Wednesday, November 7, 2012

युद्धबाट हैन, शान्तिकै बाटोबाट परिवर्तन आउँछ


रोल्पाका धनलाल बुढाको बसोबास अहिले थबाङ-४ झकेबाङमा छ । उनको खास घर जेलबाङ-९ खिबाङ हो । सशस्त्र द्वन्द्वकालमा उनको घर दुई पटक जलाइयो । सामान्य किसान बुढाको माइला बुवाको छोरा तिकलाल माओवादीमा लागेका थिए । उनलाई खोज्दै गाउँ पुगेका सुरक्षाकर्मीले तिकलाललाई नभेटेपछि २०५६ सालमा घर जलाएर फर्के ।

बाध्य भएर उनी पनि लडाइँमा होमिए । बल्लबल्ल दुःख गरेर उनले घर बनाए । तर २०५९ सालमा फेरि सुरक्षाकर्मीले आगो लगाइदिए । त्यसपछि उनी जेलबाङतिर फर्केका छैनन् । घरबारविहीन बुढा अहिले वाषिर्क ३० हजार रुपैयाँ तिरेर झकेबाङमा भाडामा बसिरहेका छन् । खेतीपाती र गाईपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । अब उनलाई कुनै हत्या-हिंसा र युद्ध चाहिएको छैन । 'शान्तिपूर्ण वातावरणमा काम गरी खान पाए पुग्छ अब,' धनलालले भने, 'भो पुग्यो, हिंसा । जे हुनु भइसक्यो, अब विकास चाहिएको छ ।' युद्धबाट भोग्नु दुःख भोगिसकेको र गुमाउनु गुमिसकेको उनी ठान्छन् । 'के हुँदो रहेछ र आखिरमा,' उनले भने, 'अब योभन्दा बढी गुमाउनु छैन । 

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, वर्षमान पुनजस्ता उच्च नेताहरूसँग तीव्र असन्तुष्ट थबाङवासीलाई संगठित गरेर नेकपा-माओवादीले फेरि सशस्त्र संघर्षको बहस गाउँमा पुर्‍याएको छ । तर ती प्रस्तावलाई थबाङवासीले ठाडै अस्वीकार गर्दैआएका छन् । 'जति लडियो हिजो नै लडियो । अब बन्दुक बिसाइसकियो । फेरि बन्दुक उठाउने कुरा हुनै सक्दैन,' पूर्वबटालियन सहकमान्डर राजबहादुर रोकाले भने, 'जति युद्ध गरे पनि आखिर विकास चाहिने रहेछ । अब बन्दुक छाडेर घर फर्किसक्यौं । अब युद्धको होइन, विकासका प्रस्ताव लिएर आउन भनेका छांै ।' थबाङका सर्वसाधारणदेखि माओवादी नेताहरूसमेत अब हत्या-हिंसाको बाटोमा लाग्नै नसकिने बताउनथालेका छन् । युद्धका कारण बाल-बालिकाको पढाइ चौपट भएको, घरबास भताभुंग र विकास ठप्प भएका कारण युद्ध आवश्यक नहुने थबाङकी ६६ वर्षीया  भागिमला सुनारले बताइन् । 

'हिजो औषधि पाइँदैनथ्यो, खाने कुरा पाइँदैनथ्यो । आज मरिन्छ कि भोलि भन्ने थियो । दिनदिनै जंगलमा सुत्न जानुपथ्र्यो । बल्ल गाउँमै अनाज र औषधिमूलो पाइनथालेको छ,' उनले भनिन्, 'अब फेरि युद्धका कुरा कसैले नगरुन् । युद्धले कसैको भलो गरेको छैन । आखिर बलिदान भन्दै मरेर केही पाइएन, उल्टै बिजोग भयो ।'

आठ सय ५० घरधुरीमा ५ हजार जनसंख्या रहेको थबाङमा मगर जातिको बाहुल्य छ । निम्न वर्गीय दलित समुदायका बासिन्दाहरु पनि दयनीय आर्थिक अवस्थामा बाँचिरहेछन् । तिनै निम्न वर्गीय जनतालाई जीवन परिवर्तनको सपना देखाएर हिजो युद्धमा लगाइएको थबाङवासीको बुझाइ छ । 'हिजो युद्धका नाममा बलिदानी भयो । संविधान सभाका नाममा दुःख गरियो तर हाम्रो जीवनमा केही परिवर्तन आएन,' थबाङ-१ मायाखर्कका सूर्यनारायण पुनले भने, 'हामीलाई प्रयोग मात्र गरियो ।' साना दूधे बालक च्यापेर जंगलमा रात बिताएको झल्झली सम्झनामा आउने उनी बताउँछन् । गाउँकै होनाहार ३६ युवाको बलिदानको कुनै कदर नभएको पुनको बुझाइ छ । 'खै परिवर्तन भएको महसुस गर्न पाइएन त । युद्धबाट हैन, शान्तिकै बाटोबाट परिवर्तन आउने निष्कर्षमा हामी पुगिसकेका छौं,' उनले भने ।

No comments:

Post a Comment