Sunday, November 4, 2012

राष्ट्रपतिको अभिव्यक्ति असंवैधानिकः शर्मा


शिक्षामन्त्री दीनानाथ शर्मा ले संविधानसभा पुनःस्थापना हुननसक्ने  राष्ट्रपति रामवरण यादवको अभिव्यक्ति असंवैधानिक भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले बुधबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री शर्माले राष्ट्रपति संविधानको संरक्षक भएकाले त्यसको भावना र मर्मविरुद्ध गएर अभिव्यक्ति दिन नमिल्ने बताएका हुन् ।
पत्रकारहरुको जिज्ञासामा मन्त्री शर्माले संविधान बन्ने सुनिश्चितता भए मात्र वर्तमान सरकार विघटन हुने बताए ।
‘विपक्षी दलहरुले संविधान घोषणा गर्ने एजेन्डा लिएर आए मात्र सहमति हुनसक्छ’ उनले भने, ‘नत्र सरकार परिवर्तनको उही पुरानो एजेन्डामा हामी सहमत छैनौं र त्यसले समाधान पनि निकाल्दैन ।’
शिक्षा विभागको कार्यक्रममा सहभागी हुन बागलुङ पुगेका मन्त्री शर्माले आगामी तीन वर्षभित्र नेपालबाट निरक्षरता उन्मूलन गरिने अठोठ व्यक्त गरे  ।
सबैलाई साक्षर बनाउन सरकारले यो वर्षदेखि साक्षर नेपाल अभियान सुरु गरेको जानकारी दिदै मन्त्री शर्माले यो अभियानलाई सार्थक बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।
क्रान्तिकारी पत्रकार सङ्घ बागलुङका अध्यक्ष कोपिला कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षामन्त्री शर्माले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि वर्तमान शिक्षा ऐनमा परिवर्तन गर्नु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो 

राष्ट्रपतिलाई 'कदम चाल्न उकास्नु' प्रतिगमनः शर्मा


शिक्षामन्त्री दिनानाथ शर्माले विपक्षी दलहरुले राष्ट्रपतिलाई 'कदम चाल्न उकासेर' मुलुकलाई प्रतिगमनतिर धकेल्नचाहेको आरोप लगाएका छन् ।
राष्ट्रपतिलाई संविधानले दिएको अधिकार नाघेर कदम चाल्न उकास्नु संविधानको मर्यादा विपरीत भएको उनले बताए । 'राजा ज्ञानेन्द्रलाई तुल्सी गिरीलेझै राष्ट्रपतिलाई उकासेर मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजिँदै छ,' क्रान्तिकारी पत्रकार संघले आइतबार बिहान नेपालगन्जमा गरेको भेटघाटमा मन्त्री शर्माले भने, ‘सहमतिमा जे सुकै निर्णय हुनसक्छ, बल प्रयोग गर्ने अधिकार राष्ट्रपतिलाई पनि छैन ।’ राष्ट्रपतिलाई कदम चाल्न सल्लाह दिनेहरुले फाँसीवादी र अधिनायकवादी सोच राखेको उनले आरोप लगाए ।
सरकारले सकेसम्म सहमति नै पूर्ण बजेट ल्याउने मन्त्री शर्माको भनाइ छ । 'सकेसम्म सहमतिकै प्रयत्न हुन्छ,' उनले भने, ‘हुनै सकेन भने मुलुक अनिर्णयको बन्दी हुन सक्दैन । सरकारले बजेट ल्याउँछ ।’ एक अर्को प्रशंगमा मन्त्री शर्माले वर्तमान सरकारका दुई दायित्वमध्ये शान्ति प्रक्रिया करिब टुंगिसकेकाले संविधान घोषणा गरेर मात्र संसदीय निर्वाचनबाट आउने शक्तिलाई सत्ता सुम्पने दाबी गरे ।

जुवाडेले ढुंगा र बोतल हान्दा चार प्रहरी घाइते


महोत्तरीको सहसौला गाविस- ९ टिकुलिया बजारमा जुवा खेलाउन रोक लगाएको विरोधमा जुवाडे र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा एकजना असईसहित चार प्रहरी घाइते भएका छन् ।
मेलामा राखेको कौडा प्रहरी टोलीले हटाएपछि जुवाडे प्रहरीमाथि जाइलागेका थिए । एसपी पवन खरेलका अनुसार जुवाडेले प्रहरीमाथि ढुंगामुडा र बियरका बोतल प्रहार गरेका थिए 
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको एसपी खरेलले जानकारी दिए । 
जुवा खेलाउन पाउनुपर्ने माग राख्दै जुवाडेको समूहले जलेश्वर-बर्दिवास सडक अबरुद्ध गरेको थियो। 

ओलीलाई थप उपचारका लागि दिल्ली लगियो


भारतबाट एयर एम्बुलेन्स आएपछि एमालेका वरिष्ठ नेता केपी ओलीलाई थप उपचारका लागि दिल्ली लगिएको छ। ओलीलाई नर्भिक अस्पतालबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लागिएको थियो। 


उनलाई विदाई गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता तथा कार्यकर्ताहरु विमानस्थल पुगेका थिए।

ओलीलाई दिल्लीको मेदान्त अस्पताल लगिनेछ। उनीसँगै ओली पत्‍नी राधिका शाक्य पनि गएकी छिन्। नेता ओलीको छातिमा सङ्क्रमण भएको देखिएपछि शुक्रबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको थियो। 

ओलीलाई शनिबार नै भारत लगिने भनिए पनि एयर एम्बुलेन्स नआएपछि सो कार्यक्रम स्थगित भएको थियो।