Sunday, October 13, 2019

यी हुन् नेपाल-चीनबीच भएको २० बुँदे समझदारी

आश्विन २६, २०७६कान्तिपुर संवाददात

काठमाडौँ — नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे। प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएका बुँदाको संक्षिप्त अनुवाद:
१. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता
२. सुशासन क्षमता बृद्धिका लागि समझदारी
३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता
४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी
५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी।
६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान।
७. चीन–नेपाल अन्तरदेशीय रेल परियोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी।
८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति।
९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति।
१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी।
११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी।
१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी।
१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता।
१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल
१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।
१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र।
१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।
१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी।
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान।
२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट।प्रकाशित : आश्विन २६, २०७६ १५:२५

नेपालकाे दुईदिने राजकीय भ्रमण सम्पन्न गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता

आश्विन २६, २०७६कान्तिपुर संवाददात
काठमाडौँ — नेपालकाे दुईदिने राजकीय भ्रमण सम्पन्न गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनुभएकाे छ। शनिबार अपरान्ह काठमाडौं पुग्नुभएका चिनियाँ राष्ट्रपति सी आइतबार दिउँसो २ बजेर ४० मिनेटमा एयर चाइनाको विशेष विमानबाट चीन प्रस्थान गर्नुभयाे। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गर्नुभयाे।

राष्ट्रपति सीकाे स्वागतका लागि राष्ट्रपति भण्डारी नै शनिबार विमानस्थल पुग्नुभएकाे थियाे। विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरुले चिनियाँ राष्ट्रपति सीकाे विदाइ गर्नुभयाे।

साे अवसरमा नेपाली सेनाकाे टुकडीले चिनियाँ राष्ट्रपति सीकाे सम्मानमा बिदाई सलामी अर्पण गरेको थियो।


राष्ट्रपति सी चिनियाँ ध्वजाबहाक विमान— एयर चाइनाको विशेष विमानमार्फत भारतको चेन्नाइबाट हिजाे शनिबार काठमाडौं आइपुग्नुभएकाे थियाे।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका सी स्वदेश फर्किनुअघि सोल्टी होटलमा केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर  गर्नुभएकाे कुरा इकान्तिपुरले जनाएकाे छ।

तस्बिरहरु : इलिट जोशीप्रकाशित : आश्विन २६, २०७६ १४:२३

नेपाल–चीन उच्चस्तरीय वार्ता सम्पन्न

आश्विन २६, २०७६, रासस
काठमाडौँः नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भएको कुरा कान्तिपुर दैनिकले जनाएकाे छ।
तस्बिर : रासस
वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८वटा समझदारीपत्र र दुईवटा लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुबै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदान–प्रदान पनि गरे।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए। 
प्रकाशित : आश्विन २६, २०७६ १३:००

नेपाल तथा चीनबीच द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर

देवेन्द्र भट्टराई

आश्विन २६, २०७६, काठमाडौँः चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल-चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ। समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो।

  • काठमाडौं- चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
  • बुटवल-सियान सहरबीच भगिनी सम्बन्ध
  • त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
  • टनेल निर्माण समझदारी।
  • सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी।
  • आपराधिक गतिविधि नियन्त्रणमा समझदारी।
  • आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी
  • काठमाडौंमा खानेपानी व्यवस्थापनसम्बन्धी सम्थादारीलगायत।
प्रकाशित : आश्विन २६, २०७६ ११:२१

कोजाग्रत पूर्णिमाका अवसरमा आज अधिराज्यभरि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै


आज आश्विन शुक्ल पूर्णिमाकोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाका अवसरमा आज अधिराज्यभरि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिंदैछ।

पैराणिक मान्यताअनुसारआजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ, अर्थात ब्यूँझिइरहेको छ भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्त कतै पनि उज्यालो नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र तिनीहरूबाट प्रसन्न भएर उनिहरूलाई धनधान्यले पूर्ण पारिदिएको विश्वास मानी आज महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने चलन छ।

विजया दशमीका दिनदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा आजकै दिन पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिवत रूपमा राखिएको जमरा, कलशलगायत पूजाका अन्य सम्पूर्ण अवशेषको विसर्जन आजै गरिन्छ।

कोजाग्रत पूर्णिमालाई नेपालीहरूको अर्को महान चाड तिहारको आगमन हुनलागेको संकेतका रूपमा पनि मनाइन्छ।

भोलिदेखि एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा कार्तिकस्नान तथा तुलसीपूजा प्रारम्भ हुन्छ। 

यसै पूर्णिमादेखि स्वच्छ र खुला आकाश तथा ग्रहनक्षत्रहरूको सम्मानसूचक आकाशदीप बाल्ने परम्परा पनि छ। आफ्नो घरका धुरी वा कॉशीमा आकाशदीप बालेर धनकी अधिष्ठात्रि देवी महालक्ष्मीलाई आफ्ना घरमा बास गर्न आह्वान गरेको वा निम्ता दिएको पनि मानिन्छ।
  


चिनियाँ रेल र बिआरआई विरोधि कुतत्वहरुसंग लड्न एक जुट हौं !

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार

-भरत दाहाल
चिनियाँ रेलको महत्वलाई विषयान्तर गर्ने दलाल प्रयास, रेलको महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
रक्सौलबाट काठमाण्डूसम्म ईण्डियन रेल ल्याउने घोषणा हुँदा ईण्डो-पश्चिमा दलालहरु गद्गद थिए, कसैको मूखबाट विरोधको स्वर निस्केन। अहिले चिनियाँ रेलले काठमाण्डू जोड्ने विषय तय हुन थालेपछि विभिन्न रुपरंगमा संगठित गरिएका एजेन्टहरु अघोर ‘देशप्रेम’ले बौलाउनै थालेका छन्। कतिपयको हौवा छ ‘ऋणको पासो’मा फस्ने खतरा। कतिपय भिजनरी ठहरिएर बक्बकाउँदैछन् कि नेपालको प्राथमिकता रेल नभएर सडक यातायात हो। यीनीहरुले नेपालीहरुलाई पढाउनु पर्दैन।
हाम्रो भनाई छ: ईण्डो-पश्चिमा अत्याचारलाई अन्त्य गर्नका लागि पहिलो प्राथमिकता चिनियाँ रेल हो। यसको महत्व ईण्डियन घेराबन्दीबाट नेपाललाई मुक्त गर्ने प्रश्नसंग जोडिएको छ। नेपाललाई समुद्रसम्मको बाटो नदिएर ४ पटक नाकाबन्दी लगाएको कुरा किन गर्दैनन् एजेन्टहरुले ? यसको महत्व पश्चिमा साम्राज्यवादीहरुको हस्तक्षेपलाई बन्द गर्नुमा छ। यो सबै काम त्यो बेला मात्र संभव हुन सक्छ, जब बिआरआई मार्फत् नेपाल विश्व समुदायसंग जोडिने आधार बन्दछ। रेलकाे महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
बिआरआई मार्फत् नेपाल विश्व समुदायमा प्रवेश पाउन थालेको अवस्थाबाट दलालहरु विक्षिप्त छन्। चिनियाँ रेल ल्याएर मात्र देशको विकास हुँदैन र विकासका लागि आफ्नो उत्पादन गर्नु पर्छ भन्ने कुरा तिनीहरुलाईभन्दा हामीलाई बढी थाहा छ। बिआरआई अवसर हो, चिनियाँ रेलले यसको ढोका खोल्छ। दलालहरुको चिन्ता नेपालमा ईण्डो-पश्चिमा साम्राज्यवादीहरुको नव-औपनिवेशिक अत्याचार अन्त्य हुन लाग्यो भन्ने कुरासंग जोडिएको छ। यीनीहरुको छट्पटाहटले समयको गती रोकिन्न।
ईण्डो-पश्चिमा दलालहरुको छटपटीले जन्मिएको नयाँ अर्थ-राजनीतिक अवधारणा ‘ऋणकाे पासाे’
अमेरीकन, यूरोपीयन र ईण्डियनहरुको शोषण, अत्याचार र ब्यापारघाटाले नेपालको टाट उल्टिंदासम्म ‘ऋणको पासो’ भन्ने पदावलि पहिले कहिल्यै कसैका मुखबाट सुनिएको थिएन। जब नेपाल र चीनका बिचमा trans-himalayan multidimensional connectivity network मा सहमति भयो र यसलाई बिआरआईको अभिन्न अङ्ग बनाएर चिनियाँ रेलमार्गबाट नेपाललाई जोड्ने कुरा आयो, तब यूरो-अमेरीकि स्कूलिङले ‘ऋणको पासो’ भन्ने पदावलीको आविष्कार गर्यो। अमेरीकि साम्राज्यवादीहरुले पहिलो पटक उच्चारण गरेको यो पदावली सिआईए, रअ र यूरोपीयन यूनियनका मानस पुत्रहरुका लागि थेगो बन्न पुग्यो।
नेपालीहरुलाई तर्साउन खटाईएकाहरुले विश्वबैंक, एशियाली विकास बैंक, अमेरीका, यूरोपीयन र ईण्डियनहरुले नेपालमाथि बोकाएको ऋणको भार कति छ भन्ने यथार्थता कहिल्यै खोल्न चाहेनन्। एक जना नेपाली नागरिकका टाउकामा बण्डा परेको झण्डै ४० हजार रुपैयाँको भार ईण्डो-पश्चिमा मुलुक र तिनका बहुराष्ट्रिय कम्पनीहरुले थोपरेको भार हो भन्ने कुरा सँधै लुकाएर बसे। अहिले यी निम्न कोटीका साम्राज्यवादी चाकरहरुका मनमा नेपालको चिन्ता जागृत भएको छ किनकि बिआरआईले यहाँका दलालहरुका पालनपोषणकर्ता साम्राज्यवादीहरुको एकाधिकारवादी अत्याचारलाई नेपालबाट विदा गर्ने आधार बनाउँदैछ।
संकटले कसैलाई छद्म आवरणमा लुकिरहन अनुमति दिंदैन। जसरी घोषित रुपमा कांग्रेस-बाबुरामहरु र अघोषित रुपमा अन्य दलको खोलमा लुकेका अपराधिहरुले नेपाल विश्व सञ्जालमा जोडिने प्रकृयाको विरोधमा उत्रिनु पर्ने र सहमतिका लागि निर्णय भैसकेको सुपुर्दगी सन्धिलाई रेण्डी बेरीको दबाबपूर्ण निर्देशनमा रोक्नु पर्ने अवस्था आयो, त्यसैगरी चिनियाँ राष्ट्रपतीको भ्रमणपछि नेपाली र गैर-नेपाली दलाल कित्ता तथा ईण्डो-पश्चिमा धुरी र सिनो-रसियन धुरीका बिचको ध्रुविकरण तिब्र भएर जानेवाला छ। नेपाललाई नर्कको आहालमा डुबाएर ‘ऋणको पासो’को कथा वाचन गर्ने देश विरोधि कुतत्वहरुसंग लड्न अब नेपालीहरु एक जुट हुनु पर्दछ।

चिनियाँ राष्ट्रपतिले नेपालीमा भन्नुभयो: नेपाली चिनियाँ दाजुभाइ, नेपाल चीन सम्बन्ध जिन्दावाद

डाँफे टेलिभिजनबाट साभार


चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न चीनले सहयोग गर्ने बताउनुभएको छ। नेपालकाे दुई दिने राजकीय भ्रमणको क्रममा राष्ट्रपति सीले आफ्नो सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्ने क्रममा भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने बताउनुभएको हो।

राष्ट्रपति सीले नेपाल–चीन सीमापार रेलमा मार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने, सीमापार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन चीन सक्रिय हुने पनि बताउनुभयो। ‘सीमा पार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने, काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन सक्रिय हुने छौं, नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउन सहयोग गर्ने छौं।’

काठमाडौंमा मेरो पहिलो भ्रमण हो, नेपालको स्थायीत्व र जनताको सुखी जीवन प्रति म हर्षित छु, भविष्यप्रतिको आशा जागेको छ: राष्ट्रपति सीले भन्नुभयो। भ्रमणले दुई देशबीचको घनिष्ट राजनीतिक सम्बन्ध अझै बलियो र प्रगाढ बन्नेमा आफू आशावादी रहेको तथा चीन र नेपालले शताब्दिऔं देखिको मैत्रीपूर्ण सम्बन्धको नमूना विश्वमा पेश गरेको छ, नेपाल र चीनका बीचमा केही समस्या छैन, मित्रता मात्र छ, उहाँको भनाइ थियो।

राष्ट्रपति भण्डारी र आफूले चुनौती र कठिनाइलाई मिलेर सामना गरि अघि बढ्न सहमति गरेको सुनाउँदै नेपालमा भूकम्पपछिको पुनःनिर्माण परियोजनालाई चीनले सक्रियताका साथ अघि बढाइरहेको बताउनुभयाे। नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागेको भन्दै सीले यसबीचमा धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि पठाउन उत्प्रेरित गर्ने अाश्वासन दिनुभयो। बुद्धको जन्म स्थल लुम्बिनीमा आगामी दिनमा धेरै भन्दा धेरै चिनियाँ पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो।

चीन र नेपालले बहुपक्षीय सहकार्य गर्नेछन्। नेपाल र चीनले बहुलबाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्ने, जलवायु परिवर्तनको मिलेर सामना गर्नुपर्ने भन्दै सीले चीन सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहेको बताउनुभयो। नेपालका नेतासँग मिलेर चीन र नेपालको विकासको खाका बनाउन पाएकोमा खुसी लागेको विचार ब्यक्त गर्नुभयो।

प्रधानमन्त्री केपी ओलीसँग द्वीपक्षीय सरोकारका विषयमा मिलेर अघि जाने निश्चित भएको भन्दै र शुरु गरेका योजनाहरुलाई पूरा गरेरै छोडौं, राष्ट्रपति सीले अनुभव सुनाउनु भयो।

दुई दिने राजकीय भ्रमणअन्तर्गत लागि शनिवार अपराह्न नेपाल अाउनु भएका सीले आफ्नो पहिलो काठमाडौं भ्रमणको आतिथ्यताका लागि नेपाललाई धन्यवाद दिनुभएकाे छ। भने अाफ्नाे मन्तब्यकाे अन्त्यमा नेपाली भाषामा बाेल्दै “नेपाली चिनियाँ दाजुभाइ, नेपाल चीन सम्बन्ध जिन्दावाद” भन्नुभएको थियो।

यसैगरी, चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रिभोजअघि दुई पक्षीय सम्बोधनका क्रममा होटल सोल्टीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको हितविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ। नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध छ, नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधि हुन नदिन सबै उपाय अपनाउँदै आएका छौँ, बताउनुभएको थियो।

राष्ट्रपति भण्डारीले नेपाल र चीन हिमाल र नदीबाट जोडिएको उल्लेख गर्दै सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो। उहाँले चिनियाँ भिक्षु र नेपाली कलाकारले दुई देशको सम्बन्धलाई अझ समृद्ध बनाएको उल्लेख गर्नुभयो। चीन र नेपालको सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च भएको उहाँको भनाइ थियो। उहाँले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतिक बनाउने नेपालको चाहना पूरा गर्ने पहल गरिदिन चिनियाँ राष्ट्रपति सीसमक्ष आग्रह गर्नुभयो। उहाँले भन्नुभयो: नेपालको लुम्बिनी बुद्धको जन्मस्थलमात्र नभए बौद्धधर्मावलम्बीको उद्गमस्थलसमेत हो, बुद्धभूमिलाई विश्व शान्तिको प्रतिक बनाउने हाम्रो पहलमा चीनको सहयोग रहने अपेक्षा गरेका छौँ। साेही अवसरमा राष्ट्रपति भण्डारीले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग हेर्ने नेपालीको चाहना रहेको भन्दै यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग जोडिएको हेर्न चाहेका छौँ, उनले चीनले प्राप्त गरेको उपलब्धिले नेपालीको यो चाहना छिट्टै पूरा हुने हाम्रो विश्वास छ। चीनसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेकाे उल्लेख राष्ट्रपति भण्डारीले गर्नुभयो। यसका साथै राष्ट्रपति भण्डारीले चिनियाँ लगानीकर्तालाई उत्पादन र जलस्रोतका क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएकाे छ। चिनियाँ लगानीकर्तालाई उत्पादन र जलस्रोतका क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौँ, सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ, राष्ट्रपतिले प्रतिवद्धता ब्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण पर्वतीय पर्यावरण संवेदनशील बनेको विषयसमेत उठाउनुभएको थियो। उहाँले आगामी वर्ष अप्रिलमा काठमाडौंमा सगरमाथा संवाद गर्ने तयारी भएको र त्यहाँ चिनियाँ प्रतिनिधिको उपस्थिति आवश्यक रहेको पनि उल्लेख गर्नुभएको थियो।

अन्त्यमा राष्ट्रपति भण्डारीले भन्नुभयो: नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ। जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ। दुवै देश र जनताको हितमा हुनेगरी चीन र नेपालको सम्बन्धलाई नयाँ उचाईमा लागने विश्वास व्यक्त गरेकी छु।