Thursday, November 1, 2012

समुद्री आँधी क्यानडातर्फ

न्युयोर्क, कार्तिक १६ - आइतबार रातिबाट सुरु समुद्री आँधी को तनावबाट मुक्त भए पनि न्युयोर्क अझै अस्तव्यस्त नै छ । न्युयोर्कमा दससहित चार दर्जन बढीको ज्यान लिएको 'स्यान्डी' को प्रभावले यहाँको सार्वजनिक यातायात अझै खुल्न सकेको छैन । 

लाखौं लाख प्रभावित भएका छन् । 'न्युयोर्क मेट्रो सबवे' खुल्ने निश्चित भएको छैन भने सार्वजनिक बस सेवा आंशिक रूपमा सुरु भएको छ । न्युयोर्कका मुख्य पाँच भूमिगत सुरुङमध्ये 'लिङ्कन टनेल' मात्र खुला भएको छ । सबवेका सातवटा 'टनेल' मा पानी भरिएको छ । सबवे पुनः सुचारु नहुन्जेल न्युयोर्क अस्तव्यस्त हुने निश्चित छ । जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल आंशिक खुला भए पनि अन्य दुई विमानस्थल बुधबार बिहानसम्म खुल्न सकेका छैनन् । 

मिचिगन लगायत सत्र अमेरिकी राज्यहरूका असी लाख घरमा विद्युत् आपूर्ति विच्छेद भएको र आपूर्तिका लागि अझै केही दिन लाग्ने समाचार एजेन्सीहरूले जनाएका छन् । न्युयोर्कका शिक्षण संस्थाहरू बुधबार पनि बन्द रहेका छन् भने तल्लो म्यानहाटन क्षेत्र अझै जलमग्न छन् । न्युयोर्क स्टक एक्सचेन्ज खुला भएको छ । क्यारिबियन समुद्री क्षेत्रबाट सुरु भएको 'स्यान्डी' का कारण अमेरिकामा ३० अर्ब डलरभन्दा बढीको भौतिक क्षति एवं ३० अर्ब डलर बराबरकै व्यापार घाटा भएको विश्व अर्थतन्त्रसम्बन्धी ठूलो संस्था ग्लोबल इनसाइटले उल्लेख गरेको छ । स्यान्डी अमेरिकाबाट क्यानडातर्फ मोडिएको बताइएको छ ।

कांग्रेसको निर्णय स्वागतयोग्य: एमाले


काठमाडौ, कार्तिक १६ - अर्को प्रतिपक्ष एमालेलाई निर्वाचनमा जाने कांग्रेसको निर्णयले उत्साहित बनाएको छ । अब राजनीतिक निकासका लागि सकारात्मक वातावरण बन्ने विश्वास उसले व्यक्त गरेको छ ।
'अब राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचन प्रक्रिया थाल्नुपर्छ,' एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने । विघटित संविधानसभा पुनःस्थापनाको सम्भावना अस्वीकार गर्दै एमालेले यसअघि नै ताजा जनादेशमा जाने निर्णय गरिसकेको छ ।
तर सरकार विस्तार गर्ने सत्तापक्षको प्रयास भएको भन्दै उनले 'एमालेले त्यसको प्रतिवाद गर्ने' बताए । 'पदमुक्त प्रधानमन्त्रीले सरकार विस्तार गर्न खोज्नु संवैधानिक र कानुनी रूपमा मात्र नभई नैतिक रूपमा समेत मिल्दैन,' नेता ज्ञवालीले भने, 'चार दलको छलफलमा अर्को बैठकमा सहमतिको निकास खोज्ने प्रतिबद्धता जनाएको सत्तापक्षले भोलिपल्ट आफ्नो बैठक गरी सरकार विस्तारको तयारी गर्ने निर्णय गरेर मुलुकलाई मुठभेडमा लैजान खोजेको छ ।'
'एमाओवादी सहमतिको कुरा गर्दै विपक्षीलाई अलमल्याउने र सत्ता लम्ब्याउन खोजिरहेको छ भन्ने हाम्रो शंका पुष्टि भएको छ,' उनले भने, 'राष्ट्रपतिबाट पदमुक्त भएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्छु भन्नु आफैंमा हास्यास्पद छ, हामी यसको प्रतिवाद गर्छौं ।'
यसैगरी राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणीकरणमा 'अयोग्य' ठहरिएका बहिर्गमित पूर्वलडाकुलाई रकम दिने सरकारको निर्णयप्रति पनि एमालेको आपत्ति छ । 'यो राज्यकोषमाथिको लुट हो,' ज्ञवालीले भने, 'प्रमाणीकरणमा परेका लडाकुको गाँस र राज्यकोषको भारबाट यसअघि पनि उनीहरूलाई दुई वर्ष पालनपोषण गरेर ज्यादती भएको थियो ।'
यसअघि सरकारले 'अयोग्य' पूर्वलडाकुलाई दुई लाख रुपैयाँका दरले रकम दिने निर्णय गरी गोप्य रूपमा कार्यान्वयनमा लैजान खोजेको समाचार सार्वजनिक भएको थियो । 'यसले माओवादीलाई पनि राम्रो गर्दैन,' उनले भने, 'राज्यकोषबाट जथाभावी रकम बाँड्दा राज्यको मुख ताक्ने लम्पट युवा जमात तयार हुन्छ ।' यस्तो निर्णयले भगौडा सुरक्षाकर्मी र अन्य कर्मचारीलाई पनि रकम दिन दबाब पर्ने उनले बताए ।  
प्रकाशित मिति: २०६९ कार्तिक १६ ०८:३८