वातावरणीय प्रदूषणको चपेटामा परेको काठमाडौँका लागि प्रधानसेनापति गौरवशमशेर राणाले आफ्ना सैनिक अधिकृतहरुलाई हप्ताको एक दिन पैदल या साइकल चढेर कार्यालय आउन दिनुभएको आदेशले यस समस्याको समाधानमा खासै प्रभाव पार्दैन।
किनभने प्रदूषणका खास कारक सैनिक अधिकृतहरुले चढ्ने चिल्ला गाडीहरु अबश्य होइनन, बरु दुइ सय मिटरको दूरीमा रहेको अर्को बस बिसौनीसम्म पुग्ने क्रममा बाटाको हरेक विन्दुमा उभिएको र हिडिरहेको हरेक मान्छेतिर हेर्दै 'गौशाला - रत्नपार्क - जाने हो' भन्दै कराउँदै सयौं ठाउँमा गियर बदल्दै घ्यारघ्यार र घुरघुर गर्दै चल्ने भाडाका सवारी साधनहरु हुन।
यो वास्तविकता कसैको नजरबाट लुकेको छैन, तर कारबाही गर्ने आँट कसैमा छैन। चाबहिलबाट महाराजगंजतिर जाँदा पर्ने धोबी खोलाको पुलदेखि दुइ सय मिटर पर बस बसौनी तोकिएको छ, बस बिसौनी लेखिएको पाटी पनि झुन्ड्यइएको छ, तर त्यहाँ पुग्न कुनै चालक मान्दैन। यातायात सन्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको यातायात प्रहरी पुलको वारीपट्टि उभिएको हुन्छ, उ त्यो भाडाको सवारी साधनतिर हेरेर चित्त बुझाइरहेको हुन्छ, पुलको बिचैमा रोकिएको सवारी साधनको सहयोगी खलासीले पुल वरपर टहल्दै 'महाराजगंज - महाराजगंज' भनिरहेको हुन्छ। यस्तो नालायकीपन देखाउन रुचाउनेहरु प्रजातन्त्रका नाममा जोदाहा भैरहेको अवस्थामा यातायात सन्चालन कसरी सुचारु हुन्छ, र प्रदूषणको स्थितिमा सुधार आउँछ?
तर पनि, प्रधान सेनापतिको कदमको सराहना अबश्य नै गर्नैपर्छ। वातावरण प्रदूषणलाई कम गर्ने अथवा रोक्ने कम कुनै एउटा मात्र व्यक्ति वा संस्थाले गर्न सम्भव हुन्दैन। यसका लागि सबैले हातेमालो गर्नुपर्छ।
हरेक शुक्रबार गाडी नचढ्न रथीदेखि उप-सेनानीसम्मलाई आदेश जारी गर्ने प्रधान सेनापति राणाको कदमलाई नेपाल सरकारका मन्त्रालयहरुले पनि अनुसरण गर्नसके भने, राणाको कदमको प्रभावकारिता बढ्दैजानेछ।
तर एउटा पार्टीको सरकारले जारी गरेको आदेश मान्दिन भन्न समेत सक्ने अर्को पार्टी-समर्थक अप्रजातान्त्रिक कर्मचारी भएको नेपालजस्तो देशमा यो सम्भव होला? मलाई त् त्यसो लाग्दैन। यहाँ त डण्डा बर्षाउनेको सरकार आउनुपर्छ, प्रजातान्त्रिक संस्कारको विकास भैनसकेका मानिसहरु बसेको देशमा प्रजातन्त्र फष्टाउन सक्दैन।
प्रजातान्त्रिक संस्कारको विकास मानिसमा विस्तारै गराउन सकिन्छ, नियम कानुनका मध्यमबाट। तर नियम कानुन नै मान्न नचाहने मानिसहरु भएपछि, तीनलाई गलती गरेपछि टाउकामा ट्वाँङ्ग हान्नैपर्छ, हैन र? तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment