Friday, December 21, 2012

प्रधान सेनापति गौरवशमशेर राणा साइकलमा कार्यालय प्रवेश

वातावरणीय प्रदूषणको चपेटामा परेको काठमाडौँको वातावरणलाई स्वस्छ पार्न अलिकति मात्र भए पनि सघाउने उद्देश्यले आफ्ना सैनिक अधिकृतहरुलाई हप्ताको एक दिन पैदल या साइकल चढेर कार्यालय आउन आदेश दिनुभएका प्रधान सेनापति गौरवशमशेर राणा आज आफू पनि साइकलमा कार्यालय प्रवेश गर्नुभयो। 

सधैजसो साइरनसहितको सैनिक प्रहरीको गाडी अगाडि र पछाडि राखेर कडा सुरक्षाका साथ सवार हुनुहुने प्रधान सेनापति राणा वातावरणलाई प्रदूषण हुनबाट जोगाउन अलिकति भए पनि योगदान पुगोस् भनेर साइकलमा सैनिक मुख्यालय प्रवेश गर्नुभएको हो। 
प्रधानसेनापति मात्र नभई काठमाडौं उपत्यकाको चक्रपथभित्र रहनुहुने नेपाली सेनाका बाहिनी, गण, गुल्ममा कार्यरत अधिकृतदेखि रथीवृन्दसम्मका सेनाका धेरै उच्च पदस्थ अधिकारी साइकल चढेरै कार्यालय प्रवेश गर्नुभयो भने कतिपयले सार्वजनिक यातायातका साधन चढेर कार्यालय पुग्नुभयो। नेपाली सेनाले यसै साता वातावरण प्रदूषण कम गर्न हप्ताको एक दिन प्रत्येक शुक्रबार सार्वजनिक सवारी साधन अथवा साइकल चढेर वा पैदल नै कार्यालय आउन मातहतका अधिकृतलाई आदेश दिएको थियो।
सो आदेशअनुसार उप-सेनानीदेखि रथीवृन्दले शुक्रबार कार्यालय आउँदा र फर्कदा सरकारी सुविधामा प्राप्त हुने कुनै पनि सवारी साधन प्रयोग गर्न पाउनेछैनन्।
'सङ्गठनले वातावरण जोगाउने काममा हाम्रो पनि योगदान पुगोस् भनेर हप्ताको एक दिन गाडी प्रयोग नगर्ने कार्यको थालनी गरेको छ, यसबाट व्यक्तिगतरुपमा धेरै नै राम्रो हुनेछ, हिँड्दा शरीरलाई फाइदा पनि पुग्छ,' नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले भन्नुभयो।
यसका अतिरिक्त, नेपाली सेनाको यो अभियानबाट पेट्रोलियम पदार्थमा लाग्ने खर्च जोगिने, उपत्यकाको सवारी चापलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस अभियानबाट नेपाली सेनाप्रति आम जनतामा सकारात्मक सन्देशसमेत प्रवाह हुनेछ। रासस

No comments:

Post a Comment