Tuesday, January 29, 2013
जमेको हिउँमाथि नांगै बसेर योग गर्ने हल्याण्डेली नागरिक बीम खोफ
बाउन्न वर्षीय हल्याण्डेली नागरिक बीम खोफ यस कुरामा प्रतिष्ठित छन, कि उनी आरामदायी गलैंचामा नभई जमेको हिउँमाथि, त्यो पनि नांगै बसेर, योग गर्छन। अझ आश्चर्यको कुरा त के भने, यसरी योगमा तल्लिन रहँदा उनि कत्ति पनि अशान्त देखिदैनन, अथवा जाडोले काँपेको वा हलचल गरेको देखिदैन।
उनको यस्तो व्यवहारका लागि उनलाई 'ध्रुबीय मानिस'को संज्ञा दिइएको छ। शून्य डिग्रीभन्दा न्यून तापक्रममा यसरी बसेर खोफले आठ पटक विश्व किर्तिमान बनाइसकेका छन्।
दुइ वर्षअघि फिनल्याण्डमा आयोजित दौड प्रतियोगितामा खोफले शून्यभन्दा बीस डिग्री न्यून तापक्रममा एउटा जाङ्गे मात्र लगाएर बाइस किलोमिटर दौड पूरा गरेर विश्व कीर्तिमान कायम गरेका थिए। अनि सन् दुइ हजार आठमा उनले त्रिहत्तर मिनेट अठ्चालीस सेकेन्ड हिउँको गुफाभित्र बसेर अर्को कीर्तिमान बनाएका छन। त्यसपछि चिकित्सकहरुले गरेको परीक्षणमा उनको शरिरमा कुनै पनि प्रकारको नकारात्मक प्रभाव परेको पाइएन।
चिसोले कुनै असर नपार्ने खोफको शारीरिक अवस्थाबारे वास्तविकता पत्ता लगाउन वैज्ञानिकहरु समेत असमर्थ देखिएका छन। अन्य कुनै पनि सर्बसाधारण मानिसका लागि घातक साबित हुनसक्ने त्यस कठाङ्ग्रिने चिसोमा बीम खोफले सहज तरिकाले व्यवहार गरेको देख्ने अरु मानिसहरु पनि छक्क पर्नेगरेका छन। तस्विर तथा सामग्री सौजन्य: ज्नाडेली इचे लि बुइ?
लोकतन्त्र विरोधीहरुको आफै पतन हुने: कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइरालाले लोकतन्त्रका विरोधीहरु आफै पतन भएर जाने दाबी गरेका छन् ।
एकीकृत (माओवादी) लोकतन्त्रको विरुद्धमा लागेको आरोप लगाउँदै कोइरालाले भने, "लोकतन्त्रलाई नमान्दा राजा रजौटा तथा पञ्चायती पक्षधर जसरी पतन भएका थिए, एमाओवादी पनि यही रवैया जारी राखे त्यसरी नै पतन भएर जानेछ ।"
स्याङ्जाको कुवाकोटमा दियालो गैरसरकारी संस्थाले आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरको सोमबार उद्घाटन गर्दै उहाले वर्तमान सरकारका तानाशाही कार्यका विरोधमा जनता सडकमा आइसकेकाले सडकबाटै सरकार ढल्ने दाबी गरे।
मुलुकलाई सही निकास दिन सम्पूर्ण दलहरू मिल्नुको विकल्प नभएको बताउँदै कोइरालाले भने, "सबै दलहरू बसेर सहमतीय सरकार गठन गर्ने र सोही सरकारले निष्पक्ष निर्वाचन गराउनु नै उत्तम विकल्प हो । रासस
मेरो विचार: पेशाले चिकित्सक डा शशाङ्क कोइरालाले दियालो गैर-सरकारी संस्थाद्वारा स्याङ्जाको कुवाकोटमा आयोजित विशेषज्ञ स्वास्थ्य शिविरको हिजो उद्घाटन गर्दै यस्तो कुरा भन्नुभएछ। कांग्रेसको सदस्य, त्यसमा पनि केन्द्रीय, का नाताले अरुलेझै उहाँले पनि विरोधी बिरुद्ध विष बमन गर्नु स्वाभाविक कुरा हो। तर, विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गर्ने मानिसले स्वास्थ्यका सम्बन्धमा केही पनि नबोलेर खालि माओवादीलाई मात्रै गाली गरेर आफ्नो भाषण सिध्याउनुभयोहोला भन्ने कुरामा मलाई विस्वास लाग्दैन। यसमा समाचार बनाउने मानिस— पत्रकार– ले पूर्णरुपेण आफू संचारकर्मी बन्न नसकेको प्रष्ट देखिन्छ।
पत्रकारले समाचार लेख्ने हो, राजनीति गर्ने होइन। वक्ताले बोलेकोमध्ये आफूलाई मनपर्ने मात्र छानेर समाचार बनाउनु समाचार लुकाउनु सरह हो। अनि समाचार लुकाउनु गैह्र-कानूनी पनि हो, शायद। राष्ट्रिय समाचार सिमितिको व्यवस्थापन पक्षले पनि समाचार प्रवाहित गर्नुअघि कार्यक्रमको विषय-वस्तु प्रेषित समाचारको अन्तर्वस्तु मिल्छ कि मिल्दैन हेरेर त्यसलाई पूर्णता दिने प्रयास गर्नुपर्ला कि। तस्विर सौजन्य: इकान्तिपुर
आफ्नो ज्यू-ज्यानको सुरक्षा नभएको भन्दै सुर्खेत पुगेका बाइसजना दैलेखी पत्रकारहरु आज फर्किए
आफ्नो ज्यू-ज्यानको सुरक्षा नभएको भन्दै छ दिनअघि दैलेखबाट सुर्खेत पुगेका बाइसजना पत्रकारहरु आज सुर्खेतबाट दैलेख फर्किएका छन। उनीहरुले सुर्खेतमा मध्य-पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिनुका साथै वीरेन्द्रनगरमा सरकारी अधिकारीहरु, पत्रकार मित्रहरु र अन्य सम्बन्धित निकायका प्रतिनिघिहरुसङ्ग आफ्नो स्थितिका बारेमा छलफल गरी आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग पनि गरेका थिए।
एमाओवादी कार्यकर्ताबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका एकजना पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको थियो। पौडेलले भन्नुभएको थियो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन। हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुस गरेर कार्यथलो छाडेका हौं।’
पत्रकार महासंघका सभापति पुस्कर थापाले गत शुक्रबार एभिन्यूज टेलिभिजनसङ्ग कुराकानी गर्दै प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको प्रतिक्रिया दिनुभएको थियो। आफूहरु आठ वर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी पनि गर्नुभएकोथियो।
अहिले कस्तोखालको सुरक्षा प्रत्याभूति पाएर गृह-जिल्ला दैलेख फर्किनुभयो भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन।
Subscribe to:
Posts (Atom)