Thursday, January 3, 2013
सेरेना विलियेम्स र विक्तोरिया अजारेन्क ब्रिस्बन अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको सेमी फाइनलमा
अमेरिकी लन टेनिस खेलाडी सेरेना विलियेम्सले ब्रिस्बन अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको सेमी फाइनलमा बेलारुसकी विक्तोरिया अजारेन्कसङ्ग प्रतिस्पर्धा गर्नेभएकी छन।
विम्बल्डन, ओलम्पिक र अमेरिकी खुला प्रतियोगिता विजेता सेरेनाले आफ्नै मुलुककी स्लॉने स्टेफेन्सलाई छ-चार र छ-तीनको सोझो सेटमा पराजित गरेर सेमिमा प्रवेश गरेकिहुन भने अजारेन्कले कजाक्स्तानकी क्सेनिना पेर्वाकलाई छ-एक र छ-शुन्यको सोझो सेटमा।
अजारेन्कले यस महिनाको अन्त्यतिर हुने खेलमा आफ्नो अस्ट्रेलियन खुला प्रतियोगिताको उपाधि जोगाउने प्रयास गर्नेछन। तस्विर सौजन्य: बिबिसी
मन्त्रिपरिषद्को आजको बैठकद्वारा विभिन्न निर्णय र नियुक्ति
मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले साठी मेगावाट क्षमताको माथिल्लो त्रिसुली- ३ ए जलविद्युत् परियोजनाको क्षमता वृद्धी गरी परियोजनालाई ९० मेगावाटको बनाउन स्वीकृति दिएको छ। अर्थमन्त्री वर्षमान पुनले संचारकर्मीहरुसङ्ग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो।
तोकिएको क्षमता बढाउनका लागि नयाँ टेन्डर आहृवान गर्नुपर्ने व्यवस्थालाई वेवास्ता गर्दै सरकारले मन्त्रिपरिषदबाटै स्वीकृति दिएको भन्दै यसको विरोध गर्नथालिएको छ।
मन्त्रिपरिषद्को आजैको बैठकले गुठी संस्थानको सञ्चालक समितिको अध्यक्षमा पञ्चलाल महर्जन, र राष्ट्रिय बीउ-बिजन कम्पनी लिमिटेडको अध्यक्षमा सत्यनारायण भगतलाई नियुक्त गरेकोछ भने कैलाश गुरुङ, गोविन्दराज गुरुङ, सुवर्ण विष्ट र आशिषविक्रम राणालाई नेपाली सेनाको चालक महासेनानीमा बढुवा गरेको छ।
त्यसैगरी, बैठकले देशभरिका चार सय पच्चीसवटा उप-स्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने निर्णय गरेको छ। र स्थानीय शान्ति समितिहरुको म्याद आगामी असार मसान्तसम्मका लागि थप गरेकोछ।
बन्दुक, पर्खाल र गिर्वाणीका आँसु
मिलन बगाले
अंग्रेजी नयाँ बर्षको एकाबिहानै सामाजिक सञ्जालको भित्तामा एउटी स्यानी बच्ची रोइरहेकी देखे । बुझ्ने रहर जाग्यो । फोटो ठूलो पारेर हेरे । कठै ! ति बच्ची गिर्वाणी रहिछिन् । स्वर्गीय राजकुमारी श्रुतीकी छोरी गिर्वाणी ! आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी । तिनको आँसुले मेरो मन बेस्सरी अमिलो भो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रसम्बन्धी फोटो प्रर्दशनी गरेका रहेछन पूर्व शाहीचिकित्सक डा. खगेन्द्र श्रेष्ठले । त्यही प्रदर्शनी हेर्दै गिर्वाणी रोईरहेकी रहिछिन् । यतिविघ्न मन छुने र मन रुने फोटो खिच्नेलाई धेरै धन्यवाद ।
Photo : Binita Pandey |
गिर्वाणीका हजुरबा ज्ञानी थिए । आफ्ना बाबुले लादेको नराम्रो
ब्यवस्था यिनले निकैबर्ष धाने । पञ्चायत धान्नु हुदैनथ्यो पढेलेखेका राजाले । परम्पराबादी घेरोले उनलाई बाध्यो । उनी पनि बाधिन रुचाए । आन्दोलन चर्किएपछि २०३६ सालमा जनमतसंग्रह गराए । जालझेलका कृपाले त्यतिबेला पञ्चायत धानियो । २०४६ सालमा धानिएन । शासन सत्ताको साँचो जनताका मान्छेलाई बुझाएर खोपाको देउता बन्न यिनी राजी भए । २०४६ सालपछि नै वीरेन्द्र जनताको मनमन्दिरमा बास गरेका हुन् । पञ्चायतमा यिनलाई बमले उडाउन खोजिएको थियो । ‘वीरे चोर, देश छोड’को नाराले काठमाडौं घन्किएको थियो अरे । इतिहासका किताब पढेर थाहा पाएको हु मैले । संवैधानिक राजालाई जनताले बढी सम्मान गदौरैछन भन्ने भेउ वीरेन्द्रले बलियोसग महसुस गरे क्यार, मृत्युपर्यन्त लक्ष्मणरेखा नाघ्ने रहर गरेनन । अनि सर्वत्र पूजिए ।
२०४६ सालको जनआन्दोलनपछि वीरेन्द्र खोपाको देउता त बने, तर खोपामा बन्दुक पनि साथै राखे । उनी परम सेनाधिपति थिए । सेना ‘शाही’ थियो । उनको घरको भित्तो अग्लो थियो । भित्ताका ठाउँठाउँमा बडेबडे बन्दुक बोकेका सिपाहीले पहरा दिन्थे । भित्तोमुनि हिड्ने अधिकार कसैलाई थिएन । भित्तोतिर हेर्ने अधिकार पनि कसैलाई थिएन । भित्तो हेरे आखै फुक्लिने डर । सास फेरे सासै फुक्लिने डर । डरैडरको घरभित्र बन्दुकको भर मानेर गिर्वाणीका हजुरबा बसेका थिए । जनतासग अलग्गीएर बन्दुकको आडमा अग्लो पर्खालभित्र बस्नु राजा वीरेन्द्रको भयंकर गल्ती थियो गिर्वाणी ।
अग्लो पर्खालभित्र राजा वीरेन्द्रका शत्रुमात्रै थिए अरे । कोही ‘बाउको शासन मास्यो’ भनेर हप्काउथे अरे । कोही तेस्सै डराएर कांग्रेस -कम्युनिष्टलाई देश बुझाईस’ भन्थे अरे । कोही ‘बाउले झै फेरि उपध्रो गरेर शासन खोस’ भन्थे अरे । हप्काउनेका कुरा उनले सुनेनने अरे । पर्खालबाहिर भने यिनका शुभचिन्तक मात्रै थिए । सप्पैले मन पराउथे । देख्न खोज्थे । हेर्न खोज्थे । सुन्न खोज्थे । छुन खोज्थे । उनी बेलाबेलामा आईदिन्थे । हासिदिन्थे । बोलीदिन्थे । राजा जनता देखेर दंग पर्थे । जनता राजा देखेर । गजबको मेल थियो राजा -जनताको । जनताको आस्थाले राजसंस्था बाचेको थियो ।
बाहिर सुखी देखिएका राजा वीरेन्द्र र उनका परिवार दरबार नामको एम्बुसभित्र गुम्सिएर बसेका थिए । जन्मजात बानी परेकाले उनी एम्बुसभित्रै रमाइरहेका थिए । एम्बुसमा रमाउनु एक्काईसौ शताब्दीका पठित राजाको ठूलो भूल थियो, नेपाली जनताका लागी ठूलो क्षति । एउटा कालो राता आयो २०५८ जेठमा । त्यो रात आत्मघाती एम्बुस पडकियो र ३ हजारभन्दा बढी सेनाले घेरिएका राजाको परिवार नष्ट गर्यो । पर्खाल अग्लो थियो । पर्खाल होचो भइदिएको भए जनता भित्र पसेर राजाको उद्धार गर्ने थिए । रानीको उद्धार गर्ने थिए । गिर्वाणीकी आमालाई पनि बचाउने थिए । देउता खोपामा थिए । खोपाका वरिपरि हतियारका खपटा थिए । हतियारका खपटा छिचोलेर आफ्ना देउतासामू नेपाली जनता पुग्नै पाएनन ।
गिर्वाणी , तिमी हतियारलाई घृणा गर । हतियारले तिम्री आमा खाइदियो । आमाको न्यानो काख र हजुरबाको प्यारो काधबाट तिमी र तिम्री बहिनीलाई सदाको लागी बन्चीत तुल्याइदियो । नेपाली जनताका प्यारा राजालाई खाइदियो । तिम्रा आसुँले हत्यारा र हतियारलाई बेस्सरी पोल्नेछ । तिमी ज्ञानी बन्नु । श्रुतीकी छोरी र वीरेन्द्रकी नातिनीको रुपमा नेपाली जनताले तिमीलाई सधैं माया गर्नेछन् । नानी, तिम्रो सधैं जय होस् । साभार: शब्द चित्र डट कम
आफूले म्याद थपेको धाराबाटै सहमतीय सरकार गठन गराइछाड्ने राष्ट्रपति रामवरण यादवको प्रतिबद्धता
राष्ट्रपति रामवरण यादवले आफूले म्याद थपेको धाराबाटै सहमतीय सरकार गठन गराइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काभ्रेको होक्सेमा संचालित जनता उच्च माविको हिरक जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले राजनीतिक दलहरुलाई जसरी भए पनि एक ठाउँमा ल्याएर सहमतीय सरकार गठन गराइछाड्ने अठोट व्यक्त गर्नुभयो।
राजनीतिक दलहरुले शान्ति र संविधानभन्दा सत्तालाई बढी प्राथमिकता दिएका कारण देश बिग्रिएको धारणा पनि राष्ट्रपति यादवले व्यक्त गर्नुभयो।
एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा मात्रै मिलेर देशमा निकास निस्कन नसक्ने विचार व्यक्त गर्दै राष्ट्रपति यावदले सबै दललाई आपसमा मिलेर अघि बढ्न आग्रह गर्नुभयो।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य करिमा बेगमद्वारा फोरम नेपालमा प्रवेश गरेको घोषणा
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य करिमा बेगमले पार्टी परित्याग गर्नुभएको छ । सम्झना होटल, काठमाडौँमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो।
सोही पत्रकार सम्मेलनमा उहाँले विजयकुमार गच्छदारले नेतृत्व गर्नुभएको फोरम लोकतान्त्रिक परित्याग गरी उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेको घोषणा गर्नुभयो।
माधवकुमार नेपाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री रहनुभएकी करिमा बेगमले पदमा बहाल रहेका बेला पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर, अनि सरकारले आफूलाई पुरानो गाडी दिएको भन्दै त्यसको शिशा फुटालेर चर्चा कमाउनुभएको थियो।
नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिलेइ जिम्मेवार बन्नसकेन? यस विद्युत प्राधिकरणले आफै बनाएको भार सम्प्रेषण तालिकाको पालना यसले कहिलेइ गरेन। यसले मनपरी विद्युत आपूर्ति गर्ने र काट्ने गर्दा आफ्ना टेलिभिजन, कम्प्युटर जलेर भएको क्षति समेत सहन गर्न नेपाली ग्राहकहरु बाध्य छन।
क्षेत्र नम्बर चारमा आज बिहिबार विहान नौ बजे मात्र बत्ती निभाउनुपर्ने हो। तर ग्राहकहरुको घरमा चाहिने बेलामा बत्ती बलेको यस प्राधिकरणका कर्मचारीहरुलाई सह्य भएन। त्यसैले यिनीहरुले सातै बजे बत्ती निभाएर आठ बजे मात्र दिए। त्यसपछि नौ बजे बत्ती निभाए, फेरि पाँच मिनेटपछि दिए। सात बजे विजुली चाहिन्थ्यो- समाचार सुन्न, राइस कुकर जोड्न, पनि तताउन। त्यति बेला निभाइदिये(यद्देपि दिनुपर्थ्यो यिनीहरुकै समय तालिका अनुसार), अब नौ बजे हामी खाना खाएर सबैजना आफ्नो कार्यालयतिर लागे, तब विजुली दिए।
विजुली मनपरी (पन्ध्र/पन्ध्र, बीसस/बीस मिनेटको अन्तरालमा समेत) निभाउने र बाल्ने गरिरहने गरेका कारण कतिले कति आर्थिक र मानसिक क्षति व्यहोर्नुपरेको छ, त्यो कुरा यस संस्था बुझ्न चाहदैन, काननूनको अभावमा।
यस संस्थाको व्यवस्थापन पक्षमा अलिकती पनि व्यावशायिक इमान्दारी छ भने, पंचायत कालको राम्रो पक्षको अनुसरण गरोस, र मानिसहरु सुत्ने बेला (रातभरि) र सूर्यले उज्यालो दिने बेला (दिनभरि) बत्ति निभाएर पंचायत कालमा झैं विहान र बेलुकि (मानिसहरुलाई विजुली सबैभन्दा बढी चाहिने बेला) विजुली देओस। त्यति पनि गर्ने क्षमता छैन भने, कम्तिमा आफूले बनाएको भार सम्प्रेषण त;तालिकामा अडिग रहोस। हामी त्यसैमा बानी पर्दैछौं।
सर्वोच्चले पनि विवेक पुर्याउनुपर्ने हो कि!
यो देशको वातावरणमा अति-राजनीतिकरण भएको छ। हुँदा हुँदा न्यायाधिशहरु समेत राजनीतिबाट अछुता रहन नसकेको भन्ने अभिव्यक्तिहरु आउनथालेका छन।
झन् यो देशका प्रतिपक्षी हुन नसकेका विपक्षी राजनीतिक दलहरुको त कुरै भएन। उनीहरु त बहालवाला सरकारलाई कुनै पनि हिसाबले काम गर्न नदिने पक्षमा देखिन्छन। कसैले पनि अनुमान गर्नसक्छ, सरकारले एउटा नियुक्ति समेत गर्न नपाउने, रिक्त पदमा नियुक्ति गर्दा विरोधीले विभिन्न निहुमा मुद्दा हालिहाल्ने, अनि सर्वोच्चले तुरुन्तै 'तत्काल कार्यान्वयन नगर्नु, नगराउनु' भनेर आदेश दिइहाल्ने।
दिगम्बर झाको नियुक्तिको कुरा गरौँ- उहाँ त अनुभवी काम गर्दैआएको मानिस जस्तो लाग्छ। त्यस्तै भर्खरै प्रहरी नायब उपरीक्षक (डीआईजी) मा बढुवा भएका पाँचजना अधिकृतहरू सर्वोच्चको अन्तरिम आदेशसँगै सरकारको निर्णय स्थगनमा परेपछि हाजिर मात्र गरेर खान विवस छन। महानिरीक्षक कुवेर सिं राना दुई वर्षअघि डीआईजीबाट एआईजीमा नियुक्त हुँदा पनि यस्तै रिट र अन्तरिम आदेशको शृंखला चलेको थियो । पशुपतिको पुजारी नियुक्तिमा समेत राजनीतिक अभिष्ट साध्न चाहनेहरुकै जित भएको देखियो।
यसरी, व्यक्तिगत लोकप्रियताकै लागि पनि कसैले मुद्दा हालिराख्ने र सर्वोच्चले स्थगन आदेश जारी गरिराख्ने हो भने कसरी काम अघि बढ्छ? यसलाई सर्वोच्चले मानहानीको विषय नबनाएर एउटा सल्लाहका रूपमा मात्र लेओस र सरकारलाई पनि काम गर्ने वातावरण बनाइदेओस भन्ने मात्र मेरो मनसाय हो।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन स्वास्थ्य लाभपछि घर फिर्ता
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन स्वास्थ्य लाभ भएपछि घर फर्किनुभएको छ। उहाँको दिमाग र खोपडीको बीचमा रगत जमेको देखिएपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो।
विदेशमन्त्री क्लिन्टनको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भैरहेको र उहाँको स्वास्थ्यमा छिटै पूर्ण सुधार हुने अपेक्षा आफूहरुले गरेको कुरा बताएको जानकारी विदेश मन्त्रालयले जनाएको छ।
पैसट्ठी वर्षीया क्लिन्टन राष्ट्रपति ओबामाले औपचारिक रुपमा दोश्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि विदेशमन्त्री पदबाट मुक्त हुँदैहुनुहुन्छ। तस्विर सौजन्य: बिबिसी
राष्ट्रव्यापी वेबसाइट निर्माण प्रतिस्पर्धा शुरु: सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार- मन्त्री शाक्य
देशका विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा सूचना तथा प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले 'राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा' शुरु भएको छ।
कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) र शस्त्र क्रियसन्सको संयुक्त आयोजनामा पहिलो पटक यस प्रकारको राष्ट्रव्यापीरु वेबसाइट निर्माण प्रतिस्पर्धा शुरु भएको कुरा विज्ञान, प्रविधि तथा वातावरणमन्त्री डा केशवमान शाक्यले बताउनुभयो। सो प्रतिस्पर्धाको बुधबार उद्घाटन गर्दै मन्त्री शाक्यले सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको कुरा बताउनुभयो ।
कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) र शस्त्र क्रियसन्सको संयुक्त आयोजनामा पहिलो पटक यस प्रकारको राष्ट्रव्यापीरु वेबसाइट निर्माण प्रतिस्पर्धा शुरु भएको कुरा विज्ञान, प्रविधि तथा वातावरणमन्त्री डा केशवमान शाक्यले बताउनुभयो। सो प्रतिस्पर्धाको बुधबार उद्घाटन गर्दै मन्त्री शाक्यले सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको कुरा बताउनुभयो ।
सचिव केशव भट्टराईले सूचना प्रविधिका क्षेत्रमा सिर्जनात्मक कार्य गर्ने युवालाई देशमै रोजागारीका अवसर सिर्जना गर्न राज्य र निजी क्षेत्र मिलेर अघि बढ्नसकिने विचार व्यक्त गर्नुभयो ।
क्यानका अध्यक्ष विनोद ढकाल र सस्त्र क्रियसन्सका प्रमुख कार्यकारी अधिकृत आशिषजङ्ग रायमाझीले पहिलो पटक हुनलागेको सो प्रतिस्पर्धाले देशको सूचना प्रविधितर्फ युवाको आकर्षण बढाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो ।
सो प्रतिस्पर्धाका संयोजक विमलकुमार शर्माले सूचना प्रविधिको विकासबाटै देशको विकासका ढोका खोल्नसकिने भएकाले राज्यले थप महत्वका साथ कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
सो प्रतिस्पर्धामा भाग लिनचाहने विद्यार्थीले ५०० रुपियाँ शुल्क तिरेर आगामी माघ २० गतेसम्म नाम दर्ता गराउन सक्नेछन्। उनीहरुले निर्माण गरेका वेबसाइटमध्ये उत्कृष्टताका आधारमा पहिलो हुनेलाई ५० हजार रुपियाँ, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने र त्यस अवधिमा उत्कृष्ट सिर्जना प्रस्तुत गर्नेलाई १५ हजार रुपियाँ छुट्टै प्रदान गरिने जानकारी आयोजकले दिएका छन । -रासस
Subscribe to:
Posts (Atom)