एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्व. भीमबहादुर तामाङ निष्ठा र सरलताको शिखर व्यक्तित्वका रुपमा सबैका लागि प्रेरणाका श्रोत भएको कुरा बताउनुभएको छ। अध्यक्ष दाहाल स्व तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आज विहान नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको थियो।
तामाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि शनिबारदेखि पार्टी कार्यालयमा राखिएको छ । श्रद्धाञ्जलिपछि सञ्चारकर्मीमाझ अध्यक्ष दाहालले बिदा हुनुभएको स्मरण गरे ।
तामाङको निधनमा शोक व्यक्त गर्न राखिएको पुस्तिकामा अध्यक्ष दाहालले आधुनिक नेपाली राजनीतिमा वैचारिक, निष्ठा र सरलताको प्रतीकका रुपमा स्व तामाङले नेपाली समाजलाई अविस्मरणीय योगदान गर्नुभएको कुरा उल्लेख गर्नुभएको छ। उहाँका गुणको आफूले अनुशरण गर्ने कुरा पनि दाहालले शोक पुस्तिकामा उल्लेख गर्नुभएको छ।
तामाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न उप-प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र एनेकपा (माओवादी) का प्रवक्ता अग्नि सापकोटा पनि कांग्रेस केन्द्रीय कार्यालय पुग्नुभएको थियो।
यसैबीच,नेपाली कांग्रेसका दिबंगत नेता भिमबहादुर तामांगको आजै आइतबार बौद्ध परम्पराअनुसार स्वयम्भुमा दाहसंस्कार गरिएको छ। उहाँका छोरा दीपक तामाङ दाहसंस्कार कार्यमा सहभागी हुनुहुन्थ्यो।