Sunday, January 13, 2013
अमेरिकाको न्यु-योर्क राज्यका गभर्नरद्वारा राज्यव्यापी आकस्मिक सार्बजनिक स्वास्थ्य स्थितिको घोषणा
चिकित्सक रुघा-ज्वरोको खोप लगाउँदै |
अमेरिकाको न्यु-योर्क राज्य अहिले सन् दुइ हजार नौपछिको सबैभन्दा खतरनाक रुघाको चपेटामा परेको छ। त्यस राज्यका गभर्नर आन्द्रे कोमोले आज विहान राज्यव्यापी आकस्मिक सार्बजनिक स्वास्थ्य स्थितिको घोषणा गर्नुभएको छ।
यस घोषणाले बढीभन्दा बढी बाल-बालिकालाई रुघा-खोकी विरुद्धको खोप दिन सजिलो हुने विचार उहाँले ब्यक्त गर्नुभएको छ।
राज्यका गभर्नर कोमोलाई उद्धृत गर्दै लेखेको छ- 'हामीले कम्तिमा सन् दुइ हजार नौदेखिपछि पहिलो पटक सबैभन्दा खतरनाक रुघाको अनुभव गरिरहेका छौं, न्यु-योर्क राज्यमा यसको प्रभाव व्यापक छ। न्यु-योर्क शहरका सबै पाँचैवटा बरो र सन्ताउन्नवटै काउन्टीमा यस्तो रुघाका घटनाहरु देखापरेका छन।'
गत वर्षको शिशिर ऋतुभरिमा जम्मा चालीस हजार घटना मात्र दर्ता भएकोमा यस वर्ष अहिलेइ रुघा-ज्वरोका उन्नाइस हजार घटना दर्ता भैसकेकोमा गभर्नरले चिन्ता व्यक्त गर्नुभयो। तस्विर सौजन्य: बिबिसी
धनगढी-डडेलधुरा राजमार्ग अन्तर्गत डोटी जिल्लाको रुबसकाँडा सडक खण्डमा शनिबार भएको बस दुर्घटनामा मारिनेहरू सबै ३१ जनाको सनाखत भएको छ।
प्रहरीका अनुसार, सो दुर्घटनामा परी मारिनेहरूमा अछाम देवीस्थान गाविस ६ का २८ वर्षीय कृष्ण खड्का, वैद्यनाथ गाविस–३ की ४२ वर्षीया पवना शाह, दैजी गाविस कञ्चनपुरका २६ वर्षीय पशुपति ठकुल्ला र सात वर्षीय बालक रोशन ठकुल्ला, अछाम सिद्धेश्वर गाविस– ९ का २७ वर्षीय टङ्क बुढा र वर्ष १८ का विमल बुढा, कालागाउँ गाविस– ९ का २३ वर्षीय बहादुर सोडारी, धनगढी नगरपालिका– ५ का २१ वर्षीय गगन थापा र कञ्चनपुर जिल्ला दैजी गाविसका २८ वर्षीया कल्पना ठकुल्ला रहेका छन् ।
तस्विर सौजन्य: इकान्तिपुर |
यस्तै अछाम मलाटिकट– ५ का ३० वर्षीया रमिला शाह, दर्ना– ९ का ३० वर्षीय रूपबहादुर रावत, मङ्गलसेन– ६ का २९ वर्षीय चन्द्रदेव रेग्मी, बसचालक कैलाली साडेपानीका– ३७ वर्षीय मक्कुराम चौधरी, सहचालक कैलालीकै २१ वर्षीय गणेश चौधरी र बसमालिक कैलाली भजनीका ५६ वर्षीय उज्जले बुढाको पनि सो दुर्घटनामा मृत्यु भएको छ।
अछामको जयगढबाट धनगढीतर्फ जाँदैगरेको ना४ख ३६०३ नं को कर्णाली रिभर यातायातको बस सडकबाट करिब ६०० मिटर तल खसेर भएको सो दुर्घटनामा १३ जना घाइते भएकामा दुईजनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ।
यो राजमार्गमा बस दुर्घटनाबाट यति ठूलो मानवीय क्षति पुगेको सम्भवतस् यो पहिलो घटना हो । राति सडकमा जमेको तुसारोमा पाङ्ग्रा अचानक चिप्लिएर अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीको अनुमान छ। घटनास्थल धनगढीदेखि करिब ९३ किमि उत्तर पहाडी क्षेत्रमा पर्दछ।
दुर्घटनाका मृतकमध्ये शनिबार साँझसम्म १६ शव सम्बन्धित परिवारको जिम्मा लगाइसकिएको र अरू शव सम्बन्धितलाई जिम्मा लगाउने प्रयास भइरहेको कुरा प्रहरीले जनाएको छ। सो ठाउँ भिरालो र विकट रहेको कारण उद्धार कार्य जटिल बनेको प्रहरीले बताएको छ। -रासस
प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट डोटी जिल्लाको रुपसकाँडामा भएको बस दुर्घटनामा भएको जन-धनको क्षतिप्रति गहिरो दुःख व्यक्त
प्रधानमन्त्री डा बाबुराम भट्टराईले डोटी जिल्लाको रुपसकाँडामा भएको बस दुर्घटनामा परी ठूलो जन-धनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री भट्टराईका तर्फबाट स्वकीय सचिव विश्वदीप पाण्डेले हिजो एक विज्ञप्ती जारी गरी दुर्घटनामा परी मारिनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
नेपालमा सडक दुर्घटना वढ्दैजानु गम्भीर चिन्ताको विषय भएको भन्दै प्रधानमन्त्रीले विज्ञप्तिमा घटनाको सत्य-तथ्य छानबिन गर्नका लागि कार्यदल नै गठन गर्न समेत आफूले निर्देशन दिइसकेको जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले विज्ञप्तिमा आफ्नो काममा कुनै कमी-कमजोरी हुननदिन र तत्काल गर्नुपर्ने काममा पूर्णतया सजगता र क्रियाशीलता अपनाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ। घाइतेहरुको उपचारका पूर्ण प्राथमिकता दिन स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई प्रधानमन्त्रीले निर्देशन पनि दिनुभएको कुराविज्ञप्तीमा उल्लेख गरिएको छ।
अछामको जयगढबाट कैलालीको टीकापुरतिर जाँदैगरेको ना४ख ३६०३ नम्बरको बस धनगढी-डडेलधुरा राजमार्गमा पर्ने डोटी जिल्लाको छतिवन गाविस वडा नं नौ रूपसकाँडामा शनिबार विहान सडकबाट खस्दा एकतीसजनाको मृत्यु भएको छ भने तेह्रजना घाइते भएका छन। घाइतेहरुको धनगढी र कोहलपुरमा उपचार भैरहेको बताइएको छ।
बेइजिङ्गको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक स्तरमा
चीनको राजधानी बेइजिङ्गको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक स्तरमा पुगेको बताइएको छ। सरकारी र गैह्रसरकारी दुबै पक्षका अवलोकन/निरीक्षण केन्द्रहरुले बेइजिङ्गमा शनिबारको प्रदूषण स्तर विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा बढी भएको देखाएका छन।
बीबीसीका बेइजिङ्ग सम्बाददाता दमियन ग्रमतिचसले त्यहाँको वायुमा कोइलाको धुलो र गाडीहरुबाट निस्केको धुवाँको गन्धको स्पष्ट अनुभव भैरहेको जनाएका छन। चीनमा आर्थिक विकासको प्रभावले कतिपय शहरहरुको वायुको स्तरलाई नराम्ररी बिगारेको पाइएको बताइएको छ। बिबिसी सम्बाददाता भन्छन, राजधानी बेइजिङ्गमा शनिबार यति बाक्लो तुवाँलो लागेको थियो कि राजधानीको मध्ये भागमा केही सय मिटर मात्र देख्नसकिन्थ्यो।
केही बेइजिङ्गबासीहरुले मुख छोपेर हिड्नथालेका छन |
सरकारी तथ्यांकअनुसार, बेइजिङ्गको शनिबारको वायुको प्रदूषण स्तर चार सयभन्दा बढी थियो भने बेइजिङ्गस्थित अमेरिकी दूतावासमा राखिएको अनुगमन केन्द्रले वायुको प्रदूषण स्तर आठ सय रेकर्ड गरेको बिबिसीले जनाएको छ।
वायुमा रहेका त्यस्ता शुक्ष्म कणहरुलाई निलेमा स्वास-प्रस्वाससम्बन्धी संक्रमणका साथसाथै फोक्सोको क्यान्सर र हृदयसम्बन्धी रोगका कारण मानव मृत्यु डर बढ्नसक्ने खतरा हुन्छ। तस्विर सौजन्य: बिबिसी
फ्रान्सका राष्ट्रपतिद्वारा मुलुकको आन्तरिक सुरक्षा व्यवस्था अरु सुदृढ पार्न सुरक्षा निकायहरुलाई आदेश
फ्रान्सका राष्ट्रपति फ्रास्वा होलान्देले फ्रान्सेली सेनाद्वारा अफ्रिकामा गरिएको सैनिक कारबाहीपछि मुलुकको आन्तरिक सुरक्षा व्यवस्था अरु सुदृढ पार्न सुरक्षा निकायहरुलाई आदेश दिनुभएको छ।
फ्रान्सेली सेनाले अफ्रिकी राष्ट्र मालीमा कारबाही गरेपछि इस्लामिक अतिवादीहरुले प्रतिकारस्वरुप फ्रान्सेली संरचनाहरुलाई लक्ष बनाउनसक्ने खतरालाई दृष्टिगत गरी सो आदेश दिनुभएको बताइएको छ।
फ्रान्सेली सेनाले बिद्रोहीहरुको लाममाथि हवाई आक्रमण गर्दा एकजना चालक मारिएका छन।
सोमालियामा बन्दी बनाइएका गुप्तचर सेवाका एकजना फ्रान्सेली अधिकारीलाई मुक्त गराउनका लागि गरिएको सैनिक कारबाहीमा दुइजना फ्रान्सेली सैनिक मारिएका छन भने बन्दी बनाइएका व्यक्ति पनि मारिएको आशंका गरिएको बिबिसीले जनाएको छ। तस्विर सौजन्य: बिबिसी
'जन-युद्धको बलमा जन-विद्रोह': अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन
नेकपा, माओवादीको काठमाडौँमा जारी सातौं महाधिवेशनमा छलफल र सुझावका लागि गठित एक्काइस समूहका अधिकांश प्रतिनिधिले जन-युद्धकालीन संरचना तत्काल ब्यूँताउन नेतृत्वलाई सुझाव दिएका छन।
शुक्रबार एक्काइसवटा समूहमा छलफल भएको माओवादी अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमा 'जन-युद्धको बलमा जन-विद्रोह' भन्ने स्पष्ट नीति किटान गरिएको र आवश्यक परे जन-सेना, जन-अदालतलगायतका दस वर्षे जन-युद्धकालका अवशेषहरू ब्युँताउने प्रस्ताव गरिएको छ।
राष्ट्रियता, जन-जीविकालगायतका विषयमा राज्यले सुनुवाइ नगरेमा दीर्घकालीन जन-युद्धकै कार्य-दिशा अपनाउनुपर्ने भनाइ सहभागी प्रतिनिधिहरूको रहेको जानकारी मिथिला राज्य समितिका प्रमुख कृष्णदेव दनुवारले दिनुभयो।
थारुवान राज्य समितिका सदस्य भैरव भट्टले सांगठनिक र वैचारिक कार्यक्रम लिएर जनतासमक्ष जाँदा राज्यले दमनको नीति अवलम्बन गरेको खण्डमा प्रतिवादका लागि 'सशस्त्र जन-युद्ध' नै अन्तिम विकल्प हुनुपर्ने बताउनुभयॊ। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई 'नवधनाढ्य' वर्गमा रूपान्तरित भएर क्रान्तिलाई धोका दिएको भन्दै उहाँले त्यसबाट पार्टीले पाठ सिक्नपर्ने सुझाव दिनुभयो।
नेता सन्तोष बुढामगरले जन-युद्ध नै पार्टीको राजनीतिक लाइन हुने बताउँदै प्रतिनिधिहरूबाट जोरदार तरिकाले आएको यससम्बन्धी मागको कदर पार्टीले गर्नुपर्छ भन्नुभयो। पार्टी अध्यक्ष मोहन वैद्यको दस्तावेज स्पष्ट भएको र अब त्यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको कुरा पनि नेता बुढामगरले बताउनुभयो।
Subscribe to:
Posts (Atom)