Friday, December 21, 2012

प्रधान सेनापति गौरवशमशेर राणा साइकलमा कार्यालय प्रवेश

वातावरणीय प्रदूषणको चपेटामा परेको काठमाडौँको वातावरणलाई स्वस्छ पार्न अलिकति मात्र भए पनि सघाउने उद्देश्यले आफ्ना सैनिक अधिकृतहरुलाई हप्ताको एक दिन पैदल या साइकल चढेर कार्यालय आउन आदेश दिनुभएका प्रधान सेनापति गौरवशमशेर राणा आज आफू पनि साइकलमा कार्यालय प्रवेश गर्नुभयो। 

सधैजसो साइरनसहितको सैनिक प्रहरीको गाडी अगाडि र पछाडि राखेर कडा सुरक्षाका साथ सवार हुनुहुने प्रधान सेनापति राणा वातावरणलाई प्रदूषण हुनबाट जोगाउन अलिकति भए पनि योगदान पुगोस् भनेर साइकलमा सैनिक मुख्यालय प्रवेश गर्नुभएको हो। 
प्रधानसेनापति मात्र नभई काठमाडौं उपत्यकाको चक्रपथभित्र रहनुहुने नेपाली सेनाका बाहिनी, गण, गुल्ममा कार्यरत अधिकृतदेखि रथीवृन्दसम्मका सेनाका धेरै उच्च पदस्थ अधिकारी साइकल चढेरै कार्यालय प्रवेश गर्नुभयो भने कतिपयले सार्वजनिक यातायातका साधन चढेर कार्यालय पुग्नुभयो। नेपाली सेनाले यसै साता वातावरण प्रदूषण कम गर्न हप्ताको एक दिन प्रत्येक शुक्रबार सार्वजनिक सवारी साधन अथवा साइकल चढेर वा पैदल नै कार्यालय आउन मातहतका अधिकृतलाई आदेश दिएको थियो।
सो आदेशअनुसार उप-सेनानीदेखि रथीवृन्दले शुक्रबार कार्यालय आउँदा र फर्कदा सरकारी सुविधामा प्राप्त हुने कुनै पनि सवारी साधन प्रयोग गर्न पाउनेछैनन्।
'सङ्गठनले वातावरण जोगाउने काममा हाम्रो पनि योगदान पुगोस् भनेर हप्ताको एक दिन गाडी प्रयोग नगर्ने कार्यको थालनी गरेको छ, यसबाट व्यक्तिगतरुपमा धेरै नै राम्रो हुनेछ, हिँड्दा शरीरलाई फाइदा पनि पुग्छ,' नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले भन्नुभयो।
यसका अतिरिक्त, नेपाली सेनाको यो अभियानबाट पेट्रोलियम पदार्थमा लाग्ने खर्च जोगिने, उपत्यकाको सवारी चापलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस अभियानबाट नेपाली सेनाप्रति आम जनतामा सकारात्मक सन्देशसमेत प्रवाह हुनेछ। रासस

केन्यामा परस्पर विरोधी कृषि समूहहरु बीच भिडन्त: कम्तिमा तीसजनाको मृत्यु, कैयौं घाइते


अफ्रिकी राष्ट्र केन्याको ताना नदी क्षेत्रमा  परस्पर विरोधी कृषि समूहहरु बीच भएको पछिल्लो भिडन्तमा कम्तिमा उनान्चालिसजनाको मृत्यु भएको छ। 

पोकोमो समुदायका किसानहरुले ओर्मा गाउँका किपाओहरुमाथि आज विहानै गरेको आक्रमणमा परी ती मानिसहरु मारिएको जानकारी त्यहाँको प्रहरीले दिएको छ।  

आक्रमणका क्रममा घरहरु जलाइएको र गाउँलेहरुलाई तरबारले काटेको जानकारी पनि प्रहरीले दिएको छ। 
पोकोमो र ओर्मा समुदायका किसानहरु बीच गत अगस्ट र सेप्टेम्बरमा चर्केको प्रतिद्वन्द्वितामा परी एक सयभन्दा बढी गाउँले मारिएकाथिए।

आजको आक्रमणमा परी महिला र केटा-केटी पनि मारिएको र हताहत दुवै पक्षतिर भएको कुरा प्रहरीले जनाएको छ। 
थप प्रहरी र आकस्मिक सेवाका अधिकारीहरु घटनास्थल पुगेको र घाइतेहरुलाई बन्दरगाह शहर मुम्बासाको अस्पताल पुर्याइएको छ।
तस्विर सौजन्य: बिबिसी 

बेलायती सेनाले अफगानिस्तानमा ठूलो मूल्य चुकाउनु परे पनि त्यसको प्रयास सफल: बेलायती प्रधानमन्त्री


संयुक्त अधिराज्यका प्रधानमन्त्री डेविड क्यामरुनले बेलायती सेनाले अफगानिस्तानमा ठूलो मूल्य चुकाउनु परे पनि त्यसको प्रयास सफल भएको कुरा बताउनुभएको छ। 

क्रिस्मसअघि अफगानिस्तानमा तैनाथ बेलायती सेनालाई भेट्न त्यहाँ पुग्नुभएका बेलायती प्रधानमन्त्रीले सन् दुइ हजार एकदेखि हालसम्म बेलायती सेनाले चार सयभन्दा बढी सैनिकलाई गुमाउनुपरेको, तर बेलायती सेनाको उपस्थितिले कतिपय आतंककारी योजनाहरु विफल भएको कुरा बताउनुभयो। 
प्रधानमन्त्री क्यामरुनले हेल्मन्द प्रान्तमा तैनाथ बेलायती सेनाका पदाधिकारीहरुसँग टेबल-फुटबल खेल्नुभयो, र क्रिसमससम्बन्धी कार्यक्रममा सहभागी हुनुभयो।  तस्विर सौजन्य:बिबिसी

भारतको राजधानीमा सामूहिक बलात्कारमा परेकी युवती अझै खतरामुक्त छैनन


भारतको राजधानी दिल्लीमा गत आइतबार सामूहिक बलात्कार गरिएकी युवतीलाई अझै गहन उपचार कक्षमा राखिएको र उनको अवस्था खतरामुक्त नभएको जानकारी चिकित्सकहरुले दिएका छन। 

चिकित्सकले दिएको जानकारीअनुसार, तेइस वर्षिया ती विद्यार्थी होसमा छन् र उनको शरिरले जीवित रहने तिब्र उत्कण्ठा देखाएको छ। 

चिकित्सकहरुले उनका दुइवटा शल्यक्रिया गरिसकेका छन, र उनलाई जीवन-समर्थक यन्त्रमा राखिएको जानकारी दिल्लीको सफ्दर्जुंग अस्पतालका चिकित्सकहरुले दिएको कुरा बिबिसीले जनाएको छ। 

बेलुकि साढे नौ बजे दिल्लीको नगर बसमा चढेका ती युवती र उनका पुरुष साथी बसभित्रै आक्रमण र बलात्कारको शिकार भएपछि त्यहाँको जना-समुदायमा व्यापक असन्तोष देखापरेको छ। 

दिल्लीलाई महिलाहरुका लागि सुरक्षित स्थान बनाउन सरकारले शृंखलाबद्ध उपायहरुको घोषणा गरेको छ।  प्रहरीले बसका चालकलगायत चारजनालाई पक्राउ गरेको छ, र अरु दुइजनाको खोजी गरिरहेको जनाएको छ।  तस्विर सौजन्य:बिबिसी

प्रधान सेनापतिको कदमको सराहना अबश्य नै गर्नपर्छ


वातावरणीय प्रदूषणको चपेटामा परेको काठमाडौँका लागि प्रधानसेनापति गौरवशमशेर राणाले आफ्ना सैनिक अधिकृतहरुलाई हप्ताको एक दिन पैदल या साइकल चढेर कार्यालय आउन दिनुभएको आदेशले यस समस्याको समाधानमा खासै प्रभाव पार्दैन। 

किनभने प्रदूषणका खास कारक सैनिक अधिकृतहरुले चढ्ने चिल्ला गाडीहरु अबश्य होइनन, बरु दुइ सय मिटरको दूरीमा रहेको अर्को बस बिसौनीसम्म पुग्ने क्रममा बाटाको हरेक विन्दुमा उभिएको र हिडिरहेको हरेक मान्छेतिर हेर्दै 'गौशाला - रत्नपार्क - जाने हो' भन्दै कराउँदै सयौं ठाउँमा गियर बदल्दै घ्यारघ्यार र घुरघुर गर्दै चल्ने भाडाका सवारी साधनहरु हुन। 

यो वास्तविकता कसैको नजरबाट लुकेको छैन, तर कारबाही गर्ने आँट कसैमा छैन। चाबहिलबाट महाराजगंजतिर जाँदा पर्ने धोबी खोलाको पुलदेखि दुइ सय मिटर पर बस बसौनी तोकिएको छ, बस बिसौनी लेखिएको पाटी पनि झुन्ड्यइएको छ, तर त्यहाँ पुग्न कुनै चालक मान्दैन। यातायात सन्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको यातायात प्रहरी पुलको वारीपट्टि उभिएको हुन्छ, उ त्यो भाडाको सवारी साधनतिर हेरेर चित्त बुझाइरहेको हुन्छ, पुलको बिचैमा रोकिएको सवारी साधनको सहयोगी खलासीले पुल वरपर टहल्दै 'महाराजगंज - महाराजगंज' भनिरहेको हुन्छ। यस्तो नालायकीपन देखाउन रुचाउनेहरु प्रजातन्त्रका नाममा जोदाहा भैरहेको अवस्थामा यातायात सन्चालन कसरी सुचारु हुन्छ, र प्रदूषणको स्थितिमा सुधार आउँछ?

तर पनि, प्रधान सेनापतिको कदमको सराहना अबश्य नै गर्नैपर्छ। वातावरण प्रदूषणलाई कम गर्ने अथवा रोक्ने कम कुनै एउटा मात्र व्यक्ति वा संस्थाले गर्न सम्भव हुन्दैन। यसका लागि सबैले हातेमालो गर्नुपर्छ। 

हरेक शुक्रबार गाडी नचढ्न रथीदेखि उप-सेनानीसम्मलाई आदेश जारी गर्ने प्रधान सेनापति राणाको कदमलाई नेपाल सरकारका मन्त्रालयहरुले पनि अनुसरण गर्नसके भने, राणाको कदमको प्रभावकारिता बढ्दैजानेछ। 

तर एउटा पार्टीको सरकारले जारी गरेको आदेश मान्दिन भन्न समेत सक्ने अर्को पार्टी-समर्थक अप्रजातान्त्रिक कर्मचारी भएको नेपालजस्तो देशमा यो सम्भव होला? मलाई त् त्यसो लाग्दैन। यहाँ त डण्डा बर्षाउनेको सरकार आउनुपर्छ, प्रजातान्त्रिक संस्कारको विकास भैनसकेका मानिसहरु बसेको देशमा प्रजातन्त्र फष्टाउन सक्दैन। 

प्रजातान्त्रिक संस्कारको विकास मानिसमा विस्तारै गराउन सकिन्छ, नियम कानुनका मध्यमबाट। तर नियम कानुन नै मान्न नचाहने मानिसहरु भएपछि, तीनलाई गलती गरेपछि टाउकामा ट्वाँङ्ग हान्नैपर्छ, हैन र? तस्विर सौजन्य: इकान्तिपुर