Monday, November 5, 2012

सरकार विरुद्ध नागरिक दवाव अभियान


नागरिक आन्दोलनका अगुवा र पेसाकर्मीहरुले सरकारका विरुद्ध चरणबद्ध नागरिक दबाब अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । राजधानीमा शनिबार भेला भएका मानव अधिकारकर्मी एवं पेसाकर्मीले मुलुक निरंकुशतातर्फ उन्मुख भएको र लोकतन्त्र तथा राष्ट्रियता संकटमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ ढंगले नागरिक अभियान सञ्चालन गर्ने र त्यस क्रममा मंसिर ७ गते काठमाडौंमा बृहत् नागरिक भेला गर्ने निर्णय गरेका हुन् 
भेलामा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेम खड्का, बारका पूर्वअध्यक्ष शम्भु थापा, पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, चिकित्सक संघका निवर्तमान अध्यक्ष केदारनरसिंह केसी, गैह्रसरकारी संस्था महासंघकी अध्यक्ष शर्मिला कार्की, कानुनविद् टीकाराम भट्टराई, राजनीतिक विश्लेषक मुमाराम खनाल, पत्रकार कनकमणि दीक्षित, स्तम्भकार जुगल भुर्तेल, अधिकारकर्मी सुबोधराज प्याकुरेललगायत अन्यको सहभागिता  थियो ।
भेलाले संविधान सभाको अवसानसँगै मुलुक स्वेच्छाचारी शासनतर्फ अग्रसर भएको, कानुनी शासन समाप्त पारिएको र भ्रष्टाचारले संस्थागत स्वरूप ग्रहण गरेको निष्कर्षसहित देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सहभागी हुन आमनागरिकलाई अपिल गर्ने निर्णय पनि गरेको छ ।
अहिलेको संवैधानिक तथा राजनीतिक गतिरोध अन्त्यका लागि ताजा जनादेश नै उपयुक्त हुने ठहरसहित भेलाले नयाँ निर्वाचनको पक्षमा लाग्ने निर्णय गरेको छ । त्यसका लागि निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन दबाब सिर्जना गर्ने निर्णय भेलाले गरेको छ ।
जारी गतिरोधको अन्त्यका लागि प्रमुख दलहरू सम्मिलित सहमतीय सरकार बनाउनुपर्ने र त्यस्तो सरकार बनाउन संसद्समेत आवश्यक नपर्ने भएकाले सम्बद्ध पक्षको ध्यानाकर्षण गर्ने निर्णय भेलाले गरेको छ ।
कामचलाउ सरकारबाट राष्ट्रलाई गम्भीर र दीर्घकालीन असर पर्ने काम भइरहेको ठहर गर्दै भेलाले त्यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गरेको छ । 'कामचलाउ सरकारले कुनै पनि अध्यादेश, बजेट र बाधा अड्काउ फुकाउको सिफारिस गर्न नसक्ने हुनाले राजनीतिक सहमतिबिना कुनै पनि अध्यादेश जारी हुन सक्दैन भन्ने दृढ मान्यता छ,' भेलापछि जारी वक्तव्यमा भनिएको छ । 
भेलाले नेपालको आन्तरिक मामिलाको सम्मान गर्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ । नेपालको आन्तरिक मामिलामा आफ्नो धारणा राख्दा र व्यवहार गर्दा कूटनीतिक मर्यादासम्बन्धी अन्तर्राष्ट्रिय सन्धिको पालना हुनुपर्ने सहभागीहरूले निष्कर्ष निकालेका छन् ।

भेरी अंचल अस्पतालको मानसिक रोग विभाग ठप्प


 स्वास्थ्य मन्त्रालयले बालरोग विशेषज्ञ डा. विनोद खेतानलाई भेरी अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाएपछि मानसिक रोग विशेषज्ञ डा. नरेन्द्रकुमार राय ४ महिनादेखि अस्पतालभित्रै भूमिगत ढंगले बसेका छन् ।
उक्त रोग विशेषज्ञ डा. राय अस्पतालको ओपीडीमा आउन छाडेका छन् । मानसिक रोगको उपचारका लागि आउने बिरामीको पर्चा काट्न बन्द भएको छ । आएका मानसिक रोगीलाई विशेषज्ञ नभएको र उपचारकक्ष बन्द भएको भन्दै कर्मचारीले फिर्ता पठाउने गरेका छन् । मानसिक रोग विभागको ढोकामा ताला लागेको छ ।
'रोगविशेषज्ञ क्वार्टरबाट निस्कँदैनन्', अस्पताल प्रशासन शाखाका एकजना कर्मचारीले भने, 'उहाँ भूमिगतजस्तो हुनुभएको छ । आएका बिरामीलाई आपतकालीन कक्षबाटै अन्य अस्पताल जान सुझाव दिने गरिएको छ ।'  
तर डा. रायले आफू भूमिगत नभएको र खुलेआम बिरामीको उपचार गर्दै आएको दाबी गरे । 'म किन भूमिगत हुने ?, ओपनली काम गरिरहेको छु', एकएक कर्मचारीलाई अनुहार देखाउन जाने कुरा पनि त भएन नि,' उनले भने ।
उनले मानसिक रोगीको उपचारका लागि टिकट नकाटे पनि मोबाइल फोनद्वारा सम्पर्कमा ल्याएर उपचार गर्दै आएको बताए । निमित्त प्रमुख डा. श्यामसुन्दर यादवले भने मानसिक रोग विशेषज्ञ आउन छाडेको पुष्टि गरे । 'उहाँ नआए पनि अन्य डाक्टरले हेर्ने गरेका छन्', यादवले भने ।     
स्वास्थ्य मन्त्रालयले बालरोग विशेषज्ञ डा. विनोद खेतानलाई मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत सरुवा गरेको ६ महिनापछि प्रमुख बनाएर पुनः भेरी अञ्चल अस्पताल पठाएलगतै उत्पन्न विवादका कारण डा. रायले मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा ताला लगाई अर्धभूमिगत ढंगले बस्न थालेका हुन् ।  
मन्त्रालयका सचिव प्रवीण मिश्रले फागुन २८ गतेको सचिवस्तरीय निर्णय भन्दै बालरोग विशेषज्ञ खेतानलाई मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत सरुवा गरेका थिए ।
करिब २४ वर्ष सुगममा बसेका खेतानलाई सरुवा भएको ठाउँमा हाजिर भएको साता नपुग्दै साउन ३ गतेको सचिवस्तरीय निर्णयद्वारा सचिव मिश्रले पदीय जिम्मेवारी बढाएर निमित्त मेडिकल सुपरिटेन्डेन्ट पदमा पठाएका थिए  ।
डा. रायले हाजिर हुन आएका खेतानलाई अस्पताल प्रमुखको कार्यकक्षमा बस्न नदिन त्यतिबेलादेखि नै ढोकामा ताला लगाइदिएका थिए । ताला लगाएकाले ४ महिनादेखि कार्यकक्ष पनि खोलेको छैन । तर स्वास्थ्य मन्त्रालयले अस्पतालभित्रको यस्तो अवस्था थाहा हुँदा समेत समस्या समाधान खोजेको छैन ।
'मन्त्रालयले २४ वर्षपछि सरुवा हुनेलाई हाजिर नहुँदै पुनःस्थापना गर्‍यो', अस्पतालका एक चिकित्सकले भने, '६ महिनामै थरीथरी निर्णय गर्न थालेपछि उत्पन्न विवादले अस्पतालमा बिरामी समस्यामा परेका छन् ।'

जुवा खेलेकोमा नेविसंघ अध्यक्षसहित १३ पक्राउ


सुनसरी, कार्तिक २० - सुनसरीको इटहरी-४ मा ठूलो रकम राखेर जुवा खेलिरहेको अवस्थामा प्रहरीले गए राति नेपाल विद्यार्थी संघ सुनसरीका अध्यक्ष विकास केसीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिआर हस्पिटलका टीका अधिकारी, ठेकेदार प्रदीप तामाङ, राजन ढकाल, कृष्ण अधिकारी, दिपेश सिटौलालगायत छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक सागर थापाकाअनुसार पक्राउ पर्ने १३ जनाबाट २ लाख ६४ हजार रुपैयाँ र तास बरामद गरिएको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत आज नै सुनसरी प्रशासनमा मुद्धा दर्ता गरिने थापाले जानकारी दिए ।
विशेष सुराकीका आधारमा प्रहरीले नेविसंघका नेता केसीको इटहरी-४ स्थित घरमा छापा मारिएको थियो ।

साझा यातायात फेरि संचालनमा आउने

कुनै बेला लोकप्रिय मानिएको हरियो रंगको साझा बस सडकमा नगुडेको वर्षौं भइसक्यो । धेरैले साझा बस पनि थियो भन्ने बिर्सिन लागे । सम्झनाका लागि मात्रै होइन, अब दैनिक सवारी आवागमनमा यात्रुको सहजताका लागि यसलाई राजधानीका सडकमा फेरि देख्न पाइने भएको छ ।

ललितपुर, कार्तिक २० - सरकारी स्वामित्वबाट मुक्त भएको साझा यातायातको व्यवस्थापन समितिले करिब साढे तीन करोड रुपैयाँको लगानीमा १६ वटा बस सञ्चालनको तयारी गरेको छ । तीन महिनाभित्र काठमाडौं उपत्यकाका दुई रुटमा चल्ने बसले बिहान झिसमिसेदेखि राति १० बजेसम्म यात्रुहरूलाई सेवा दिनेछन् ।
बस सञ्चालन गर्न साझाले सिप्रदी टे्रडिङसँग तीन करोड ३५ लाख रुपैयाँको सम्झौता गरिसकेको प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । 'अबका तीन महिनामा ५५ सिटे ठूला बस राजधानीका सडकमा गुड्नेछन्,' उनले कान्तिपुरसित भने, 'त्यसका लागि असोजको अन्तिम सातामा एलसी खोलिसकिएको छ, १२० दिनभित्र बस आइपुग्छन् ।'
सहरी सार्वजनिक यातायातको मापदण्डअन्तर्गत सुलभ, सुरक्षित र नियमित सेवा पुर्‍याउने योजनाका साथ साझाले फेरि सेवा सुरु गरेको हो । गतवर्ष जेठमा विशेष साधारण सभामार्फत सञ्चालक समितिमा सरकारी एकाधिकार तोडेको साझा यातायातको व्यवस्थापनले यस्तो तयारी गरेको हो । टाटाले भारतमै बढी निर्माण गरी बस हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ । हरियो रंगका बसहरू युरो तेस्रो मापदण्डअनुसार हुने साझाले जनाएको छ ।
साझाले भित्र्याउन लागेको ५५ सिटे बस अहिले राजधानीमा सञ्चालन भएका स्थानीय रुटका सबै बसभन्दा ठूलो आकारको हो । यसअघि कीर्तिपुर र दक्षिणकाली रुटमा मात्रै ठूला बस सञ्चालनमा थिए । बसका दुईवटा ढोका चालकको नियन्त्रणमा खुल्ने र बन्द हुने प्रणाली जडान गरिने, पाण्डेयले बताए । मेसिनबाट टिकट बिक्रीको व्यवस्था गर्ने तयारीका साथ साझाले बसमा एउटा कन्डक्टरको व्यवस्था गर्नेछ । सरकारले तोकेअनुसार शुल्क लिने र सहुलियत दिने साझाको तयारी छ ।
हालका लागि १६ वटा बसहरू दुईवटा रुटमा सञ्चालन हुने साझाले जनाएको छ । सातदोबाटो, एयरपोर्ट, गौशाला, कमलपोखरी, रत्नपार्क हुँदै पुल्चोकस्थित साझा कार्यालय पुग्ने एउटा रुट तय गरिएको छ । कलंकीदेखि सातदोबाटो, त्रिपुरेश्वर हुँदै पुन कलंकी पुग्ने अर्को रुटमा दोहोरो सेवा सञ्चालन गर्ने तयारी साझाले गरेको छ । हाल रुट परमिटका लागि यातायात व्यवस्था विभागमा पहल भइरहेको साझा व्यवस्थापनले जनाएको छ ।
सरकारी हस्तक्षेप र राजनीतिक नियुक्तिका कारण टाट पल्टिएको साझा यातायात पछिल्लो समय सहकारी अवधारणा अन्तर्गत पुनर्गठन भएको हो । पुनर्गगनसँगै साझालाई सरकारी हस्तक्षेपबाट समेत मुक्त गरिएको छ । साझाको सञ्चालक समितिका एक सदस्यका अनुसार पहिले यातायात सचिव पदेन अध्यक्ष हुने र यातायात व्यवस्था विभागका महानिर्देशक तथा सहकारी विभागका रजिस्ट्रार पदेन हैसियतले सञ्चालक हुने व्यवस्था थियो । त्यसकै आधारमा सरकारी तहबाट हुने हस्तक्षेप र राजनीतिकरणले साझा धराशयी भएको ठहरसहित गतवर्ष सम्पन्न विशेष साधारणसभाले यातायात व्यवस्था विभागका महानिर्देशक र सहकारी विभागका रजिस्ट्रारमात्रै सञ्चालक हुने नयाँ व्यवस्था गर्‍यो भने सञ्चालकमध्येबाट अध्यक्ष चुनिने प्रावधान राखे ।
त्यही साधारणसभाबाट चुनिएको नयाँ नेतृत्वले विभिन्न ढंगले स्रोत जुटाई नयाँ बस खरिद गर्ने योजना बनाएको हो । हाल कनकमणि दीक्षित साझा यातायातको सञ्चालक समितिका अध्यक्ष हुन् । त्यसअघि नै साझाले वीरगन्जमा रहेको जग्गा बेची सबै पुराना कर्मचारीलाई अवकाश दिएको थियो । अहिले सबै कर्मचारी करारमा नियुक्त भएका हुन् ।
हाल साझा यातायातसँग ललितपुरको पुल्चोकमा २२ रोपनी जग्गा छ भने त्यही जग्गाको भवन नेपाल टेलिकमले भाडामा लिएको छ । छ करोड रुपैयाँमा वीरगन्जमा रहेको जग्गा बेची साझाले बस किन्ने तयारी गरेको हो ।
साझाबाट अवकाश पाएका पुराना कर्मचारीहरूका अनुसार तत्कालीन राजा महेन्द्रको पहलमा २०१८ सालमा साझा यातायात स्थापना भएको हो । पञ्चायतकाल र त्यसपछि बहुदलकालमा सत्तास्वार्थ र राजनीतिक भर्तीकेन्द्र बनाइएको साझा यातायात टाट पल्टेपछि सरकारले करिब दस वर्षअघि त्यसको विघटन गरेको थियो ।

एमाले नेता ओलीको अवस्था सुधारोन्मुख


उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिएका एमाले नेता केपी ओलीको अवस्था सामान्य रहेको उनका सहयोगीले बताएका छन् ।
दिल्लीमा संगै रहेका ओलीका सहयोगी इन्द्र भण्डारीका अनुसार आइतवार राती ९ बजे गरिएको परिक्षणको प्रतिवेदनले ओलीको स्वास्थ्य सामान्य रहेको देखाएको हो । 
'मृगौला लगायतका संक्रमण देखिएको छैन' उनले संचारकर्मीहरुलाई  जानकारी दिनुभयो, 'आइतवार साँझ खाना पनि खानुभयो, थप परिक्षण जारी छ ।'
ओलीलाई दिल्लीस्थित मेदान्त अस्पतालमा थप उपचारका लागि आइतवार लगिएको हो। ।