहरि भण्डारीले दुवैलाई फिर्ता बोलाएर महानगरका सञ्जयराज उपाध्याय र ललितपुर उप-महानगरबाट रुद्र गौतमलाई सञ्चालक सदस्यका लागि  सिफारिस गरिएको छ । हाल केयूकेएलका अध्यक्ष प्रयागलाल जोशी छन् । जोशीको कार्यकाल आगामी पुस २७ गते सकिँदै छ । केयूकेएलको विधानअनुसार अध्यक्षको पदावधि एक वर्षको हुन्छ ।
संस्थाको हितभन्दा राजनीतिक स्वार्थको आधारमा आफूलाई पनि हटाउने षड्यन्त्र भइरहेको कुरा अध्यक्ष जोशीले बताउनुभएको छ ।  जोशीलाई अध्यक्षबाट हटाएर दिदीलाई अध्यक्ष बनाउन गत वर्ष पनि हिसिलाले तत्कालीन स्थानीय विकासमन्त्री रहेका टोपबहादुर रायमाझीमार्फत दबाब दिएकी थिइन् । विभिन्न क्षेत्रबाट चर्को विरोध भएपछि उनी पछि हट्न बाध्य भएकी थिइन् ।
तिमिला पनि केयूकेएलको सञ्चालक सदस्य हुन् । 

युद्धबाट हैन, शान्तिकै बाटोबाट परिवर्तन आउँछ


रोल्पाका धनलाल बुढाको बसोबास अहिले थबाङ-४ झकेबाङमा छ । उनको खास घर जेलबाङ-९ खिबाङ हो । सशस्त्र द्वन्द्वकालमा उनको घर दुई पटक जलाइयो । सामान्य किसान बुढाको माइला बुवाको छोरा तिकलाल माओवादीमा लागेका थिए । उनलाई खोज्दै गाउँ पुगेका सुरक्षाकर्मीले तिकलाललाई नभेटेपछि २०५६ सालमा घर जलाएर फर्के ।

बाध्य भएर उनी पनि लडाइँमा होमिए । बल्लबल्ल दुःख गरेर उनले घर बनाए । तर २०५९ सालमा फेरि सुरक्षाकर्मीले आगो लगाइदिए । त्यसपछि उनी जेलबाङतिर फर्केका छैनन् । घरबारविहीन बुढा अहिले वाषिर्क ३० हजार रुपैयाँ तिरेर झकेबाङमा भाडामा बसिरहेका छन् । खेतीपाती र गाईपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । अब उनलाई कुनै हत्या-हिंसा र युद्ध चाहिएको छैन । 'शान्तिपूर्ण वातावरणमा काम गरी खान पाए पुग्छ अब,' धनलालले भने, 'भो पुग्यो, हिंसा । जे हुनु भइसक्यो, अब विकास चाहिएको छ ।' युद्धबाट भोग्नु दुःख भोगिसकेको र गुमाउनु गुमिसकेको उनी ठान्छन् । 'के हुँदो रहेछ र आखिरमा,' उनले भने, 'अब योभन्दा बढी गुमाउनु छैन । 

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, वर्षमान पुनजस्ता उच्च नेताहरूसँग तीव्र असन्तुष्ट थबाङवासीलाई संगठित गरेर नेकपा-माओवादीले फेरि सशस्त्र संघर्षको बहस गाउँमा पुर्‍याएको छ । तर ती प्रस्तावलाई थबाङवासीले ठाडै अस्वीकार गर्दैआएका छन् । 'जति लडियो हिजो नै लडियो । अब बन्दुक बिसाइसकियो । फेरि बन्दुक उठाउने कुरा हुनै सक्दैन,' पूर्वबटालियन सहकमान्डर राजबहादुर रोकाले भने, 'जति युद्ध गरे पनि आखिर विकास चाहिने रहेछ । अब बन्दुक छाडेर घर फर्किसक्यौं । अब युद्धको होइन, विकासका प्रस्ताव लिएर आउन भनेका छांै ।' थबाङका सर्वसाधारणदेखि माओवादी नेताहरूसमेत अब हत्या-हिंसाको बाटोमा लाग्नै नसकिने बताउनथालेका छन् । युद्धका कारण बाल-बालिकाको पढाइ चौपट भएको, घरबास भताभुंग र विकास ठप्प भएका कारण युद्ध आवश्यक नहुने थबाङकी ६६ वर्षीया  भागिमला सुनारले बताइन् । 

'हिजो औषधि पाइँदैनथ्यो, खाने कुरा पाइँदैनथ्यो । आज मरिन्छ कि भोलि भन्ने थियो । दिनदिनै जंगलमा सुत्न जानुपथ्र्यो । बल्ल गाउँमै अनाज र औषधिमूलो पाइनथालेको छ,' उनले भनिन्, 'अब फेरि युद्धका कुरा कसैले नगरुन् । युद्धले कसैको भलो गरेको छैन । आखिर बलिदान भन्दै मरेर केही पाइएन, उल्टै बिजोग भयो ।'

आठ सय ५० घरधुरीमा ५ हजार जनसंख्या रहेको थबाङमा मगर जातिको बाहुल्य छ । निम्न वर्गीय दलित समुदायका बासिन्दाहरु पनि दयनीय आर्थिक अवस्थामा बाँचिरहेछन् । तिनै निम्न वर्गीय जनतालाई जीवन परिवर्तनको सपना देखाएर हिजो युद्धमा लगाइएको थबाङवासीको बुझाइ छ । 'हिजो युद्धका नाममा बलिदानी भयो । संविधान सभाका नाममा दुःख गरियो तर हाम्रो जीवनमा केही परिवर्तन आएन,' थबाङ-१ मायाखर्कका सूर्यनारायण पुनले भने, 'हामीलाई प्रयोग मात्र गरियो ।' साना दूधे बालक च्यापेर जंगलमा रात बिताएको झल्झली सम्झनामा आउने उनी बताउँछन् । गाउँकै होनाहार ३६ युवाको बलिदानको कुनै कदर नभएको पुनको बुझाइ छ । 'खै परिवर्तन भएको महसुस गर्न पाइएन त । युद्धबाट हैन, शान्तिकै बाटोबाट परिवर्तन आउने निष्कर्षमा हामी पुगिसकेका छौं,' उनले भने ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा दोश्रो कार्यकालका लागि विजयी

अमेरिकी राष्ट्रपति बाराक ओबामा रिपब्लिकन प्रतिद्वन्दी मिट रोम्निलाई पराजित गर्दै दोश्रो कार्यकालका लागि विजयी हुनुभएको छ।  राष्ट्रपति बाराक ओबामाले निर्वाचनको सम्पूर्ण परिणाम आउनु अगावै विजयी हुनका लागि आवश्यक २ सय ७० इलेक्टोरल मत हासिल गरेर आफ्नो विजय सुनिस्चित पार्नुभएको हो। 

राष्ट्रपति बाराक ओबामाले मुलुकको आर्थिक विकासमा देखापरेको असंतुस्ठी र रोम्नीको कडा चुनौतीलाई चिर्दै आफ्नो विजयलाई सुनिस्चित पार्नुभएको हो। तथापि कयौं राज्यहरुबाट निर्वाचन परिणाम आउन बाँकी रहेको  अवस्थामा उहाँले आफ्ना प्रतिद्वन्दीको तुलनामा कति बढी मत ल्याउनुहुन्छ भन्ने कुरा थाहा पाउन भने बाँकी नै छ।

प्राप्त पछिल्लो परिणाम अनुसार ओबामाले १ मत प्राप्त गर्नु भएको छ भने रोम्निले १।